झापा, १३ कार्तिक । सत्ता र विपक्षी राजनीतिक नेताहरुको भीडमा अलि भिन्नै छवि निर्माण गरेका राप्रपाका एक्ला संघीय सांसद् राजेन्द्र लिङ्देन आज अस्पतालहरुको अनुगमनमा एक्लै निस्किए ।
लक्ष्मीपुरस्थित निवासबाट सोझै भद्रपुरको मेची प्रादेशिक अस्पताल पुगेका सांसद् लिङ्देन ओमसाई पाथिभरा हस्पिटलको अनुगमन सकेर फेरि विर्तामोडै फर्किए ।
विर्तामोडमा उनले पहिलो अनुगमन गरे बीएन्डसी हस्पिटलको । यो समाचार लेखिदासम्म उनको अनुगमन जारी छ ।
समयले भ्याएमा विर्तामोडको मनमोहन, कनकाई र विर्तासिटी हस्पिटलको समेत आजै गर्ने उनले बताएका छन् ।
कोभिड १९ को महामरी बढिरहेका बेला हस्पिटलहरुले कोरोनाको बहानामा सर्वसाधारणलाई उपचारै नगरी फर्काउने र रेफर गरी पन्छिने गरेको जनगुनासो बढेपछि जनप्रतिनिधिको हैसियतले मुकदर्शक बन्न मन नलागेर अस्पतालको अनुगमनमा निस्किएको उनले बताएका छन् ।
सानो पार्टीका एक्ला सांसद् भए पनि बेथिति र भ्रष्टाचारविरुद्ध आक्रामक बन्दै आएका सांसद् लिङ्देनको एकल अनुगमन अपेक्षाकृत प्रभावकारी देखिएको छ । अरु सांसद् र स्थानीय सरकारका जनप्रतिनिधिहरुका लागि समेत उनको अनुगमन शैली अनुकरणलायक भएको छ ।
उनले अस्पतालको अनुगमनका क्रममा सञ्चालक, चिकित्सक र सर्वसाधारण सबैलाई भेटेका छन् । सर्वसाधारणलाई भेट्दा ‘कस्तो उपचार पाइरहनु भएको छ ?’ भनी सोध्ने गरेका सांसद् लिङ्देनले असपतालका सञ्चालकहरुसँग ‘विरामीलाई उपचारै नगरी फर्काउने गर्नु भएको त छैन नि ?’ भनी प्रश्न गरेका छन् ।
संघीय सांसद् लिङ्देनले अस्पतालहरुको अनुगमन क्रममा विरामीले उपचारका लागि अस्पताल चहार्दा चहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन अस्पताल सञ्चालकहरुलाई आग्रह गरेका छन् ।
मेची प्रादेशिक अस्पतालको अनुुगमन क्रममा सांसद् लिङ्देनले अस्पतालका सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरसँग अस्पतालले सञ्चालन गरिरहेको कोभिड हस्पिटलको अवस्था र समस्याका बारेमा जानकारी लिएका थिए ।
अस्पतालका सुपरिन्टेन्डेन्ट डा. ठाकुरले कोभिड र कोभिड नभएका सबै किसिमका विरामीको उपचार भइरहेको र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले लामो समयदेखि सरकारले तोके बमोजिमको भत्ता सुविधा नपाएको गुनासो सांसद् लिङ्देनलाई सुनाए ।
सांसद् लिङ्देनले विर्तामोडको बीएन्डसी हस्पिटलमा कार्यकारी प्रमुख दुर्गा प्रसाईलाई भेटेर त्यहाँबाट प्रवाह भइरहेको उपचार सेवाका बारेमा जानकारी लिए ।
हस्पिटलका कार्यकारी प्रमुख प्रसाईले सरकारले हात उठाएको अवस्थामा समेत निजी हस्पिटलहरुले कोभिडका विरामीहरुलाई उपचार सेवा प्रदान गरेर कोभिड महामारीविरुद्धको अभियानमा ठूलो टेवा पुर्याएको बताए ।
बीएन्डसी हस्पिटलमा कोभिडका विरामी कसैलाई पनि नफर्काइएको र छुट्टै राखेर उपचार भइरहेको जानकारी गराउँदै केही दिनमा पीसीआर मेसिन राखेर सेवा प्रदान गरिने प्रसाईले जानकारी दिए ।
ओमसाई पाथिभरा हस्पिटलका निर्देशक बालकुमार पोखरेलले जनप्रतिनिधिद्वारा अस्पतालहरुको अनुगमन भएकोमा खुशी व्यक्त गर्दै कोभिडविरुद्धको अभियानमा सबै जुट्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।