साझा बन्ने मेयर–उपमेयरको उद्घोष

  प्रकाशित मिति
२६ असार २०७४, सोमबार २२:२२


bimal padbhar grahan sapath upamayor

इटाभट्टा । मेचीनगरको सत्ता सम्हालेका नवनिर्वाचित मेयर विमल आचार्य र उपमेयर मीना पोखरेलले सोमवार पदभार ग्रहण गरेको पहिलो क्षणमै सबैको प्रतिनिधि अर्थात साझा बन्ने उद्घोष गरेका छन् ।

भिन्नाभिन्नै राजनीतिक दलबाट निर्वाचित भएका मेयर र उपमेयरले शपथग्रहण समारोहमा व्यक्त गरेको मन्तब्यमै साझा चरित्र प्रस्तुत गर्ने छनक थियो ।
नेपाली काङ्ग्रेसबाट निर्वाचित मेयर आचार्यले सम्बोधनको समापनमा कम्युनिस्टहरुले प्रयोग गर्ने अभिवादनको भाषामै ‘लाल सलाम’ भन्न पनि भ्याए । उनले त्यसो भनिरहँदा दर्शकदीर्घामा रहेका एमाले र माओबादी समर्थकहरुले पररर ताली पिटेका थिए ।

उपमेयर मीना पोखरेल नेकपा एमालेबाट निर्वाचित भएकी हुन् । ‘हिजोसम्म कुनै एक पार्टीमा मात्र थियौँ होला, तर अब हामी सबैको साझा भएका छौँ’–उपमेयर पोखरेलले सम्बोधन क्रममै भनिन् ।

मेचीनगरको चुनावमा ७७ सिटमध्ये मेयरसहित नेपाली काङ्ग्रेसले २७, उपमेयरसहित नेकपा एमालेले ४८ र नेकपा माओबादी केन्द्रले वडाध्यक्षसहित २ सिट जितेका छन् भने वडाध्यक्षमा एमाले र काङ्ग्रेसले ७÷७ सिट र एक सिट माओबादीले जितेको छ ।

बहुमत एमालेको पक्षमा भए पनि उसले नगरपालिकामा अन्य दलसँग सहकार्य गरेरै अघि बढ्ने प्रतिबद्धता जनाएको छ भने नेपाली काङ्ग्रेसले पनि बहुमत भएको एमालेलाई नचिढ्याइकन हातेमालो गरेर अघि बढ्ने सोच बनाएको देखिन्छ ।

शपथग्रहण कार्यक्रममा मेयर र उपमेयरले दिएको भाषणमा सहकार्य गर्दै अघि बढ्ने प्रस्ट सङ्केत मिलेको छ ।

‘हामीलाई आज सबै दलको सहयोग र साथ चाहिएको छ’, एक हप्ताभित्र नगर विकासको योजना सार्वजनिक गर्ने बताएका मेयर आचार्यले भने–‘सबै दलको घोषणापत्रमा उस्तै उस्तै कुरा उल्लेख छ, हामी ती सबैलाई सम्बोधन गर्ने छौँ ।’

मेयर आचार्यले शपथग्रहण समारोहमा गम्भीर र शान्त मुद्रामा मन्तब्य व्यक्त गरेका थिए । उनले व्यक्त गरेको भाषणमा कुटनीतिक शब्दको प्रचुर प्रयोग थियो ।
आचार्यले आफ्नो निकटतम् प्रतिष्पर्धी एमालेका विष्णु प्रसाइँलाई उच्च सम्मानका साथ ‘मेरा अग्रज’ भन्दै सम्बोधन गरेका थिए भने पदभार ग्रहणका क्रममा उपमेयरको कोठासम्मै पुगेर आत्मीयता प्रस्तुत गरेका थिए ।

उपमेयर पोखरेलले पनि नगरको विकास निर्माणमा गणितशास्त्रभन्दा समाजशास्त्र र भूगोलशास्त्रमा एक ढिक्का भएर ध्यान दिने प्रतिबद्धता जनाएकी थिइन् ।
उनले एक ढिक्का भएर अघि बढ्दा मात्र हिजो चुनावमा भोट माग्न जाँदा दलहरुले गरेको बाचा पूरा गर्न सकिने मन्तब्यमै बताइन् ।

सांसद् उषा गुरुङ प्रमुख अतिथि रहेको शपथग्रहण समारोह नगरपालिकाको पूर्वी परिसरमा टेन्टभित्र भब्य रुपमा सम्पन्न भएको थियो ।

सांसद गुरुङले मेयर र उपमेयर दुबैको प्रशंसा गर्दै मिलेर नगरको विकासमा एकता र सद्भाव देखाएर अघि बढ्न सल्लाह दिएकी छन् ।

कार्यक्रममा मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल, प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, मेयरका उम्मेद्वार विष्णु प्रसाई, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मणि उप्रेती, नगरका कार्यकारी अधिकृत पशुपति खतिवडा र कार्यक्रमकी सभापति एवम् निर्वाचन अधिकृत इन्दिरा शर्माले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उपमेयरकी उम्मेद्वार दुर्गा खतिवडालाई मञ्चमा निम्त्याइए पनि उनी कार्यक्रमस्थलमा उपस्थित थिइनन् । माओबादी केन्द्र, राप्रपा लगायतका दलका प्रतिनिधिहरुलाई समेत मञ्चमा डाकिएको थियो । तर ती पार्टीका नेताहरु कार्यक्रमस्थलमा उपस्थित रहे पनि मञ्चमा गएनन् ।

निर्वाचन अधिकृत इन्दिरा शर्माले मेयर, उपमेयर र वडाध्यक्षहरुलाई र मेयरले सबै नगर सभा सदस्यहरुलाई पदको शपथ गराएका थिए ।
शपथग्रहणको क्रममा ‘जनता’ लेखिएको ठाउँमा वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुले ‘नागरिक’ शब्द उच्चारण गरेका थिए भने एमाले र माओबादीका प्रतिनिधि समेतले ‘ईश्वर’को नाममा शपथ लिएका थिए ।

शपथग्रहण पछि मेयर र उपमेयरलाई पदभार ग्रहणका लागि नगरपालिका भवनको दोस्रो तलामा रहेको कार्यकक्षमा लगिएको थियो ।

भवनभित्र पस्नासाथ मेयर आचार्यले भुइँ ढोगेका थिए भने कुर्सीमा बस्दा मेयर र उपमेयर दुबैले निकैबेर फोटोसेसनका लागि समय दिएका थिए ।

नगरपालिका भवनको दोस्रो तलाको पश्चिमी ब्लकमा दक्षिणपट्टि मेयरको र उत्तरतिर उपमेयरको कार्यकक्ष रहेको छ । सोमवार मेयरको कक्षमा सोफा सेट सजाइए पनि उपमेयरको कक्षमा उपमेयर बस्ने कुर्सी र टेबल बाहेक केही पनि थिएन ।

दुबैको कोठामा नयाँ कार्पेट विछ्याइएको छ भने झ्यालका पर्दाहरु फेरिएका छन् । मेयर र उपमेयर बस्ने कुर्सी आइतवार मात्र चन्द्रगढीको फर्निचर उद्योगबाट खरिद गरेर ल्याइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: