साफमा नेपालको लगातार दोस्रो जित

  प्रकाशित मिति
१९ आश्विन २०७८, मंगलवार २२:५२


झापा, १९ असोज । साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ ।
सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्यो ।

साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो । पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो ।
सोमबार खेलको ३३ मिनेटमा नेपालले खेलमा अग्रता लियो। नेपालका लागि सुमन लामाले गोल गरे ।

सुमनको प्रहार सुरुमा श्रीलंका गोलकिपर सुजन परेराले समात्न खोज्दा फुत्किएर बारमा लागेर फर्किएको थियो । रिबाउन्डमा सुमनले गोल गर्न सफल भए । सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

खेलको ५१ खेलमा नेपालले अग्रता दोब्बर पा¥यो। अन्जन विष्टले नेपालका लागि दोस्रो गोल गर्न सफल भए । दोस्रो हाफमा मैदान छिरेका आयुष घलानको क्रसमा नवयुग श्रेष्ठको प्रहारलाई श्रीलंकाका गोलकिपरले फर्काएका थिए। रिबाउन्डमा अन्जनले गोल गर्न सफल भए ।

५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो । उसका लागि मार्भिन हामिल्टनले लङरेन्ज प्रहारमार्फत बललाई जाली चुमाए । त्यसअघि नेपालका डिफेन्डर सुमन अर्यालले गोल लाइनबाट बललाई क्लियर गरेका थिए ।

दोस्रो हाफमा नेपालले काउन्टर आक्रमणमा गोल गर्न सकेन । सुरुमा श्रीलंकाका गोलकिपरले मनिष डाँगीको प्रहारलाई छेकेका थिए । त्यसपछि मनिषले हेडमार्फत दिएको पासमा आयुष घलानको प्रहारमा फेरि श्रीलंकाका गोलकिपर बाधक बने ।

खेलको ८६ मिनेटमा आयुषले नेपालका लागि तेस्रो गोल गर्न सफल भए । तेज तामाङको क्रसमा आयुषले उत्कृष्ट फिनिसिङ गरेका थिए । आयुषको पनि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाले पेनाल्टी पायो। गौतम श्रेष्ठले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा डि सिल्भाले गोल गरे ।
साफमा नेपाल र श्रीलंकाबीच यसअघि पाँच पटक प्रतिस्पर्धा भएको थिए । जसमा नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा जित हात पारेको थियो ।

साफमा नेपालले पछिल्लो पटक सन् २०१५ मा श्रीलंकाविरुद्ध खेलको थियो। सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो ।
नेपालले सन् १९९९ को साफमा श्रीलंकालाई हराएको थियो। भारतमा भएको खेलमा नेपाल ३–२ ले विजयी भएको थियो । सो खेलमा

नेपालका लागि नरेश जोशीले ह्याट्रिक गरेका थिए। त्यसयता नेपालले साफमा श्रीलंकालाई पहिलो पटक हराएको हो ।
जितसँगै जारी साफमा नेपाल अंक तालिकाको शीर्ष स्थनमा उक्लिएको छ । नेपाल दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको बंगलादेशको ४ अंक छ। बंगलादेशले सोमबार साँझ सकिएको खेलमा सात पटकको विजेता भारतलाई १–१ गोलको बराबरीमा रोकेको थियो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स तथा बंगालदेशले श्रीलंकालाई समान १–० ले हराएका थिए ।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ । पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ ।

साफमा नेपालको खेल

नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९ः४५ बजे (नेपाल १–० ले विजयी)
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९ः४५ बजे (नेपाल ३–२ ले विजयी)
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९ः४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४ः४५ बजे

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: