सहाराले बाँड्यो एक करोड

  प्रकाशित मिति
२३ असार २०७५, शनिबार १०:३६


कनकाई । सहारा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सङ्घसंस्थालाई एकैपटक एक करोड रुपैयाँ बढी बाँडेको छ । सहारा साकोसले संस्थागत सामाजिक उत्तरदायित्वमा रहेर ‘मेरो गाउँ, मेरो लगानी’ कार्यक्रम अन्तर्गत सङ्घ संस्थाहरुलाई नगद तथा जिन्सी सामाग्री सहयोग गरिएको सहारा साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए ।

सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य सङ्घको सभाकक्षमा शुक्रबार आयोजित कार्यक्रमका बीच सहारा साकोसले उक्त सहयोग रकम हस्तान्तरण गरेको थियो ।

संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको सभापतित्व तथा झापा क्षेत्र नंं ४ का सङ्घीय सांसद एलवी साँवा लिम्बुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा १० लाख मूल्य बराबरको राडार गन र बे्रथलाइजर मेसिन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई हस्तान्तरण गरिएको थियो ।

प्रमुख अतिथि सांसद साँवाले झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीलाई उक्त राडार गन र बे्रथलाइजर मेसिन हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, झापाका चारपाने, लक्ष्मीपुर, दुर्गापुर र सुरुङ्गा चौकलाई स्मार्ट शहर बनाउने अवधारणा अनुसार काम गर्न १८ लाख रुपैयाँ प्रदान गरिएको छ ।

सैनिक मोडको सामुदायिक भवनका लागि २ लाख, नेपाल रेडक्रस सोसाइटीलाई विपद व्यवस्थापन सहयोगका लागि सवारी साधन खरिद गर्न ५ लाख, बागेडाँगी कृषि सेवा केन्द्र स्थापनाका लागि १० लाख, दुधे खोला तटबन्धनमा भेटिबर विरुवाका लागि १० लाख, जामुनखाडीमा कोसेली घर निर्माणका लागि ५ लाख, सरकारी विद्यालयहरुमा सहारा अक्षयकोष स्थापनाका लागि १० लाख, सतासी मौरीपालन सहकारीलाई मौरी प्रशोधन केन्द्र स्थापना गर्न ५ लाख रुपैयाँ सहयोग गरिएको छ ।

यस्तै, चारपाने सामुदायिक भवन निर्माण सहयोगमा ५ लाख, सुरुङ्गा लाइन्स सामुदायिक भवन निर्माणमा ५ लाख, बिर्तामोड क्षेत्रमा सीसी क्यामेरा जडानका लागि ४ लाख, गरामनीको दृष्टिबिहीन विद्यालयलाई एक लाख, बिहीबारे, लक्ष्मीनारायण, सुरुङ्गा उद्योग वाणिज्य सङ्घ, शिवसदन सामुदायिक भवन र कुमरखोद सामुदायिक भवन निर्माणका लागि एक÷एक लाख, सहारा साकोसले प्रवर्धन गरेका महिला सहकारीहरुलाई ३ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।

शुक्रबार नै आयोजित कार्यक्रमका बीच नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि सहारा नेपाल साकोसले थप दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि साँवा र सहारा नेपाल साकोसका अध्यक्ष सञ्जेलले संयुक्त रुपमा हस्तान्तरण गरेको दुई लाखको चेक महासङ्घका तर्फबाट पत्रकार महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारी र महासङ्घ झापाका उपाध्यक्ष अध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि साँवा, प्रदेश सांसद हिरा थापा, काङ्ग्रेस नेता देउमान थेवे, पत्रकार चन्द्र भण्डारी, झापाका प्रहरी प्रमुख विष्णु केसी लगायतले सहारा नेपाल साकोसले सरकारले गर्न नसकेका काममा सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: