अर्जुनधारा, ११ असोज । प्रदेश सांसद बृखबहादुर प्रधानले सुखानी सहिद स्मृति उद्यान परिसरका सुकेका सिसौका रुख काट्न आफुले नलगाएको प्रष्टिकरण दिएका छन् ।
नेपाली कांग्रेस अर्जुनधाराले ती रुख सांसद् प्रधानको प्रत्यक्ष निर्देशनमा काटिएको आरोप लगाएको थियो ।
नेकपाबाट झापा २ को ‘ख’ निर्वाचन क्षेत्रबाट सांसद् पदमा निर्वाचितउनले आइतवार पत्रकार सम्मेलन गरी हावाहुरी आएका बेला ढलेर कछुवा संरक्षण केन्द्रमा क्षति नपुर्याओस् भनेर उद्यान व्यवस्थापन समितिले निर्णय गरेरै रुख काटेको दावी गरे ।
विभिन्न सञ्चार माध्यममा वास्तविकतालाई तोडमोड गरी रुख काटेन लगाएको भनी आफ्नो चरित्रहत्या गर्ने आशयले समाचार आएको उनले दावी गरेका छन् ।
आफुले रुख काटेको प्रमाणित गरे जस्तोसुकै सजाय भोग्न तयार रहेको सांसद् प्रधानले बताएका छन् ।
अर्जुनधारा–११ मा रहेको सुखानी सहिद स्मृति उद्यान परिसरमा सिसौ प्रजातिको तीन वटा सुकेको रुख केही दिन अघि काटिएको थियो ।
उद्यान व्यवस्थापन समितिको असोज ८ गतेको बैठकले परिसरभित्र रहेका सुकेका रुखहरु कटान गर्ने निर्णय गरेको थियो ।