सहिद, भोटुसिंह र हामी

  प्रकाशित मिति
१६ माघ २०७२, शनिबार ०५:४८


sahid 3

लखन थापालाई नेपालको प्रथम सहिद भन्नेहरूले भोटुसिंह बस्नेतलाई चिन्छन् कि चिन्दैनन् ? कि राजा त्रिभुवनको दिल्ली प्रस्थानपछि निस्केको जुलुसमा सेनाको गोलीले मारिएका न्हुच्छेरत्न उदासलाई पनि विस्र्यौँ ?
……………..

काठमाडौँ सहर मस्त निद्रामा थियो । तर विष्णुमतिको किनार शोभाभगवती निदाएको थिएन । त्यहाँ नर शमशेर दुई जना पोडेहरूलाई रक्सीले मताएर राक्षसी मुद्रामा उभिएका थिए । रातको सायद १२ बजेको थियो । दुवै हात पछाडि फर्काएर बाँधिएका दुई जना मान्छे कडा पहरामा त्यहाँ ल्याइए । एक छिनमा ती दुई मान्छे बिच विवाद सुरु भयो । दुवै जना पहिला अर्कोलाई गोली हानेर पछाडिमात्र आफूलाई गोली हान्ने आग्रह गर्दै थिए नर शमशेरसँग ।

झन्डै चालीस वर्ष जतिको अर्धवैँसे यी व्यक्ति थिए दशरथ चन्द र २२ वर्ष जतिका तन्नेरी थिए गङ्गालाल श्रेष्ठ । जुद्धशमशेरको इसारामा गठित जाँचबुझ समिति र विशेष अदालतबाट ज्यान सजाय भई गोली ठोकेर मारिन ल्याइएका नेपाली सपुतहरू ! सामान्यतया लाग्छ–दशरथ चन्दले आफू गोली खान डराएर पहिला गङ्गालाललाई मार्न अनुनय गरिरहेथे । गङ्गालाललाई गोली ठोकी मार्दा नमार्दा आफू बँच्ने कुनै उपाय निस्की पो हाल्छ कि भन्ने लोभ थियो कि ! सोही कुरा गङ्गालालका सम्बन्धमा अनुमान गरिन्छ ।

तर, यो अनुमान सोह्रै आना गलत हो । दशरथले सोचे–‘पहिले आफूलाई गोली ठोके भने म लडूँला, भलभली रगत बग्ला, पीडाले म छटपाउँला, चिच्याउँला !’ मृत्युको यो विभत्स दृश्य देखेर २२ वर्षे केटो गङ्गालाल डराउला र राणासँग ज्यान बक्सिस माग्ला, माफीका लागि बिन्ती गर्ला । यस्तो हुन त दिनै हुँदैन । राणासँग माफ माग्नु —निहुरिनु त दिनै हुँदैन । गङ्गालाललाई पहिले मारेको जस्तोसुकै भयानक दृश्य देखेर पनि म आफू त डराउँदिन, माफ माग्दिनँ । त्यसैले गङ्गालाललाई पहिला गोली ठोक्ने । उता गङ्गालालको कथन थियो–‘दशरथको हत्याको दृश्य देखेर डराई राणासँग ज्यान बक्सिस माग्ने लाछी पानीमरुवा छुइनँ म । म यो प्रमाणित गरेर छोड्छु । अतः दशरथलाई पहिला मार्ने ।

यी दुई सपुतलाई सिध्याउन नर शमशेरले दुई जना पोडेहरूलाई रक्सी पियाएर ठिक पारेका थिए । इसारा पाएपछि एउटा पोडेले दशरथ चन्दको घुँडामा गोली हान्यो । लगत्तै तिघ्रामा अर्को गोली ठोक्यो । चन्द मर्मान्तक पीडाले चिच्याए, लडे र छटपटाए । गङ्गालाललाई असह्य भयो र गर्जेर भने–‘सक्छस् भने तेरा बाउलाई छातीमा हान् ।’ पाता कसेर मारिन लागेको कैदीको त्यस्तो हाँक सुनेर नर शमशेर रन्थनिए र पेस्तोल निकालेर आफैंले गङ्गालालको घुँडामा ताकेर हाने । उता पोडेले चन्दको कोखामा तेस्रो गोली प्रहार ग¥यो । यसपछि नर शमशेरले गङ्गालालमाथि अर्को गोली ठोके । अनि पोडेको चौथो गोलीले दशरथ चन्द सहिद बने । यता भर्खर तरुण वयमा टेकेका गङ्गालाल दुई गोली खाएर छटपटाइरहेका थिए । तेस्रो गोली नर शमशेरले नै तिघ्रामा हाने । गङ्गालाल पीडाले चिच्याउन थाले । अब नर शमशेरले दोस्रो पोडेलाई गङ्गालाललाई गोली हानी सिध्याउने आदेश दिए । तर दोस्रो पोडे गोली हान्न तयार भएन–रुन पो थाल्यो । पहिलो पोडे पनि गङ्गालालमाथि गोली हान्न तयार भएन । नर शमशेरले पोडेकै हातबाट गङ्गालाललाई मराउन पोडेलाई पेस्तोल समाएर फायर गर्न सघाउँदै गर्दा निस्केका गोलीले गङ्गालाललाई सहिद बनायो । अनि मात्र काम्दै गरेको धर्ती शान्त र स्थिर भयो । हावाको उकुस–मुकुस खुकुलो भयो । सहरमा निदाएका बासिन्दालाई ऐठनले छोड्यो । यो थियो १९९७ माघ १४ को राति ।

…………………….

काठमाडौँ सहर फेरि पनि निदाएको थियो । रातिको १२ बजेको थियो । एउटा लहरीमा कडा पहरामा एउटा बन्दी ल्याइयो । यस बन्दीका दुवै हात पछाडि फर्काएर बाँधिएका थिए, आँखामा पट्टी थियो । यसलाई सिफलको बकैनाको रुखमुनि उभ्याइयो । यही रुखको हाँगामा फाँसीको डोरी बाँधेर यसलाई झुण्ड्याउनु थियो । यो थियो नेपाल आमाको अर्को सपुत—धर्मभक्त माथेमा र झुन्ड्याउनेका नाइके थिए उनै नर शमशेर । उनैका आज्ञाले माथेमालाई एउटा हाँगामा झुन्ड्याइयो । तर, सानैदेखि जिमखाना धाएका, शारीरिक सुगठनमा बङ्गाल च्याम्पियन बनेका माथेमाको ओजनदार शरीर हाँगाले थाम्न सकेन र लच्कियो । धर्मभक्तले खुट्टा टेके । उनलाई अर्को हाँगामा झुन्ड्याइयो । त्यो पनि लच्कियो र फेरि खुट्टा टेके । तेस्रो हाँगामा डोरी बाँधेर झुन्ड्याउँदा डोरी चुँडियो र पाता फर्काइएका धर्मभक्त भुइँमा पछारिए । अब हाँगाबाट छिनेको तर धर्मभक्तको घाँटीमा कसिएको डोरी खुस्केन, अर्को डोरी थिएन, भए पनि बाँध्ने ठाउँ थिएन । अनपेक्षित स्थितिले आत्तिएका र रिसले मात्तिएका नर शमशेरले आफैँ छुरी निकालेर घाँटीमा कस्सिएको सो डोरी काटे । यसै व्रmममा उनले धर्मभक्तको अनुहार छुरीले चिरेर रक्ताम्मे बनाए । यो अमानवीय व्रmुर प्रहारले आँखामा पट्टी बाँधी पाता फर्काइएका निर्भीक धर्मभक्तलाई उत्तेजित तुल्यायो । उनले त्यही अवस्थाबाट लात्ती चलाएर नर शमशेरलाई जमाएर दिए र लडाइदिए । अब व्रmोधान्ध शमशेरले उनलाई पिट्ने आज्ञा दिए । दानवीय पिटाइबाट मुच्र्छित धर्मभक्त माथेमालाई त्यसपछि झुन्ड्याएर सहिद बनाइयो । यो थियो १९९७, माघ १३ को राति २ बजेको समय ।
……………………

उस बेलै संस्कृत र अङ्ग्रेजी दुवै भाषासाहित्यमा स्नातक गरेका शुव्रmराज शास्त्री प्रातः स्मरणीय चार सहिदहरूमध्ये जेठा र पहिलो सहिद थिए । ‘जय नेपाल’को उद्घोष र अभिवादनको प्रथम प्रयोक्ता शास्त्रीको पहिलो अपराध भारतमा ‘महात्मा गान्धी’लाई भेट्नु थियो । तीन वर्षे कैद सजाय सुनाइएका शास्त्रीलाई पछि थप आठवटा झुटा मुद्दा थपी प्रजापरिषदसँग मुछेर सर्वस्वहरणसहित ज्यान सजाय दिइएको थियो । माहिला गुरुज्यू हेमराज, पं. सोमनाथ आदि व्यक्तिहरूले मनुस्मृति, याज्ञवल्क्य स्मृतिहरूका आडमा अनेक तर्कहरू पेस गर्दै ‘ब्राह्मण नै भए पनि राजद्रोहीलाई मृत्युदण्ड दिन सकिन्छ’ भनी सिफारिस गर्दा शुव्रmराज शास्त्रीले गर्जेर भनेका थिए— ‘प्रजालाई शोषण गरी आफ्नो स्वार्थ पूर्ति गर्ने शासकलाई पनि धर्मशास्त्रमा सजाय तोकिएको छ, बताउँ ?’ निर्भीक, सचेत र साहसी यी सपुतलाई १९९७ माघ १० राति १२ बजे टेकु, पचलीमा एउटा रुखमा झुन्ड्याइयो ।

भूपि भन्छन् –
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
साँच्चै भाग्यो दासता २००७ मा । १९९७ सालको मिर्मिरमा चारवटा तारा झरेर गएको हुनाले नै प्रजातन्त्रको विहानी उदाएको थियो नेपालमा । यहीँ तर एउटा महत्वपूर्ण प्रश्न उठ्छ—के नेपालमा प्रजातन्त्रको ढोका खोल्ने यिनै ४ सपुत मात्रैको योगदान छ त ?

१९३६ मा महाविर स्कुल खोली सिद्धिचरण श्रेष्ठसहितका शिक्षकले पढाउन थाल्दा १९४० मा २८ जना शिक्षक पव्रmाउ परेका थिए । ती मध्ये चिनियाँमान र फत्तेमानलाई आजन्म कैद भएको थियो । चिनियाँमानको जेलमै मृत्यु भयो । के कसैले यो सहिद दिवसमा चिनियाँमानलाई सम्झेको छ ? यसभन्दा अघि नै १९२० मा कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ नामक पुस्तक लेखी छपाए वापत जेल हालिएको थियो । ती जेलमै मरे । के उनी हाम्रा सम्झनामा छन् ?

अझ अगाडि ‘प्रचण्ड गोर्खा’ माथि कार्वाही हुँदा भीम शमशेरले–रुसको जार शासनमा यस्ता राजद्रोहीलाई फाँसी दिइन्थ्यो भन्दा ‘रुसबाट जार शासन ढल्यो पनि त’ भनी खरो जवाफ दिने खण्डमानसिंह र मैनाबहादुर जेलमै मरे । के कोही भन्न सक्छ—आज खण्डमानसिंह र मैनाबहादुरको योगदान ककसले स्मरण गरेको छ ?

लखन थापालाई नेपालको प्रथम सहिद भन्नेहरूले भोटुसिंह बस्नेतलाई चिन्छन् कि चिन्दैनन् ? कि राजा त्रिभुवनको दिल्ली प्रस्थानपछि निस्केको जुलुसमा सेनाको गोलीले मारिएका न्हुच्छेरत्न उदासलाई पनि विस्र्यौँ? १९९७ मै सर्वस्वसहित मुडिएर दामल हुने टङ्कप्रसाद आचार्य र रामहरि पाध्या समेतको भूमिका प्रजातन्त्रमा कति छ ? त्यतिमात्र होइन त्यही काण्डमा सर्वस्व हरणसहित जन्मकैद पाउने १० जना प्रजातन्त्रका योद्धामध्ये एक थिए गणेशमान, बाँकी ९ जना को को थिए ? के कसैले हेक्का राखेको छ ?

आज एउटा सिद्धान्त विशेष र पार्टी विशेषका लागि मारिनेहरू सहिद मानिन्छन् र तिनको त्यागको मूल्यलाई रुपैयाँमा परिणत गरिन्छ—पाँच लाख, सात लाख, दस लाख । उसबेला तिनको ज्यानमात्र लिइएन—अंशहरण र सर्वस्वहरण समेत गरियो । तिनका परिवारले, आफन्तजनले त्यसको मूल्य मागेनन् । क्षतिपूर्ति मागेनन् । किनभने सहिदको त्यागको मूल्य हुँदैन, रुपैयाँमा तिनको बलिदान किनिदैन । आज सहिदहरूको माइबेनी छ— पाटीका सहिद, जातिका सहिद, समुदायको सहिद, संस्थापनको सहिद, विद्रोहीका सहिद । आपसमै मारमार गर्ने अनि सहिद मनाउन तत्छाडमछाड गर्ने ? देश र जनताको हितका लागि निस्वार्थ भावले आफ्नो प्राणको दान दिन कति पनि नहिच्किचाउने सपुतहरूको योगदानको सम्मान कसरी हुन्छ ?

भूपि भन्छन् —
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका सहिदको प्यारो लासले धिक्कार्ला
धर्तीले मुख लाजले छोप्ला आकासले धिक्कार्ला
सहिद रोलान् हामीले उन्नति गरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ।
नेपाल र नेपालीप्रति निस्वार्थ भावले आफ्नो प्राण आहुति दिने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि ।
(लेखक झापाको बुधवारेस्थित सीता रमेश बहुमुखी क्याम्पसका प्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: