मेचीनगर । गत मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पाकिस्तानले जितेका तीन वटा पदक खोसिएको छ ।
नेपाल ओलम्पिक कमिटीका अनुसार दशरथ रंगशालामा भएको एथ्लेटिक्सअन्तर्गत ११० मिटर हडल्समा स्वर्ण जितेका मोहमद नइम, ४ सय मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र सय मिटरमा कास्य जितेका सामी उलाहको पदक खोसिएको हो ।
तीनै जनाले प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएकाले पदक खोसिएको हो । ओलम्पिक कमिटीका अनुसार डोपिङमा असफल तीनै जनामाथि २०१९ डिसेम्बर २ देखि लागू हुने गरी चार वर्षको प्रतिबन्ध लगाइएको छ ।
विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)को नियम अनुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो । जसको कतारको राजधानी दोहास्थित एन्टी डोपिंङ ल्याबमा परीक्षण गराउदा तीन जना खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि भएको थियो ।
नियम अनुसार खेलाडीलाई दोस्रो पटक परीक्षण गराउने अवसर दिइएको थियो । जसमा नइम र मेहबुबले दोस्रो पटक परीक्षण गराउदा पनि असफल भएपछि उनीहरु कारबाहीमा परेका हुन् ।
११० मिटर हडल्समा भारतका खेलाडीले रजत र श्रीलंकाका खेलाडीले कास्य जितेका थिए । यस्तै चार मिटर हडल्समा रजत र कास्य दुवै पदक भारतीय खेलाडीले हात पारेका थिए ।
१३औं सागमा पाकिस्तानले १३२ पदक जितेका थियो । जसमा ३२ स्वर्ण समावेश थिए । दुई पदक खोसिएपछि पाकिस्तानको नाममा अब ३० स्वर्ण मात्र हुनेछ ।
(सेतोपाटीबाट)