साउदीबाट ६ वर्ष बित्दा पनि शब आएन

  प्रकाशित मिति
४ मंसिर २०७५, मंगलवार १८:५१



बनियानी । झापाको कचनकबल गाउँपालिका वडा नं. ६ बनियानीकी भद्रशिला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको ६ बर्ष बितिसक्दा समेत शब नेपाल आउन सकेको छैन ।
पति हंशराज श्रेष्ठको असामयिक मृत्यु पश्चात साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशिला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थिइन् ।
साउदी अरबमै २०६९ पुस ३० गते उहाँको मृत्यु भएको खबर आएको जेठा छोरा निरज श्रेष्ठले बताए ।

त्यसबेला साउदी अरबकै हस्पिटलमा काम गर्ने नेपालीहरुले भद्रशिलाको शब पहिचान गरेर उहाँका छोरा निरजलाई फोनमार्फत खबर दिएका थिए ।
६ बर्षपछि यही मङ्सिर १ गते आमाको शब आउने भनी साउदी अरबबाटै फोन आएपछि शब बुझ्न काठमाडौँ गएका निरज निराश भएर घर फर्किएका छन् ।

अन्तिम समयमा शब ढुवानी कार्य रद्द भएको खबर काठमाडौँको त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्सको कार्यालयले जानकारी दिएको निरजले बताए ।
भद्रशिलाको शब मङ्सिर ३ गते साँझ ८ बजे इत्तेहाद एयरलायन्समार्फत साउदी अरबबाट काठमाडौँ ढुवानी हुने पूर्व निर्धारित कार्यक्रम थियो ।

तर अन्तिम समयमा शब ल्याउने कार्य स्थगित भएको एयरलायन्सको काठमाडौँ कार्यालयले जनाएको श्रेष्ठले बताए । एयरलायन्सले शब नआउनुको खास कारण भने आफुहरुलाई थाहा नहुने जनाएको श्रेष्ठ बताउँछन् ।

भद्रशिलाको ६ वर्षसम्म सास न लाशको अवस्थाले श्रेष्ठ परिवार चिन्तित भएको छ ।

मृत्यु भएको खबर आए लगत्तै छोरा निरजले विभिन्न सरकारी निकाय गुहारेर शब ल्याउन पहल गरेका थिए । तर त्यसबेला कसैगरी शब आउन सकेन ।
मृतक भद्रशिलाका २ छोरा निरज र सरोज छन् भने एक छोरी निशा श्रेष्ठ छन् ।

निरज गाउँमै सानो पसल चलाएर गुजारा चलाउँछन् भने सरोज वैदेशिक रोजगारीका लागि हालै कतार पुगेका छन् ।

भद्रशिला कुन मेनपावर कम्पनी वा एजेन्टमार्फत वैदेशिक रोजगारीमा गएकी थिइन् भन्ने समेत छोराछोरीहरुलाई जानकारी छैन ।

घरेलु कामदारको रुपमा साउदीमा कार्यरत भद्रशिलाले सुरुमा रु.२४ हजार नगद पठाउनु भएको र त्यसपश्चात ४ वर्षसम्म सम्पर्क विहीन भएको छोरा निरजले बताए ।

लामो समय सम्पर्कविहीन रहेकै अवस्थामा भद्रशिलाको मृत्यु भई हस्पिटलमा शब राखिएको भन्ने खबर आएको हो । श्रेष्ठ परिवारले शब ल्याउने पहलका लागि नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।

निरजले परराष्ट्र मन्त्रालयमा समेत शब ल्याउने व्यवस्था मिलाइदिनका लागि निवेदन दिएको बताए ।

‘हामी सानै थियौँ, बुबा बित्नु भएपछि नागरिकता र पासपोर्ट सबै लिएर विदेश जानु भएको थियो’, शब नआएपछि निराश बनेका जेठा छोरा निरज भन्छन्–‘शब ल्याउन सरकारले नै पहल गरिदिन अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: