सानै उमेरमा मुटुको समस्या देखियो

  प्रकाशित मिति
१८ फाल्गुन २०७६, आईतवार २१:१३


मेचीनगर । विद्यार्थीलाई लक्षित गरेको मेचीनगरमा एकदिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । सानै उमेरमा बालबालिकामा लाग्ने मुटुरोग पहिचान गरी समयमै उपचार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी र रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको आयोजनामा आदर्श माध्यमिक विद्यालय परिसरमा भएको शिविरमा नगरभरिका करीब आधा दर्जन विद्यालयका विद्यार्थीले मुटु परीक्षण गराएका थिए ।

नेपाल ह्र्ट फाउन्डेसन काठमाडौं र एडवर्ड लाइफसाइन्स फाउण्डेसनको प्राविधिक सहयोगमा भएको शिविरमा मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी नेतृत्वको टोलीले एक हजार चारसय बढी विद्यार्थीको मुटु परीक्षण गरेको रोटरी क्लब अफ काँकरभिट्टाका क्लब व्यवस्थापन संयोजक सुजन प्रधानले बताए ।

रोटरी क्लब अफ विर्तामोड, विर्तामोड मिडटाउन, भद्रपुर र सुरुङ्गाको व्यवस्थापनमा भएको शिविरमा नेपाल ह्र्ट फाउण्डेसन काठमाडौंका डाक्टर दीपेन्द्रपुरुष ढकाल, डाक्टर सत्यनारायण सुवाल, डाक्टर उर्मिला शाक्य, डाक्टर प्रेमराज बैद्यलगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा स्वास्थ्य परीक्षण गरिएका मध्ये १३५ जनाको इकोकाड्योग्राफी गरिएको थियो । तीमध्ये तीनजनामा समस्या देखिएको फाउण्डेसनका प्रोजेक्ट म्यानेजर अनोमोल महर्जनले बताए । उनका अनुसार एकजनामा बाथ मुटुरोग र बाँकी दुईजनामा जन्मजात मुटुको समस्या देखिएको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गरिएका मध्ये मुटुमा समस्या भएकालाई नेपाल ह्र्ट फाउण्डेसन काठमाडौंले अब हुने सबै उपचार निःशुल्क प्रदान गर्ने विर्तामोड मीडटाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले बताए ।

२०४५ सालमा स्थापना भएको नेपाल ह्र्ट फाउण्डेसन झापासहित देशका ५२ वटा जिल्लामा शाखा रहेको र हालसम्म देशका ४५ वटा जिल्लामा मुटुरोग सम्बन्धी विभिन्न स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम गरेको छ । विशेषगरी बालबालिकामा हुने बाथ मुटुरोगका बारेमा फाउण्डेसनले काम गर्दै आएको छ ।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा भएको उद्घाटन सत्रमा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पुरी, आयोजक संस्थाका पूर्व अध्यक्ष दिलीप सुवेदी लगायतले बोलेका थिए ।

प्रिसिडेन्ट इलेक्ट कृष्णकान्त खनियाले स्वागत तथा सञ्चालन रोटरी क्लब अफ काँकरभिट्टाका क्लब व्यवस्थापन संयोजक सुजन प्रधानले गरेका थिए । कार्यक्रममा सहभागी सबैलाई आयोजक क्लबका प्रेसिडेन्ट नोमिनी रोहितकुमार बुडाथोकीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: