सहमतिबाटै सभापति छान्ने कसरत

  प्रकाशित मिति
२२ माघ २०७२, शुक्रबार ०४:४६


biswa 1
झापा, २२ माघ । नेपाली काङ्ग्रेस झापाको सभापति लगायतका महत्वपूर्ण पदमा सर्वसम्मत निर्वाचन गर्नका लागि पहल भइरहेको छ ।
आसन्न जिल्ला अधिवेशनमा सभापतिका लागि पार्टीका सभापति उद्धव थापा र उपसभापति देउमान थेबेले उम्मेदवारी घोषणा गरिसके पनि उनीहरूलाई सहमतिमा ल्याएर सर्वसम्मत नेतृत्व चयन गर्न पहल भइरहेको स्रोतले जनाएको छ ।

पहलकर्ताहरूले सहमति कुन उम्मेदवारका लागि केका आधारमा गरिरहेका छन् भन्ने हालसम्म बाहिर केही पनि सार्वजनिक गरेका छैनन् । तर उनीहरूले भित्रभित्रै विभिन्न चरणमा सहमतिको प्रयासलाई तीब्र रुपमा अघि बढाइरहेको बताइएको छ ।

सहमतिका लागि प्रमुख सहजकर्ताका रुपमा पार्टीका युवा नेता विश्वप्रकाश शर्मा अगाडि बढेका छन् । उनले आफ्नो गृहनगर मेचीनगरमा सभापति लगायतका अधिकांश पदमा सर्वसम्मत निर्वाचन सम्पन्न गरेर अब क्षेत्र हुँदै जिल्लामा सहमति गराउने अभियान चलाएका हुन् ।
पार्टीको १३ औँ महाधिवेशन अन्तर्गत चुनावको सुरुवातमै शर्माले सहमतिको नारा लगाउँदै यस अभियानमा आफ्ना अग्रज तथा साथीहरूलाई सहमत गराउँदै आएका छन् ।

‘पार्टीलाई एकताबद्ध र बलियो बनाउन सहमतिबाट नेतृत्व छान्नु पर्छ भन्ने हाम्रो सोच हो’–युवा नेता शर्माले लोकतन्त्र पोस्टसँग भने ।
उनले आम कार्यकर्ता सहमति बनोस् भन्ने आशामा रहेको उल्लेख गर्दै नेतृत्व तहमा रहेका सबैले प्रयास गरेमा सहमतिमै जिल्ला नेतृत्व चुनिने बताए । उनको भनाई छ–‘केही दिन पर्खिनोस्, सहमतिको सुखद् खबर तपाईहरू सबैले सुन्नु हुनेछ ।’

सहमतिको अर्का सूत्राधार पार्टीका पूर्व सभापति तथा क्षेत्र नं. २ का सांसद सुधिरकुमार शिवाकोटी हुन् । पार्टीको चुनावी सन्दर्भमा काठमाडौँबाट झापा आएका दिनदेखि नै सांसद् शिवाकोटीले कार्यकर्तालाई विभाजित गरेर चुनावमा होमिनु भन्दा सहमतिबाट नेतृत्व छान्नु पार्टी सङ्गठनको हितमा हुने धारणा राख्दै आएका छन् ।

विहीवार विर्तामोडमा सभापति पदमा उद्धव थापाको उम्मेद्वारी घोषणा हुँदै गर्दा समेत शिवाकोटीले सहमतिको पक्षमा आफ्नो मन्तव्यको अधिकांश समय खर्चिएका थिए ।

‘हारजितको खेलमा लाग्दा हित हुँदैन’, सहमतिको पक्षमा आफ्नो अभिमत व्यक्त गर्दै सांसद शिवाकोटीले भने–‘जिल्ला कार्य समिति सहमतिमा गठन गर्ने प्रयास जारी छ ।’

पार्टीका केन्द्रीय सदस्य नरेन्द्रविव्रmम नेम्वाङ पनि सहमतिबाट जिल्ला सभापति लगायतका पदहरूको छिनोफानो गर्नु पर्ने अडानमा रहेको बुझिएको छ । पूर्व मन्त्री नेम्वाङ पार्टीको जिल्ला राजनीतिमा निकै प्रभावशाली मानिन्छन् ।

सहमतिमा सभापति चुन्नका लागि कार्यकर्ताको दवाव बढिरहेको अनुभूति दुबै उम्मेदवारले गरेका छन् । तर दुबैले आफ्नै पक्षमा सहमति बनोस् भन्ने चाहना राखेका छन् । सहमति भएन भने चुनावमा जानु पर्ने भएकाले दुबै उम्मेदवार कार्यकर्ताको लविङमा लागिसकेका छन् ।
हालै सम्पन्न गाउँ तथा नगर अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय तथा जिल्ला अधिवेशनका प्रतिनिधिको सङ्ख्यामा थेबेलाई भन्दा थापालाई समर्थन जनाउनेहरू धेरै रहेको आम विश्लेषण छ । यसो हुँदा बलियाकै पक्षमा सहमति हुने हो कि भन्ने अनुमानलाई नकार्न सकिदैन ।

विगतको धेरै चुनावमा ‘पदको मोह नराखी साथीहरूलाई सघाउँदै आएको’ कारण देखाउँदै यसपाली उपसभापति थेबेलाई सभापति पदमा सर्वसम्मत निर्वाचित गरिनु पर्ने थेबे पक्षधरहरूको जिकीर छ ।

थेबेको पक्षमा बलियो रुपमा उभिएका प्रभावशाली केन्द्रीय सदस्य एवम् सांसद केशवकुमार बुढाथोकीले आफ्नो गृह क्षेत्र कुमरखोदमा पार्टीका सबै ४५ वटै पदमा सर्वसम्मत निर्वाचन गराउन सक्ने खुवी भएका उपसभापति थेबेलाई सभापति पदमा पुर्याउन सके आगामी दिनमा पार्टी बलियो हुने बताउँदै आएका छन् । उनले सहमति हुने हो भने थेबेकै पक्षमा हुनु पर्ने अडान राख्दै आएका छन् ।
सभापतिको पहिलो उम्मेद्वारी घोषणा गरेका थेबेले आफ्ना निकटका नेताहरूसँग यसपटक थापालाई पद छाडिदिनका लागि मनाइदिन अनुरोध गर्दै आएको स्रोतको भनाई छ ।

थेबेले विश्वप्रकाश शर्मा र नरेन्द्रविव्रmम नेम्वाङलाई समेत आफ्ना पक्षमा सहमतिको वातावरण बनाइदिन आग्रह गरिरहेको बुझिएको छ । तर सहमतिको सूत्राधार बनिरहेका दुबै नेता अहिलेसम्म कुनै पनि उम्मेद्वारको पक्षमा लहसिएका छैनन् ।

सांसद सुधिर शिवाकोटी सहमति थापाकै पक्षमा हुनुपर्ने अडान राख्छन् भने अर्का सांसद केशवकुमार बुढाथोकी थेबेको पक्षमा सहमति बन्नु पर्ने अडानबाट पछि हटेका छैनन् । तर कतै पनि नखुलेका विश्वप्रकाश शर्मा र नरेन्द्रविव्रmम नेम्वाङको भूमिका कसरी अघि बढ्छ, त्यसैमा सहमतिको पात्र निर्भर रहने सम्भावना बढ्दै गएको विश्लेषकहरू बताउँछन् ।

माघ १९ गते थेबेले विर्तामोडस्थित गोपालकुमार बस्नेतको निवासमा सभापति पदको उम्मेद्वारी घोषणा गर्दै गर्दा कार्यव्रmममा शर्मा र नेम्वाङको अनुपस्थिति आश्चर्यजनक बनेको थियो । दुबै नेता कार्यव्रmममा आउने आयोजक र सहभागीको अपेक्षा थियो । तर दुबै आएनन् ।
शर्मा र नेम्वाङ पार्टीको १२ औँ महाधिवेशनमा देउवा क्याम्पमा उभिएका थिए । शर्मा त्यसबेला सभापति पदका लागि थापासँगै प्रतिष्पर्धा गरिरहेका थिए ।

दुबै नेता विहीवार विर्तामोडस्थित जिल्ला पार्टी मुख्यालयमा थापा पक्षले आयोजना गरेको उम्मेद्वारी घोषणा कार्यव्रmममा समेत अनुपस्थित रहे । थेबेको कार्यव्रmममा नआएका उनीहरू थापाको क्याम्पका बसाइ सरेका हुन् कि भन्ने केही आशङ्का समेत विहीवार थापाको कार्यव्रmममा अनुपस्थित भएपछि मेटिएको छ ।

जिल्लाको काङ्ग्रेस राजनीतिमा प्रभाव स्थापित गर्न सफल युवा नेता शर्मा खासमा थेबेप्रति सहानुभूति राख्छन् भन्ने आम बुझाई छ । तर पछिल्लो समय उनी थापालाई थेबेले सहमतिमा सभापति पद छाडिदिनु पर्ने सोचमा रहेको हुन सक्ने विश्लेषकहरूको अनुमान छ ।
‘सहमतिको खिचडी भित्रभित्रै गर्मागर्मीका साथ पाकिरहेको छ’, सहमति अभियानलाई नजिकबाट नियालिरहेका काङ्ग्रेसका एक जिम्मेवार नेता भन्छन्–‘सहमति पक्का जस्तै छ, तर कसको भागमा पर्ने हो त्यो थाहा पाउन केही दिन कुर्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: