सांस्कृतिक रुपान्तरणको कुरा

  प्रकाशित मिति
२६ पुष २०७४, बुधबार १३:४३



यही २०७४ पुस १९ गते ‘कान्तिपुर दैनिक’मा एउटा समाचार पढें । त्यसमा, राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रदान गरिने बिभिन्न प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सवका विजयी कविहरुलाई पुरस्कृत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्बोधनमा ‘राजनीतिक परिवर्तनसँगै सांस्कृतिक रुपान्तरण र प्रबद्र्धनमा स्रष्टाहरुले लाग्नु पर्ने’ भन्नुभयो भन्ने समाचार थियो ।

राष्ट्रपति महोदयको हातबाट पुरस्कृत र सम्मानित सबैमा मेरो हार्दिक बधाइ तथा शुभकामना छ । डा.तारानाथ शर्मा एक ताकाका नेपालमा बहुचर्चित झर्रा लेखक, वैचारिक रुपमा पनि अब्बल व्यक्तिले पृथ्वी प्रज्ञा पुरस्कार पाउनु भएको छ । ‘गोरु बुढो भएपछि भिर खोज्छ, मान्छे बुढो भएपछि निहुँ खोज्छ’ भन्ने पुरानो उखान सम्झेर अबका दिनमा म ‘ताना सर्मा’बाट ‘नमस्ते’, ‘जमर्काहरु’ ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’ जस्ता सृजनाहरुको अपेक्षा गर्दिन । तैपनि उहाँको ‘बेलायततिर बरालिँदा’ दोहो¥याएर पढ्छु । त्यसैले त्यस गौरवशाली पुरस्कार पाउनु भएवापत उहाँ विशेष बधाइको व्यक्ति हुनुहुन्छ ।

मेरो यस लेखको विषय भने राष्ट्रपति महोदयको सम्बोधनको त्यो वाक्यांश ‘स्रष्टाहरुले सांस्कृतिक रुपान्तरण र प्रबद्र्धनमा लाग्नुपर्ने’ भन्ने विषयसँग सम्बन्धित छ । समाजमा राजनीति र संस्कृति दुई भिन्न कुरा त हुन् तर एकार्काका सापेक्ष कुरा पनि हुन् । हामी भाषण गर्दा, लेख लेख्ता नेपालको समाज व्यवस्थालाई ‘अद्र्ध सामन्ती, अद्र्ध औपनिवेशिक’ भन्थ्यौं । अब राजनीतिक विश्लेषकहरु प्रष्टसँग भन्न थालेका छन्– “नेपाल पूँजीवादी युगमा प्रवेश गरिसकेको छ ।” अहिलेको नेपालको उत्पादन सम्बन्धको चर्चा गर्दै बिभिन्न उदाहरण दिँदै हामीलाई पूँजीवादी युगमा रुपान्तरण भइसकेको पुष्टि गर्नुहुन्छ । भलै, हाम्रो ‘पूँजीवादी’ विकास स्वतन्त्र राष्ट्रिय पूँजीवाद नभएर दलाल नोकारशाही पूँजीवाद होला !
देखिने गरी र नेपालका सर्वसाधारणले बुझ्ने गरी भन्नुपर्दा हामी राजतन्त्रात्मक सामन्ती राजनीतिक प्रणालीबाट गणतान्त्रिक प्रणाली, अर्थात् जनताले आफैं संविधान बनाएर आफैं मध्येबाट प्रतिनिधि चयन गर्दै राष्ट्रपति, प्रधानमन्त्री बनाउने प्रणालीमा त पुग्यौं नै । यो बेलामा हामीले सामन्तवादी व्यवस्थामा देख्नुको त कुरै छाडौं, कदाचित कल्पनै गर्न नसक्ने दृश्यहरु देख्न त पायौं नै ।

सामन्तवादी व्यवस्थामा नारीलाई पुरुष वरावरको त कुरै नगरौं, पुरुषको निजी सम्पत्ति ठानिन्थ्यो । पुरुषको निधनमा सति जाने, ‘स्वास्नी भनेको जुत्ता हो’ भनिने, ‘मर्दका दस वटी’ भनिने, ‘स्त्रीशुद्रौ नधियाताम’ (नारीलाई नपढाउनू), कुटेर तह लगाउनू (स्त्री ताडन के अधिकारी) भनिने प्रणाली हो सामन्तवादी प्रणाली । तर हामीले त एकै साथ मुलुकको सर्वाेच्च पद राष्ट्रपतिमा महिला, न्यायालयको सर्वोच्च पदमा महिला, व्यवस्थापिकाको सर्वोच्च पदमा महिला भएको र कुशल रुपमा जिम्मेवारी निर्वाह गरेकै भन्नुपर्छ, पायौं । दलहरु दलगत निकृष्ट स्वार्थमा लागेर यी व्यक्तित्वहरुलाई विवादित गर्न नलागेका भए, उचित सल्लाहकारको सुविधा भए अब्बल ठहरिन्थे । हामी नारीप्रतिको त्यस्तो खराब परम्पराको प्रणालीबाट भर्खर यस्तो सुन्दर गणतान्त्रिक प्रणालीमा आएका छौं र एउटी महिला राष्ट्रपतिबाट आज हामीलाई ‘सास्कृतिक रुपान्तरण र प्रबद्र्धनमा स्रष्टाहरुले लाग्नु पर्छ’ भन्ने आह्वान सुन्न पाइएका छौं ।

स्वर्ग र नर्कका कुराहरु, पूर्वजन्म र पुनर्जन्मका कुराहरु, जातपात र छुवाछूतका कुराहरु, झारफुक र बोक्सी डाइनीका कुराहरु, ललाटमा लेखेको भन्ने या ग्रहदशामा भरोसा पर्ने कुराहरु सामन्ती व्यवस्थाका उपहारहरु हुन् । हाम्रा धार्मिक ग्रन्थहरु सामन्तवादी व्यवस्थाका सृजनाहरु हुन् र ती सामन्तवादी व्यवस्थाका रक्षाकवचहरु पनि हुन् । ती पुराणहरु, उपनिषदहरु सब कुनै राजाको तिलस्मी शक्ति, तिलस्मी रुप आदिका स्तुतिमा, तिनका कतिवटी रुपवती रानीको वर्णनमा, तिनका सेवक र सुसारेआदिको चर्चामा केन्द्रित छन् । तिनै ग्रन्थहरुको अध्ययन र श्रवणबाट हाम्रो समाजको संस्कार बनेको छ र लगभग आजको युगमा अपाङ्ग जस्तो, अन्धो जस्तो, बैरो जस्तो छ । आमाबाबु, काकाकाकी, फुपूफुपाजु, मामामाइजू, सानीमासानाबाबु, छिमेकी सबैको चेतना त्यही पुराना धर्मग्रन्थका कथाहरुबाट पालित र पोषित छ । समाजको चारै पाखा त्यही शिक्षाबाट शिक्षित दीक्षितले घेरिएकाले राजनीतिक रुपमा गणतन्त्र प्राप्त गरे पनि चेतना भने सामन्तवादी जालोभित्र माकुराको जालोमा लपेटिको झिँगो जस्तो भएको छ । वैज्ञानिक सोच, वैज्ञानिक चिन्तन त बडो अनौठो जन्तु जस्तो छ अझै पनि हाम्रो समाजमा ।

उदाहरणको रुपमा कुरा गर्ने हो भने पुराणकै कुरा गरौं न ! हाम्रो समाजमा आज पनि पुराणको नाममा ती जर्जर असभ्य युगको सामन्ती राजाका कथाहरु माइकद्वारा घन्काउने चलन छ । हाम्रा पुराणका कथा र हाम्रो आजको सामाजिक यथार्थ कहाँ मिल्छ ? यसो पातपातमा कुरा गर्दा हामीमध्ये कोही बोक्सी र डाइनीका वारेमा बैज्ञानिक कुरा बोलेझैं गर्ने गर्छौं पनि, फेरि समाजमा पुराण लगाएर ठुलो देखिने परिपाटी पनि ठिकै ठान्छौं । पुराण लाउनु भनेको त ‘राजाको छोरो राजा हुन्छ’ भन्ने चलन मान्ने कुरा हो । राजाका सन्तान भएन वा राजा मरे वा उनीबाट रानी गर्भवती भइनन् भने ‘क्षेत्रज’ जन्माएर भए पनि या ‘नियोग प्रथा’द्वारा भए पनि राजतन्त्र जोगाएकोमा खुसी मान्ने कुरा हो । माइक लगाएर त्यस्ता कथामा आनन्द मान्ने अनि यता राजा ज्ञानेन्द्रलाई नागार्जुन पठाउने विरोधाभाषी कुरा होइन र !

कम्युनिष्ट पार्टीका महिला नेतृहरु अचेल पनि स्वस्थानी व्रत बस्तै छन्, अझै पनि पूजाआजाका कुरामा वडो गर्वसाथ लाग्दैछन् । अहिले पनि कम्युनिष्ट पार्टीका कतिपय नेताहरु ग्रह अनुसारका पत्थर जडित औंठी ज्योतिषीले भनेअनुसारका औंलामा लगाएर आफ्नो उन्नति र प्रगतिमा विश्वस्त बन्दैछन् ।

दास युग हुँदै सामन्ती युगका देनहरु हुन् गरगहना र प्रशाधनहरु । अहिले सुनको डेढ–दुई तोलाको औंठी औंलामा जडेर हिँड्दा भलाद्मी भइने पुरानो संस्कार सट्ट हाम्रा नेताहरुमा पनि सर्न थालेको छ । कम्युनिष्ट पार्टीका कतिपय नेताहरुका हातमा पनि अचेल औंठी टलक टलक टल्किन थालेका छन् ।

मैले किन ‘कम्युनष्ट पार्टीका नेता’को कुरा उठाएँ ? अरुहरु भन्दा माक्र्सवादी जीवन दृष्टिकोण लिनेहरु हुन् नि त कम्युनिष्ट पार्टीका नेताहरु । उनीहरुले द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादको अध्ययन गरेका हुन्छन्, समाज विकासका वैज्ञानिक तथ्यपूर्ण नियमहरु बुझेका हुन्छन् भन्ने लागेर नै हो । राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राजनीतिक पृष्ठभूमि कम्युनिष्ट पार्टी नै हो । कम्युनिष्ट पार्टी भनेको कमसेकम माक्र्सवादी त हुनै पर्छ । माक्र्सवादीहरुको जीवन जगत्लाई हेर्ने, दुनियाँका घटना परिघटनालाई हेर्ने परख्ने दृष्टिविन्दु नै द्वन्द्वात्मक भौतिकवाद नै हो । यसो भएपछि हाम्रो समाजमा ब्याप्त रुढीवाद, अन्धविश्वास, कुरीति र माथि चर्चा गरेका सामन्तवादको उपहारका रुपमा प्राप्त सांस्कृतिक कुरीतिहरु सच्याउने जिम्मा हाम्रो, कम्युनिष्ट पार्टीका कार्यकर्ताको हुनु पर्ने हो । तर आज भोट बटुल्ने नाममा, लोकप्रियताको झिनो र निकृष्ट लोभमा जनतालाई सुशिक्षित गर्नबाट पनि हामी बिमुख हुँदैछौं ।

आज पनि वडो विडम्वनापूर्ण स्थितिहरु देख्नु सुन्नु पर्छ– कम्युनिष्ट पार्टीकै आयोजनामा वडो झल्लरीमल्लरीसँग पुराणको आयोजना हुँदैछन्, कम्युनिष्ट नेताहरुकै नेतृत्वमा ‘शक्तिशाली देवी भगवतीका स्थान’, भगवतीका मन्दिर स्थापना गर्ने विकास गर्ने कार्य हुँदैछन् र अचेत मान्छेको (भक्तहरुको) कुँडुलो आएर त्यहाँ पूजाआजा गरेको हेरेर जुँगामा ताउ लगाउँदैछन् । यस्ता कार्यहरु वारे छलफल बहस गराउने कुरा हुनु पर्ने, मानव सभ्यताको विकास वारे वैज्ञानिक र तथ्यपूर्ण व्याख्या गरेर सचेत गराउने सट्टा त्यसो गरिँदैछ । अहिले त पार्टीको नाम ‘कम्युनिष्ट पार्टी’ छ, त्यति हो, त्यति मात्रै हो ।

यही कारण हो, आज कम्युनिष्ट पार्टीको कार्यकर्ता नै धर्मनिरपेक्षताको विरोधी बन्दैछन् । धर्मनिरपेक्षको तात्पर्य के हो ? त्यो नै कम्युनिष्ट पार्टीका कार्यकर्तालाई थाहा छैन । वामविरोधीहरुले ‘व्रिmस्चियनको पैसा खाएर धर्मनिरपेक्षता संविधानमा घुसाए’ भनेर हल्ला चलाउँदा ‘हो हो पाडरी हो पाडरी !’ भएको छ कम्युनिष्ट पार्टीका सदस्यहरुलाई पनि ।

वाम समाजमा यस्तो परिवेश भैरहेका बेलामा राष्ट्रपति महोदयबाट स्रष्टाहरुसँग यस्तो अपेक्षा गरिएको छ । म सर्वथा यस आह्वानलाई सम्मानपूर्वक शिरोधार्य गर्दछु । यसका साथसाथै अहिले नेपालले गौरव गर्न पाएको महिला राष्ट्रपतिबाट सामन्ती तथा पूँजीवादी राष्ट्राध्यक्षभन्दा छुट्टै जनताको पक्षधरता झल्किने र समाजवादी नेताको विशिष्टता पनि बुझिने नयाँ चलन या परम्परा चलाउन प्रयत्न भएको हामीले अपेक्षा गर्न कतिको न्यायिक हुन्छ, मेरो मनमा खुल्दुली पनि उब्जेको छ ।

सांस्कृतिक रुपान्तरण तथा सम्बद्र्धनको अभियान दृढतापूर्वक चलाइनु पर्ने कठोर र निरन्तरको अभियान हो । राजनीतिक दल र नेताहरुको प्रयत्नका विगुर्चै स्रष्टाहरुबाट मात्र चलाइने अभियान मलाई लाग्छ, यो कठिन बाटो झन् दोब्बर कठिन हुन्छ । दलका तर्फबाट समेत निश्चित आचार संहिता बनाएर केके कर्मकाण्डमा चाहिँ उदार बन्ने र केकेमा कुनकुन तहले नवीन शैलीका साथ प्रस्तुत हुने भनेर छलफल र बहसबाट अगाडि बढ्ने नगरे उही एक थुकी सुकी भएर प्रयत्नले कुनै परिणाम दिँदैन । त्यसकारण राष्ट्रपति महोदयको यो सन्देशलाई प्रगतिवादी स्रष्टाका अतिरिक्त सम्पूर्ण वाम जगतले बडो गम्भीर भएर बुझे हुन्थ्यो ।
मिति ः २०७४÷९÷२२मा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: