कथा-‘साथीको पति’

  प्रकाशित मिति
१२ जेष्ठ २०७५, शनिबार १४:३०


अम्बिका भण्डारी

एकाविहानै निम्तो लिएर एक जना साथीको घर पुगेँ । मलाई उहाँको पतिले स्वागत गर्नु भयो । उहाँको एउटा हातमा अम्लिसोको कुचो थियो ।

‘साथी कता हुनुहुन्छ ?’ नमस्कार आदानप्रदान पछि मैले सोधेँ ।

‘भित्र सुक्सुक् गर्दै छिन् । म बोलाइदिन्छु नि, यता आएर बस्दै गर्नु न !’ उहाँले गेस्टरुमतिर मलाई डोहोर्याउँदै भन्नु भयो ।

‘ए यता आउ त, तिमीलाई को भेट्न आउनु भएको छ ?’ उहाँले साथीलाई म भएनिर बोलाउनु भयो ।

मेरी साथी हातमा रुमाल बोकेर सुक्सुकाउँदै आइन् । म अलमलमा परेँ । साथी रुमालले मुख छोप्दै आएकी छन्, उता साथीको पति चाहिँ कुचोको डाक्लो बोकेर हिँडिरहेका छन् !

‘गलत टाइममा आएछु कि क्या हो, विहानै ठाक्ठुक् परेको हो कि !’ मैले मनमनै सोचेँ ।

म गतिविधि नियालिरहेकी थिएँ । मेरी साथी गेस्ट रुममा छिर्नासाथ उहाँको पति कोठाबाट बाहिरिनु भयो । साथीले एक मिनेट जति समयमा चार पाँच चोटी रुमालले नाक, मुख र आँखा पुछिन् । साथीका आँखा रसिला थिए । बोली पनि भासिए जस्तो भएको थियो ।

‘एकाविहानै दुव्र्यवहार गरे तिम्रा पतिले ?’ भनेर साथीलाई सोधौँ कि जस्तो एक मनले लाग्यो । तर अर्को मनले उहाँकै घरमा त्यतापट्टि कुरो लगेर झन् झगडा बढ्ने हो कि जस्तो पनि लाग्यो । मैले त्यतापटिको कुरो छाडेर निम्तो बाँड्न आएको सुनाए ।

मेरो मनले मान्दै मानेन र फुत्त मुखबाट बोली फुत्कियो–‘के भयो हँ तिमीलाई, तरतरी आँशु बगिरहेको छ ?’ मैले साथीको निधारमा लत्रिएका केही केशहरु पछाडि फर्काइदिएँ ।

केही बोल्न खोज्दै थिइन् साथी । त्यतिबेलै ढोकाबाट आवाज आयो–‘ओहो मै भनिहाल्छु नि…।’ पुलुक्क अनुहारतिर हेरेँ–साथीको पति रहेछन् । झनक्क रिस पनि उठ्यो । कुरो सपार्न अघि सरेर बोल्न खोजेका हुन् कि जस्तो लाग्यो ।
तर साथीको पतिलाई राम्ररी हेरिसकेपछि म छक्क परेँ । अचम्भित भएँ । मेरा अलिकति अघिसम्मका सबै अनुमानहरु फेल भएँ । मैले लामो सास फेरेँ ।

‘यो चाहिँ अदुवा, बेसार र तुलसीको पात मिसाएर पकाएको ओखतीको झोल हो, त्यो चाहिँ ग्रीन टी हो’–उहाँ भन्दै हुनुहुन्थ्यो । उहाँले मलाई ग्रीन टी दिनु भयो र मेरी साथीलाई ओखतीको झोल ।

‘थपक्क खाउँ, एक छिनपछि पानीको बाफ लिनु पर्छ’–साथीलाई मायालु पाराले सम्झाएर उहाँ फेरि गेस्टरुमबाट बाहिरिनु भयो ।

त्यसपछि मैले सबै कुरा सोधेँ । मेरी साथीलाई रुघाले हिजोदेखि च्यापेको रहेछ । विहान घर आँगन बढार्नेदेखि किचनको सबै काम सम्हाल्ने जिम्मेवारी उहाँले लिनु भएको रहेछ । मेरो मनको शङ्का सुनाउँदा मेरी साथी निकैबेरसम्म पेट मिचीमिची हाँसिरहिन् ।

मेरो ती साथीको घरमा दम्पतिविचको जस्तो मेलमिलाप छ, त्यस्तो त कुनै कथामा पनि पढ्न पाएको छैन । दुबै जना अफिस जान्छन् । दुबै कमाउँछन् । घरको धन्धा पनि मिलेर गर्छन् ।

महिलाहरु आफ्ना घरको सबै धन्धा आफैले सम्हाल्छन् । लोग्ने मान्छेले बसिदिने, खाइदिने र हिँडिदिने मात्र काम हो जस्तो । खाने लोग्ने मान्छेले पनि हो, तर किचनको सबै काम महिलाले मात्र गर्नु पर्ने र ? यस्तो प्रश्न बारे हामी महिला कहिल्यै गम्भीर हुँदैनौँ । त्यसको मुख्य कारण भनेकै पति रिसाउँछन् भनेर नै हो । अर्कातिर पत्नीको धर्म नै पतिको सेवा गर्नु हो भनेर हामीलाई सानैदेखि सुनाइएको छ, बताइएको छ । त्यो हाम्रो दिमागमा यसरी घुसेको छ कि, त्यसलाई कुनै तालिम र प्रशिक्षणले मेटाउन सकेको छैन ।

तिनै मेरी साथीको घरमा अर्कै एक दिन दशैँको बेला छुस्स निस्किएकी थिएँ । गेस्टरुमभरि पाहुना थिएँ । साथी पाहुनाहरुसँग गफमा थिइन् । म पुगेपछि उनले मलाई जिस्काउँदै भनिन्–‘आज पनि कुचो बोकेका मान्छेलाई हेर्न आएकी हौ कि ?’

‘ल यता आउँ’ भन्दै साथीले मलाई हातै समातेर किचनतिर लगिन् । केही खुवाउन पो लगेकी हुन् कि जस्तो लागेर मैले भने–‘पर्दैन, भर्खर दही चिउरा खाएर आएकी छु ।’ तर उनी मानिनन् ।

किचनमा उनका पति डाडु र पन्यु पो बोकिरहेका भेटिए । फेरि अचम्मै लाग्यो । उहाँ बग्रेल्ती भाडाकुडा मस्काउँदै हुनुहुँदो रहेछ । मैले यसरी पत्नीलाई पाहुनासँग गफिन लगाएर आफु जुठेल्नो सम्हाल्ने मेरी साथीको पति जस्तो पुरुष मान्छे अरुतिर देखेको छैन ।

‘अस्तिको कुचोको कुरा सुनाउँ ?’–साथीले मतिर हेर्दै सोधिन् ।

‘नाइ नाइ‘–मैले हाँस्दै हाँस्दै साथीको मुख थुने जस्तो गरेँ ।

साथी पनि बेस्सरी हाँसिन् । तर साथीका पति ट्वाल्ल परे । किनकि उनले हाम्रो कुरो बुझ्न सकेनन् ।

समाज रुपान्तरण र लैङ्गिक समानताको विषयमा आयोजना हुने कुनै कार्यक्रममा पुग्छु, त्यसबेला मलाई ती साथीको पतिको याद आउँछ ।

एक दिन मैले पनि मेरा पतिलाई साथीको पतिको निकै बखान गरेँ । मेरा पतिले मेरा कुरा सुनिसकेपछि जिस्काउँदै भन्नु भयो–‘ए त्यसो भए, तिमी तिम्रो साथीको पतिबाट निकै प्रभावित भएको मैले बुझ्नु पर्यो हैन त !’

मेरा पति पनि नराम्रो बानी व्यहोराको थिएनन् । जाँड रक्सी खाँदैनन् । चुरोट बिँडी पिउँदैनन् । गुट्खा चपाउँदैनन् । तर भाततिहुन पकाउन, लुगा धुन र घर आँगन बढार्न भने पछि उनलाई टाउको दुखेर आउँथ्यो ।

एक दिन डुलाउँदै डुलाउँदै झुक्याएर त्यही साथीको घरमा पुर्याएँ मेरो पतिलाई । त्यसदिन पनि मेरा साथीको पतिले चिया पकाएर दिनु भयो । मेरी साथीले किचन रुमतिर पनि डुलाइन् ।

मेरी साथीको पतिको पत्नीमैत्री व्यवहार देखेर मेरा पति प्रभावित भएछन् ।

‘आजदेखि विहानै घर बढार्ने र किचनमा सब्जी केलाउने सानो जागिर देउ न !’–एक दिन मेरा पतिले पनि भनेको सुन्न पाएँ ।

एक दिन अर्को दिन गर्दै अहिले मेरो घरमा महिलाले गर्दै आएको घरधन्धाको आधाजति काम मेरा पतिले सघाउनु हुन्छ । पहिले म मेरो साथीको पतिको बखान गर्थेँ, अचेल मेरा साथीहरु मेरो पतिको पो बखान गर्न थालेका छन् ।

(मेचीनगर साकोस स्मारिकाबाट साभार गरेर लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: