सहयोद्धाहरु सत्तामा, जिउँदा सहिद पानी चुहिने झुपडीमा

  प्रकाशित मिति
२१ फाल्गुन २०७६, बुधबार ११:१४


 

अम्बिका भण्डारी
भद्रपुर, २१ फागुन (रासस) ः मेचीनगरको धुलाबारीस्थित टिमाई खोलाको किनारमा झापा विद्रोहका जिउँदा सहिद सानो दुर्गा अधिकारीको सानो झुपडी छ । पञ्चायतविरुद्धको आन्दोलनमा १७ वर्ष लगातार जेल जीवन बिताउनु भएका उहाँ झुपडीको साँघुरो दुई कोठामध्ये एउटामा पत्नी रत्नासँगै बस्नुहुन्छ भने अर्कोमा साँझविहान चुल्हो बाल्ने गरिएको छ । पत्नी रत्ना थाइराइड, डाइभिटिज र मानसिक रोगको विरामी हुनुहुन्छ । पैसा नभएर नियमित औषधि खान पनि नसकिरहेको दयनीय अवस्था छ ।

त्यो झुप्रो तत्कालीन नेकपा एमालेका कार्यकर्ताको सहयोगमा २७ बर्ष अघि बनाइएको पार्टीका नेता हरिचरण बानियाँले बताए । ‘सानो उमेरमै आन्दोलनमा लागेर लामो अवधि जेल पर्नुभयो, जेलबाट निस्कदा जाने ठाउँसम्म थिएन,’ पार्टीका पुराना नेता बानियाँ भन्छन्–‘पार्टीका साथीहरुबाट जोरजाम गरिएको सहयोगले टिमाइ किनारमा ऐलानी जग्गा खोजेर एउटा घर बनाइदियौं, अहिलेसम्म उहाँ त्यहीँ बस्दै आउनुभएको छ ।’

पुरानो भइसकेको त्यो झुपडीमा खियाले खुइलिएको टिनको छानोबाट दर्के पानी चुहिन्छ । सिमेन्ट नमुछी उभ्याइएको इँटाको भित्तो अढेस लाग्दा भत्केला भन्ने डर छ । मूल ढोकामा चुकुल छैन । झ्याललाई प्लास्टिकले बेरिएको छ । जेलमा सँगै बसेका सहयोद्धा केपी ओली दुईपटकसम्म प्रधानमन्त्री बनिसके भने राधाकृष्ण मैनाली, सीपी मैनालीहरु मन्त्री भइसके । नरेश खरेल, मनकुमार गौतम, घनेन्द्र बस्नेतहरु सांसद् बनिसके । तर जेलबाट छुटेपछि पानी नचुहिने घरसम्म बनाउन सकेका छैनन् सानो दुर्गा अधिकारीले । पार्टीका शुभेच्छुकहरुको सहयोगमा हालसम्म दुःखले गुजारा चलाउँदै आएका उनले विहान–बेलुका हातमुख जोर्ने भरपर्दो स्रोतको व्यवस्था गर्नसमेत सकेका छैनन् ।

झापा विद्रोहमा लागेर दशबर्षभन्दा बढी जेलमा पर्नुभएको दश जना नेतामध्येमा एक हुन् । उनीसँगै जेलमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती शासकले झापाबाट इलामको जेल सार्ने निहुँमा वि.सं.२०२९ साल फागुन २१ गते सुखानीमा सामूहिक हत्या गरेको थियो ।

‘सोह्र सत्र वर्षको केटो थिएँ, राजनीतिक सिद्धान्तका कुराभन्दा पनि जमिन्दारहरुको शोषण र ज्यादतिविरुद्ध हतियार उठाउनपर्छ भन्ने कुराले प्रभावित भएर म पूर्णकालीन कार्यकर्ता भएर झापा विद्रोहमा लागेको थिएँ,’ उनी विद्रोहमा लाग्दाको पुरानो घटना सम्झँदै भन्छन्–‘वान युनिट वान एक्सन भन्दै वर्गशत्रु सफाया अभियान चलेलगत्तै पञ्चायती सरकारले घरघरमा छापा मार्दै धरपकड सुरु गर्दा मलाई झापा र इलामको सीमानामा पर्ने बुधवारेको भोटेटारमा रामनारायण प्रधानसँगै गिरफ्तार गरेको थियो ।’

घरमा सुतिरहेको बेला राति नै पञ्चायतका जासुसहरुले पुलिस र भिजिलान्ते जत्था बोलाएर घेराउ गरी भालाले घोचेर मरणासन्न अवस्थामा आफु गिरफ्तार भएको उनी बताउँछन् । भालाले घोचेर रक्ताम्य अवस्थामा उनीसँगै गिरफ्तार भएका अर्का क्रान्तिकारी योद्धा प्रधानको प्रहरीले घिस्याएर लैजाँदालैजाँदै बाटामा मृत्यु भएको थियो । उनी भन्छन्–‘सँगै सुतेका साथीलाई घोचेरै मारेको देखें, देश र जनताको मुक्तिका लागि संघर्षमा होमिएका हामीलाई मर्न पनि डर थिएन ।’

प्रधानमन्त्री केपी ओलीलगायतका तत्कालीन नेताहरुसँग चन्द्रगढी, नख्खु र केन्द्रीय कारागारमा गरी १७ वर्ष कठोर कारावास भागेका उनी ६ वर्षसम्म नेल र हतकडीसहित गोलघरमा बसेपछि २०४६ सालमा रिहा भएका हुन् । जेलबाट बाहिर निस्कदा उनको जाने घर र खान दिने आफन्तको टुङ्गो थिएन । जमिनदारको अत्याचारविरुद्ध बोल्दा उनकी दिदीको समेत हत्या भएको थियो ।
जेलमुक्त भएपछि पार्टीका तत्कालीन साथीहरु रविन कोइराला, भीम खवास, हरिचरण बानियाँ, तेजराज खतिवडालगायतले सानो झुपडी बनाएर टिमाईको किनारमा बाँस बस्ने व्यवस्था मिलाइदिएको योद्धा अधिकारी बताउँछन् ।

इलामको शान्तिपुर (हाल रोङ गाउँपालिका)मा गरिव परिवारमा जन्मिएका अधिकारीको वाल्यकाल भने झापाको बुधबारेको होक्सेमा बित्यो । सत्र वर्षमै पार्टीको पूर्णकालीन कार्यकर्ता भएर घर त्यागेका उनको जीवनको उर्वर युवा समय जेलमा बित्यो । पढ्न लेख्न पनि पाएनन् । राजनीतिक योगदान अतुलनीय हँुदाहुँदै पनि शैक्षिक योग्यता नभएका कारण उनले पार्टीमा कुनै जिम्मेवारी र रोजगारीको अवसर पाएका छैनन।

पार्टीले केही गरेन भनेर उनले गुनासो गर्न छाडिसकेको बताउँछन् । ‘अवस्था सबैले देखेका छन्, धेरैपटक केही गरौला भनेर आश्वासन मात्रै बाँड्छन्,’ उनी भन्छन्–‘जीवनभर पार्टीका लागि दिलोज्यानले लागेँ, अबको बुढेसकालमा कमसेकम् बास बस्ने झुप्रो पानी नचुहिनेसम्मको होस् भनेर सत्तामा पुगेका साथीहरुले सोचिदिए हुन्थ्यो भन्ने चाहना छ ।’

उनको सबैभन्दा ठूलो पीर अहिले आफु बसेको झुपडीको जग्गाको छ । वि.सं. २०५२ सालमा गठन भएको सुकुम्वासी समस्या समाधान आयोगले उनी बसेको झुपडीमा १९ धुर जग्गा कायम गर्योे । सो जग्गा हालको मेचीनगर–१० मा पर्दछ । वि.सं. २०६७ सालमा प्रेम दाहालको अध्यक्षतामा गठित आयोगले १९ धुर जग्गाको ८४९ नं. कित्ता कायम गर्दै जग्गा दर्ता प्रमाणपत्र उनलाई दियो । तर सो जग्गा अतिक्रमणमा परेर हाल ५ धुरमा सीमित भएको अधिकारी बताउँछन् । साविकको १९ धुर जग्गा कायम गराइदिन उनी अहिले विभिन्न नेता तथा निकायमा हारगुहार गरिरहेका छन् ।
प्रदेश सांसद् गोपाल बुढाथोकीले अतिक्रमणमा परेको उनको जग्गा दिलाइदिन र त्यसमा एउटा पक्की संरचना भएको घर बनाइदिन पहल भइरहेको बताउँछन् । मालपोत र नापी कार्यालयमा जग्गाको सर्पट नापीसहित पुरै १९ धुर जग्गाको धनीपूर्जा दिन निवेदन दिइएको र निर्णय आउन बाँकी रहेको सांसद् बुढाथोकीले जानकारी दिए ।

जेलबाट छुटेपछि ढिलो विवाह गरेका अधिकारीको एक मात्र छोरी रक्षा अधिकारी पार्टी र ससुरालीतिरको संयुक्त पहलमा अमेरिकामा नर्सिङ पढ्दै पढ्दैछिन् । छोरीले पढाइसँगै आंशिक जागिरबाट कमाएर पठाइदिएको रकमले विहान बेलुकाको छाक टार्न सहज हुन थालेको उनी बताउँछन् । ‘केही सानोतिनो काम माग्न जाँदा तपाई त्यत्रो जेल बसेको मान्छे कसरी काम लगाउनु भनेर पन्छिने गर्छन्’–रोजगारी पाउन समेत गाह्रो भएको उनी सुनाउँछन् ।

बस्न र खानको मात्र होइन, उनलाई आफ्नो र पत्नीको उपचारको पनि उत्तिकै चिन्ता छ । आफु दमको रोगी र श्रीमती मानसिक, डाइवेटिज र थाइराइडको बिमारी भएको उनी बताउँछन् । दुवैजना नियमित औषधि सेवन गर्छन् । विर्तामोडस्थित पूर्णटुङ्ग विर्तासिटी हस्पिटलले उनको स्वास्थ्योपचार र श्रीमतीलाई डाइभेटिजको औषधि निःशुःल्क दिदै आएको छ ।

घर बसाउन सहयोग पुर्याउनुभएको सहयोद्धा हरिचरण बानियाँले पार्टीले सहयोगमा कुनै कमी नगरे तापनि सरकारी स्तरबाट भने दीगो आवास र निर्वाहका लागि व्यवस्था गरिदिए उचित हुने बताउँछन् । घरेलु व्यवस्थापन कमजोर हुँदा आर्थिक स्थिति सुदृढ नबनेको बानियाँको धारणा छ ।

प्रदेश सांसद गोपाल बुढाथोकीले सानो ठूलो सहयोग निरन्तर भइरहे पनि स्थायी आयश्रोत केही नभएका कारण उनी आर्थिक सङ्कटमा फँसेको बताउँदै घर मर्मत सम्भारका लागि संघीय सांसद राम कार्की र आफूले दुई चार महिना अघि मात्र रु. ६५ हजार दिएको जानकारी दिए । सांसद बुढाथोकीले अधिकारीको जग्गा अतिक्रमणबाट मुक्त भएपछि पक्की घर बनाउन पहल गरिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: