सहमतिपछि साम्य हुँदै तनाव

  प्रकाशित मिति
१२ कार्तिक २०७४, आईतवार ११:१०


naresh patni anita
स्व. नरेश थापाकी पत्नी अनिता र उनकी आमा ।

विर्तामोड । अर्जुनधाराका एघार वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्या र शुक्रवारे गोलीकाण्डको निष्पक्ष एवम् सुक्ष्म छानविन सुरु गर्ने लगायतका आठ बुँदामा शनिवार दिउँसो सर्वपक्षीय सहमति भएपछि पीडित पक्षले आन्दोलन फिर्ता लिन सहमति जनाएको छ ।

मृतकका परिवार, आन्दोलनरत समितिका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय प्रशासनविच इलाका प्रहरी कार्यालय विर्तामोडमा शनिवार दिउँसो भएको बैठकमा बालक हत्या, गोलीकाण्ड र आन्दोलनका विषयमा विस्तृत छलफलसहित निष्कर्षको रुपमा ८ बुँदे सहमति भएको हो ।

सहमति पश्चात विर्तामोडको तनाव साम्य हुने भएको छ । शनिवार साँझ एउटा समूहले शनिश्चरे रोडमा केही टायर बालेर सहमतिका विरुद्ध गतिविधि गरे पनि सर्वपक्षीय सहमतिलाई सबैले सकारात्मक रुपमा लिएका छन् ।

naresh thapa

आठ बुँदे सर्वपक्षीय, सहमति आन्दोलन फिर्ता लिइने, सिलवाललाई कार्वाही सिफारिस, पीडितलाई न्यायसँगै राहत दिलाइने, दोषीको सुक्ष्म छानिवन सुरु गरिने

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकमा स्व.लक्ष्मण शिवाकोटीका काका विष्णु शिवाकोटी, मामा हेम पौडेल, सङ्घर्ष समितिका संयोजक सीता पाण्डे, विर्तामोडका मेयर ध्रुव शिवाकोटी, अर्जुनधाराका मेयर हरि राना, नेकपा एमालेका प्रतिनिधि एकराज कार्की, नेपाली काङ्ग्रेसका प्रतिनिधि दिपक तामाङ, नेकपा माओबादी केन्द्रका प्रतिनिधि सीपी कडरिया लगायतको उपस्थिति थियो ।

बैठकमा भएको आठ बुँदे सहमतिमा सङ्घर्ष समितिका संयोजक सीता पाण्डे लगायत सबैले हस्ताक्षर गरेका छन् ।
आन्दोलनरत समिति र पीडितका परिवारले राख्दै आएका सम्पूर्ण माग सहमतिमा सम्बोधन गरिएको छ ।

सहमति लगत्तै प्रशासनले विर्तामोडको कफ्र्यु हटाउने अपेक्षा गरिए पनि शनिवार रातिसम्म कफ्र्यु जारी छ । शनिवार दिनभर कफ्र्युका कारण विर्तामोड क्षेत्र सुनसान भएको थियो ।

त्यस्तै, आन्दोलनरत सङ्घर्ष समितिले आठ बुँदे सहमतिपछि शनिवार आन्दोलन फिर्ताको विज्ञप्ति प्रकाशित गर्ने अपेक्षा गरिए पनि समितिबाट त्यस्तो विज्ञप्ति निकालिएको छैन ।

dsp 5सहमतिको पहिलो बुँदामा आन्दोलनकारीको माग बमोजिम इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख एवम् विवादास्पद डीएसपी राजकुमार सिलवाललाई प्रहरी नियमावली बमोजिम कार्वाहीका लागि सिफारिस गर्ने उल्लेख छ ।

दोस्रो बुँदामा मृत फेला परेका ११ वर्षीय लक्ष्मण शिवाकोटीको विषयमा दोषीलाई कार्वाही गर्न अनुसन्धानलाई सुक्ष्म रुपमा सुरु गर्ने र अनुसन्धान गर्दा सङ्घर्ष समितिका संयोजक सीता पाण्डे, सदस्य ध्रुवप्रसाद शिवाकोटी, मृतकका काका विष्णु शिवाकोटी र मामा हेम पौडेलको सहयोग लिने सहमति भएको छ ।

तेस्रो बुँदामा असोज १४ गते (लक्ष्मणको हत्या) र कात्तिक १० गते (नरेश थापाको मृत्यु) भएको घटनाको दोषीलाई छानविन गरी कानून बमोजिम कार्वाहीका लागि गृह मन्त्रालयबाट गठित छानविन समितिलाई सबै पक्षले सहयोग पुर्याउने सहमति भएको छ ।

चौथो बुँदामा शुक्रवार प्रहरीको गोली लागी मृत्यु भएका नरेश थापाको परिवारलाई विर्तामोड नगरपालिकाबाट २५ हजार, जिल्ला समन्वय समितिबाट २५ हजार र विर्तामोड उद्योग वाणिज्य सङ्घबाट १० हजार गरी ६० हजार रुपैयाँ तत्कालीन राहतको रुपमा उपलब्ध गराउने र नेपाल सरकारबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति गरिएको छ ।

सोही बुँदामा मृतक थापाको श्रीमतीलाई सम्बन्धित नगरपालिकाबाट आवश्यक रोजगारीको व्यवस्था मिलाउने समेत भनिएको छ ।
पाँचौँ बुँदामा शुक्रवारको घटनामा घाइते भएका सबैलाई नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउने सहमति भएको छ ।

छैठौँ बुँदामा पूर्व सांसद प्रेम बहादुर गिरीको मोटरसाइकल, विर्तामोडका मेयर ध्रुव शिवाकोटीको निवास, निजी गाडी र बुलेट मोटरसाइकल, मनमोहन अस्पताल, यान्त्रिक कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सवारी साधन लगायत भौतिक सम्पत्ति, राजकुमार थापाको गाडी लगायत सार्वजनिक तथा निजी सम्पत्तिको क्षति यकिन गरी क्षतिपूर्तिका लागि सिफारिस गर्ने सहमति भएको छ ।

सातौँ बुँदामा लक्ष्मण शिवाकोटीको हत्या विषयलाई लिएर भइरहेको विरोधका कार्यक्रम स्थगित गर्ने र विर्तामोडको अवस्थालाई सामान्यिकरण गर्न राजनीतिक दल, जनप्रतिनिधि, सङ्घ संस्थाहरु, सञ्चारकर्मी, व्यवसायी र नागरिक समाजमा अपिल गर्ने सहमति भएको छ ।

मृतक लक्ष्मण शिवाकोटी र नरेश थापाप्रति श्रद्धाञ्जलि र घाइतेहरुको स्वास्थ्य लाभको कामना आँठौ बुँदामा गरिएको छ ।

घाइते नेपालीको अवस्था गम्भीर
झापा । शुक्रवार विर्तामोडको गोलीकाण्डमा घाइते भएका इलाम दानावारीका ३५ वर्षीय मणि नेपालीको अवस्था गम्भीर छ ।
अर्जुनधाराका नरेश थापामगर र दानावारीका मणि नेपालीलाई एउटै समय र स्थलमा प्रहरीको गोली लागेको थियो ।

नरेशको उपचारकै क्रममा भद्रपुरस्थित मेची अञ्चल अस्प्तालमा मृत्यु भएको थियो भने मणिलाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएका कारण उनलाई थप उपचारका लागि काठमाडौँ लगिने भएको छ ।
स्रोतका अनुसार पाखुरा छेडेर कोखामा गोली लागेका मणिको अवस्था निकै सम्बेदनशील रहेको छ ।

राजगढ–८ का १८ वर्षीय सुनिल पाण्डे, अर्जुनधारा–६ का ३५ वर्षीय पूर्ण लुइँटेल, मेचीनगर–९ का ३० वर्षीय अशोक बस्नेत र दुर्गापुर–५ का २२ वर्षीय नवराज कोइराला घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी छ ।

पोस्टमार्टम अझै भएन
भद्रपुर । शुक्रवार प्रहरीको गोली लागी मृत्यु भएका अर्जुनधाराका नरेश थापा मगरको शबको पोष्टमार्टम जाँच परिवारसँग सहमति भएमा आइतवार हुने भएको छ ।

परिवारसँग सहमति हुन नसक्दा उनको शब पोष्टमार्टम हुन बाँकी छ । हाल शबलाई मेची अञ्चल अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ ।
शब सुरक्षित राख्ने व्यवस्था त्यति राम्रो नभएको कारण लामो समय त्यस भवनमा राख्दा शब सड्ने सम्भावना हुन्छ ।

जिल्ला प्रहरी कार्यालयले परिवारसँग सहमति भएमा आइतवार पोष्टमार्टम जाँच हुने जनाएको छ ।
मृतक नरेशकी आमाले छोराको शब पोष्टमार्टम गर्दा शरीर नचिरिदिन आग्रह गरेको स्रोतको भनाई छ ।
(लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: