झापाको शनिअर्जुन नगरपालिकामा स्थायी रूपमा बसोबास गर्दै आएका सागर खरेल बिगत केही वर्षदेखि निरन्तर रूपमा सामाजिक क्षेत्रमा क्रियाशिल देखिन्छन् ।
हँसिलो स्वभाव र सहयोगी मन भएका सागर नयाँ ठाउँ र नयाँ साथीहरूसँग छिट्टै नै घुलमिल भैहाल्छन् । आफ्नो पढाई सँगसँगै निरन्तर सामाजिक क्षेत्रमा लागिरहेका उनले भर्खरै प्लस टु अध्ययन गरेर थप शिक्षाका लागि तयारी गरिरहेका छन् ।
उनले बिगत ४ बर्षदेखि सामाजिक सञ्जाल (फेसबुक) मार्फत ‘हाम्रो शनिश्चरे बजार’ भन्ने पेज चलाएर आफ्नो गाउँ ठाउँको खबर देश बिदेशमा पुर्याएर यस शनिअर्जुनको छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
उनले शनिश्चरे अर्जुनधारा क्षेत्रमा रहेका थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरूको भिडियो बनाएर युट्युवमार्फत देश बिदेशमा पुर्याएर आफ्नो ठाउँको पर्यटन प्रबर्धनमा पनि सहयोग गरिरहेका छन् ।
सागरले बनाएको भिडियोहरूलाई हजारौँले हेरेको र सयौँले शेयर पनि गरेका छन् । अर्जुन्धारा जेसिजमा सन २०१५ देखि निरन्तर हिडिरहेका उनले जेसिज मार्फत थुप्रै ट्रेनिङ लिने अवसर पाएका छन् । पूर्वमा भएको दुई वटा क्षेत्र ‘क’ सम्मेलन र महेन्द्रनगरमा भएको ४२ औँ राष्ट्रिय महाधिवेशनमा सफलतापूर्वक भाग लिइसकेका छन् । कसैलाई दुःख आइप¥यो भने सकेसम्म सहयोग गर्न पछि हट्दैनन् ।
यसरी युवा भएर सभ्य समाज निर्माण गर्न हिँड्ने सागर भन्छन्–‘सायदै जेसिज नभएको भए, यसरी सामाजिक क्षेत्रमा हिँडिरहन सम्भव थिएन होला ।’ सामाजिक क्षेत्रमा लाग्नुमा अर्जुनधारा जेसिजका वर्ष २०१५ का अध्यक्ष दिपीन राई प्रेरणाको स्रोत भएको उनी बताउँछन् ।
उनी जेसिज सँगसँगै शनिअर्जुनमा रहेका प्रायः सबै सङ्घ संस्थाहरूमा आबद्ध छन् । जेसिजको अलवा फरवाड युवा मञ्च, कुशल मोक्षेश्वर युवा परिवार, नाट्य कला यात्रा झापा, न्यु डाइनामाइट फुटबल क्लब लगायत अन्य थुप्रै संस्थामा रहेर काम गरिरहेका सागर भन्छन्–‘थुप्रै साथीहरू मलाइ सोध्ने गर्छन्, तिमी सबै सङ्घ संस्थामा हिडिरहेका हुन्छौ, सबै कार्यक्रमहरूमा सकृय सहभागिता जनाइरहेका हुन्छौ, पैसा त राम्रै कमाइ हुन्छ होला नि ?’ सागर मुस्कुराउँदै भन्छन्–‘तर म जवाफ दिन्छु, मैले जे कमाएको छु, त्यो भनेको साथी भाइको माया र अग्रजहरूको आशिर्वाद नै हो ।’
सागरलाई परिवारको पनि ठूलो साथ छ । सायदै उनको परिवारले साथ नदिएको भए यो यात्रा यसरी निरन्तर अघि बढ्दैन थियो होला । बाबा, मामु र भाइले उनलाई सामाजिक काममा लाग्न हौसला दिने गरेका छन् ।
सामाजिक क्षेत्रसँगसँगै मिडियामा पनि त्यति नै रुची राख्ने पत्रकारिताका विद्यार्थी हुन् । पूर्वको लोकप्रिय साप्ताहिक पत्रिका यलम्बर टाइम्सका फोटो पत्रकार पनि हुन् । उनी सामाजिक क्षेत्र र पढाईलाई सँगसँगै लैजादै भविष्यमा व्यावसायिक रूपमा मिडिया क्षेत्रमा आफ्नो करियर बनाउने सोचमा छन् ।
(लोकतन्त्र पोस्टमा प्रकाशित)