मेचीनगर । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद सुरेन्द्रकुमार (राम) कार्कीले मेचीनगरमै स्थायी बसोबास गर्ने गरी उपयुक्त आवासगृहको खोजी सुरु गरेका छन् ।
बाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नं. १ मा निर्वाचित सङ्घीय सांसद कार्कीको मेचीनगरमा यस अघि स्थायी बसोबास थिएन ।
कार्की निकट स्रोतका अनुसार उनले धुलावारी क्षेत्रमै स्थायी बसोबास गर्ने गरी भाडामा उपयुक्त आवासगृह खोजिरहेका छन् ।
चुनावका बेला बाहिरबाट आएको उम्मेद्वार भनी उनलाई विपक्षीहरुले आलोचनाको निसाना समेत बनाएका थिए । तर कार्कीले मतदातासँग जाँदा नै अब झापा क्षेत्र नं. १ मै स्थायी बसोबास गर्ने बताउँदै आएका थिए ।
झापाको मागुरमाडीमा दुलही भित्राएका कार्कीले भूमिगत राजनीतिका क्रममा ओखलढुङ्गा, सिन्धुली, ताप्लेजुङ लगायतका जिल्लालाई यस अघि राजनीति गर्ने आधार क्षेत्र बनाएका थिए ।
अब उनले मेचीनगरमै स्थायी बसोबास र स्थायी राजनीति गर्ने सोच बनाइसकेको निकट स्रोतले जनाएको छ ।
‘धुलावारी, चारआली र काँकरभिट्टामध्ये कतैतिर बस्न उहाँलाई शुभेच्छुकहरुबाट सुझाव आएको थियो’, स्रोत भन्छ–‘तर उहाँले सेन्टर पर्ने भएकाले धुलावारी क्षेत्र नै मन पराउनु भएको छ ।’
हाल पार्टी हेडक्वार्टरको बैठक र पार्टी एकीकरण सम्बन्धी कार्यनीति निर्माणका लागि नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बोलाहटमा सांसद कार्की काठमाडौँमै व्यस्त छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने बाम गठबन्धनको नयाँ सरकारमा मन्त्री बन्ने सूचीमा रहेका कार्कीले धुलावारीमा आफु बस्ने निजी आवासगृहका लागि तत्काल कुनै सिङ्गो घर नै भाडामा लिने छन् ।
केही निकट कार्यकर्ताहरु घर खोजीका लागि दौडिरहेको समेत बुझिएको छ । ‘घरहरु हेरिदैछन्, फाइनल चाहिँ भइसकेको छैन’–एक कार्यकर्ताले बताए ।