सहरलाई प्लास्टिकको फोहोरमुक्त बनाउन एक्लै कस्सिए पूर्व लडाकु

  प्रकाशित मिति
४ मंसिर २०७६, बुधबार १५:१२


 अम्बिका भण्डारी
भद्रपुर, ४ मङ्सिर (रासस) ः आफु बसोबास गर्ने सहरमा प्लास्टिकको फोहोर बढेपछि झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ निवासी पूर्व माओबादी लडाकु गणेश ढुङ्गाना सरसफाईमा एक्लै कस्निुभएको छ । असल कार्यको सुरुवात एक व्यक्तिबाटै हुन्छ भनेझैं उहाँको दुई साताको प्रयासबाटै झापाको बुट्टाबारी बजार प्लास्टिकको फोहोरमुक्त भएको छ ।

झापाको सबैभन्दा ठूलो व्यापारिक सहर हो विर्तामोड । सहरको पूर्वी किनारामा छ बुट्टाबारी बजार । विर्तामोडको वडा नं. ६ र अर्जुनधाराको वडा नं. ११ को आधाआधा भाग समेटिएको १० हजारभन्दा बढी जनघनत्व भएको बुट्टाबारी बजारले आधुनिक सहरको स्वरुप लिएको छ । ढुङ्गाना यही बुट्टाबारीलाई सफा बनाउने सोचका साथ एक्लै सरसफाईमा होमिनुभएको छ ।

हरेक बिहान ६ बजे दुई वटा ठूलो बोरा काँधमा बोकेर ढुङ्गाना घरबाट निस्कनुहुन्छ र बुट्टाबारी बजारको ३ किलोमिटर वृत्त दुई घण्टा चहारेर प्लास्टिकका फोहोर संकलन गर्नुहुन्छ । एउटा बोरामा प्लास्टिकका बोतल, बट्टा र भाडाहरु संकलन गर्नुहुन्छ भने अर्को बोतलमा प्लास्टिकका झोला र टुक्राहरु बटुल्नुहुन्छ । उहाँले बिगत दुई सातायता सय बोरा प्लास्टिकका विभिन्न प्रकारका बोतल र बट्टाहरु बटुलेर आफ्नै घरको आँगनमा थुपार्नु भएको छ ।

एक्लै हरेक दिन प्लास्टिक खोज्दै आफ्नो घर र दोकान सामुन्ने फोहोर ढलमा हात घुसारेर प्लास्टिक बटुलेको देख्दा सुरुसुरुमा स्थानीयले उहाँलाई पागल भएको समेत ठाने । बजारमा तीन तला पक्की घर र चल्तीको पसल भएको खानलाउन मनग्य पुग्ने व्यक्ति यसरी फोहोर नालीहरुमा प्लास्टिक बटुल्दै हिँडेको देख्दा ढुङ्गानाका नातागोता र साथीसंगी समेत परिवारको बेइज्जत गरेको भन्दै झस्किए । उहाँलाई राँची लैजानु पर्ने सल्लाह समेत आउन थाल्यो ।

तर उहाँ हतोत्साही हुनुभएन । जतिसुकै अप्ठेरो अवस्थामा पनि अभियानमा दृढतापूर्वक लागिरहनुभयो । आफ्नो उद्देश्य र अभियानबारेमा विस्तारै सबैलाई बुझाएपछि अहिले सबै सहरबासी उहाँको प्रशंसक मात्र बनेका छैनन्, अभियानमा साथ दिन तयार भइसकेका छन् ।

परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भन्ने सोच बोकेर एक्लै सहर सफा बनाउन कस्सिनु भएको गणेश ढुङ्गानामा सानैदेखि क्रान्तिकारी भावना थियो । वि.सं. २०५९ साउन १९ गतेदेखि तत्कालीन नेकपा माओबादीको पूर्णकालीन कार्यकर्ता हुनुभएको उहाँ झापाको चुलाचुलीमा रहेको तत्कालीन जनमुक्ति सेना नेपालको प्रथम डिभिजनको एफ कम्पनीमा लडाकु हुनुहुन्थ्यो । त्यहाँ उहाँको नाम मौसम थियो । शान्ति प्रक्रिया अनुसार सेना समायोजन क्रममा आफुले पाउने सुविधा सबै शहिद परिवारको कोषमा जम्मा गरेर उहाँ रित्तो हात घर फर्किनुभएको थियो ।

पूर्वपश्चिम राजमार्गको छेउमै उहाँको घर छ । बसमा यात्रा गर्नेहरुले बमिट गरेको थैलो र पानी पिएको बोतल झ्यालबाट फुत्त फुत्त फालेको दृश्य हरेक दिन घर अगाडि देखेपछि उहाँमा बेचैनीको झड्का लागेको रहेछ । ‘त्यसपछि मैले आफ्नै घर अगाडिको नाली हेरें, त्यहाँ प्लास्टिकका बोतलले जाम भएको पाएँ,’ सरसफाई अभियन्ता ढुङ्गाना भन्नुहुन्छ, ‘बजार डुलेर हेरें, व्यापारी र घरधनीहरु प्रयोग भइसकेको प्लास्टिकको बोतल र बट्टालाई सडक र नालीतिर जथाभावी फ्याँकिदिदा रहेछन् ।’ सहरको यस्तो कुरुप दृश्य देखिसकेपछि उहाँमा ‘अब केही गर्नै पर्ने भयो’ भनेर एक्लै भए पनि सरसफाईमा लाग्ने जोश पैदा भएको थियो ।
माटोमुनि गाड्दा सयौं वर्षसम्म नकुहिने, डढाउँदा विषाक्त ग्याँस निस्कने र चुपचाप बस्दा सहरलाई नै फोहोरले ढाक्ने भएको हुँदा असल नागरिकको जिम्मेवारी बोध गरेर आफु अभियानमा होमिएको बताउँदै ढुङ्गाना भन्नुहुन्छ, ‘मेरो दुईवटा प्रष्ट उद्देश्य छ, एउटा सरसफाईका लागि जुट्न नगरवासीलाई ब्युँझाउने र अर्को भनेको प्लास्टिकलाई रिसाइकल गरेर उपयोगी सामग्री बनाउने उद्योग खोल्न प्रेरित गर्ने ।’ उहाँले अहिले संकलन भइसकेको सय बोरा प्लास्टिकका बोतल र बट्टा विक्री गरेर अनाथ बालवालिकाहरुलाई सहयोग पुर्याउने बताउनुभयो ।

विर्तामोड–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाले एउटा व्यक्तिको सोचले सिङ्गो समाजमा परिवर्तन ल्याउन सकिदोरहेछ भन्ने एउटा बलियो उदाहरण प्रस्तुत गर्न अभियन्ता गणेश ढुङ्गाना सफल हुनुभएको बताउनुहुन्छ । सफा नगर बनाउने ढुङ्गानाको अभियानमा साथ दिन आफु पनि तयार रहेको बताउँदै वडाध्यक्ष कन्दङ्वा भन्नुहुन्छ, ‘सँधै एउटा व्यक्तिले सफा गरिरहने र हजारौं नगरवासी फोहोर गरिरहने कुरा राम्रो भएन, अब सबैले सफा अभियानमा जुट्नुपर्छ भन्ने जागरण ल्याउन ढुङ्गानाजी सफल हुनुभयो ।’

विर्तामोड र अर्जुनधारा नगरपालिकाको हिस्साको रुपमा रहेको बुट्टाबारीमा ढुङ्गानाले पागलको आरोप खेपेर ल्याएको सरसफाई जागरणको सकारात्मक प्रभाव वरपरका सहरमा समेत फैलिन थालेको जुनकिरी सार्वजनिक आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार बताउनुहुन्छ । ‘दुर्गन्धित ढलको नाली र बाटोमा प्लास्टिकका फोहोर टिप्दै हिँड्नु सामान्य कुरा होइन,’ प्रअ परियार भन्नुहुन्छ, ‘उहाँको जस्तो सामाजिक सोच थोरैको मात्र हुन्छ, धेरैजसो मानिस आफ्नो घरभित्रको फोहोर सफा गर्न समेत नगरपालिका आइदिनुपर्छ भन्ने सोच्छन्, उहाँ पुरै सहरभरिको फोहोर आफै सफा गर्दै हिँड्नुहुन्छ ।’

अर्जुनधारा नगरपालिका वडा नं. ११ का वडासदस्य मोहनकुमार योगीले नगरपालिकाले ल्याउन नसकेको जागरण अभियन्ता गणेश ढुङ्गानाले बोरामा प्लास्टिक बटुलेर ल्याउनु भएको बताउनुहुन्छ । ‘फोहोरको मुख्य कारण नै प्लास्टिक बनिसक्यो, उहाँ अभियन्ता ढुङ्गानाको कामबाट आफुले प्रेरणा प्राप्त गरेको जनाउँदै भन्नुहुन्छ, ‘अब नगरको सबै भागमा सरसफाई अभियान चलाउने बारेमा नगरपालिकामा छलफल चलाइरहेका छौं ।’

सिंहदरवार गाउँगाउँमा आइपुगेको अवस्थामा एउटा नागरिकले हरेक दिन सहरभरि प्लास्टिकका बोतल बटुल्दै हिँड्नु पर्ने अवस्था आउनु बिडम्बना भएको धारणा व्यक्त गर्दै अर्जुनधारा मेलमिलाप समितिका सदस्य गङ्गा खरेल नगरपालिकाहरुले सरसफाई अभियानको अगुवाई गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘क्रान्तिकारी विचार मात्र होइन, व्यवहार समेत क्रान्तिकारी भएको व्यक्ति हो गणेश ढुङ्गाना । उहाँको अभियानलाई सम्मान गर्ने हो भने सबैले बोरा बोकेर निस्कनु पर्छ ।’
बुट्टाबारी बजार व्यवस्थापन समितिका सदस्य समेत रहेका गौतम हार्डवेयरका सञ्चालक विष्णु गौतम विर्तामोड र अर्जुनधारा नगरपालिका दुबैले सहर बजारको सरसफाईमा ध्यान नदिएको गुनासो सुनाउनुहुन्छ । चार वर्ष अघि स्थानीय व्यवसायीहरुले बुट्टाबारीमा फोहोर जम्मा गर्न सिमेन्टको रिङ राखेको तर त्यसबाट राम्रो नतिजा नआएको उहाँको भनाई छ । ‘गणेशजी जब बोरा बोकेर प्लास्टिक बटुल्न थाल्नुभयो, अनि मात्र नगरपालिकाले डस्टविन किनिदिने र फोहोर उठाउन ट्रयाक्टर पठाउने आश्वासन दिएको छ’, गौतम बताउनुहुन्छ ।

स्थानीय निकिता किराना पसलका सञ्चालक सुनिल जैनले नगरपालिकाको फोहोर बोक्ने गाडी नआउने भएकाले आफुले पसलको प्लास्टिकजन्य फोहोर थुपारेर राखिदिने गरेको र विहानै आएर गणेशजीले लैजाने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नगरपालिकाले फोहोर लिन गाडी पठाइदिए हुनेथियो, दिनैपिच्छे गणेशजी बोरा बोकेर आउनुहुँदा मलाई नै लाज भइसक्यो ।’

माओबादी लडाकुबाट फर्केर घर आएपछि अभियन्ता गणेश ढुङ्गानाले केही रचनात्मक र नौला कामहरु सम्पन्न गरिसक्नु भएको छ । पर्यटन प्रवर्धनका लागि उहाँले झापादेखि ताप्लेजुङको पाथिभरा देवीको मन्दिरसम्म पैदल यात्रा गर्नु भएको छ भने आफ्नै स्वर, सङ्गीत र शब्दमा भूकम्पले बासै उठायो र पाउँपाथिभरा उत्तरगङ्गा बोलका दुई गीति एल्बम प्रकाशित गरिसक्नु भएको छ । अर्जुनधारा–६ मा चन्दा मागेर दुर्गा मन्दिर निर्माण गर्नुभएको छ । अर्जुनधारा–६ मै रहेको अपांग वाल शिक्षा सरोकार केन्द्रमा आश्रित अशक्त र असहाय वालवालिकाका लागि भरणपोषणको सामग्री जुटाइरहनु भएको छ ।

गणेश ढुङ्गाना अहिले सरसफाई अभियानकै कारण सर्बत्र प्रशंसित हुनुहुन्छ । उहाँ सञ्चारमाध्यमहरुको नजरमा पनि परिसक्नुभएको छ । तर घरको मूली मान्छे एकाविहानै चोकबजारको नालीतिर बोरा बोकेर प्लास्टिक बटुल्दै गरेको खबर पहिलोपल्ट सुन्दा अभियन्ता ढुङ्गानाकी पत्नी सविता ढुङ्गानालाई पनि ‘पागल भए कि क्या हो’ भन्ने ठूलो डर लागेको रहेछ । यतिबेला पतिको सामाजिक कार्यलाई भरपुर हौसला दिदै आएको बताउँदै सविता भन्नुहुन्छ, ‘घरकै मान्छे मैले त अभियानलाई सुरुमा बुझ्न सकिन, समाजमा चेतना आउन त सजिलो कहाँ हुँदोरहेछ र !’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: