सामाजिक विकास र आर्थिक समृद्धिमा फड्को

  प्रकाशित मिति
१० मंसिर २०७३, शुक्रबार १३:१०


bird-jamunwari-3सुरुङ्गा । बन्दहड्तालले समग्र मुलुक जर्जर भएका बेला आफ्नै गतिमा अघि बढिरहेको झापाको उदाउँदो सहर सुरुङ्गा अहिले फुटबलमय छ । बन्द निशेधित सुरुङ्गाको चर्चा फुटबलसँग जोडेर त भइरहेकै छ नै । त्योभन्दा धेरै चाहिँ झापाको ‘केन्द्र’ बन्ने विषयतर्फ सुरुङ्गाको चर्चा हुन थालेको छ ।

कनकाई नदीको पूर्वी तटमा रहेको सुरुङ्गा बजार कनकाई नगरकै आधारस्तम्भ हो । ऐतिहासिक, धार्मिक, पौराणिक तथा पर्यटकीय हिसाबले पनि सुरुङ्गा झापाको केन्द्र बन्न सक्छ । पौराणीक कथनका अनुसार पाँच पाण्डवले सुरुङ खनेको र अपभ्रंश हुँदै उक्त क्षेत्रको नाम सुरुङ्गा भएको हो ।

बन्दमुक्त सुरुङ्गा
नेपाली राजनीतिक सङ्क्रमणसँगै बन्द हड्तालले आजित भएको मुलुकका तमाम उद्योगी–व्यवसायीका लागि सुरुङ्गाले आशाको सञ्चार गर्यो । वि.सं. २०६७ सालमा बन्दविरुद्ध सुरुङ्गाबासी सडकमा उत्रिए । जसमा व्यापारी–व्यवसायी, राजनीतिक दल तथा सरोकारवाला सबैले साथ दिएपछि सुरुङ्गा बन्दहड्तालको कहरबाट मुक्त भयो ।

मुलुकमा अहिले पनि कुनै पार्टी वा सङ्गठनको बन्द हुँदा सुरुङ्गा निर्वाध सुचारु हुन्छ । ‘बन्दहड्तालले अर्थतन्त्रको मेरुदण्डमाथि नै प्रहार गर्छ’, कनकाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमारमणि पोखरेल भन्छन् – ‘त्यसैले बन्दविरुद्ध सुरुङ्गाबासी जागरुक भएर लडेका हुन्, यही सन्देश मुलुकभरि फैलिनु पर्छ ।’

उदाउँदो बजार
कनकाई नदीको पूर्वतर्फ रहेको सुरुङ्गामा लगानी निरन्तर बढिरहेका छ । एक दशक अघिसम्म केही दोकान रहेको चोक अहिले झापाकै मुख्य बजारमध्ये एउटाको गन्ति आउन थालेको छ । व्यावसायिक लगानी बढिरहेको छ । व्यापारिक प्रतिष्ठान र अन्य ठूला भौतिक संरचना थपिँदै छन् । साना उद्योग प्रतिष्ठान एवम् सहकारी संस्था तथा बैङ्किङ कारोबार गर्ने संस्थाहरुले पनि फड्को मार्दै छन् । कनकाई नगरसँगै घैलाडुब्बा, कुमरखोद, शरणामति र डाँगिबारीको केही क्षेत्रमा गरी २ हजारभन्दा धेरै नागरिक साना तथा ठूला व्यापार–व्यवसायीमा कृयाशील छन् ।

कनकाई उद्योग वाणिज्य सङ्घका अनुसार सुरुङ्गा र आसपासका क्षेत्रमा वार्षिक २५ करोड रुपैयाँसम्म लगानी भइरहेको छ । ‘आधुनिक एवम् सुबिधायुक्त व्यापारिक केन्द्र बन्न थालेका छन्’, अध्यक्ष कुमारमणि पोखरेलले भने – ‘लगानी आकर्षण गर्ने प्रयासमा हामी लागि रहेका छौँ, सुरुङ्गासँगै कनकाई नगरले विस्तारै आर्थिक समृद्धिको बाटो लिन्छ ।’

पर्यटनमा अब्बल

kotihom-1
कनकाई नदी नेपालीहरुको पवित्र तीर्थस्थल हो । जहाँ स्नान गर्दा पुण्य हुने विश्वासका साथ दैनिक कयौँ श्रद्धालु आउने गर्दछन् । कनकाई नदीमा श्रद्दाका साथ पूजा गरे सबै किसिमका मनोकामना पूरा हुने विश्वास गरिन्छ । माघे सङ्क्रान्ति पर्वका अवसरमा विसाल धार्मिक मेला लाग्ने गरेको छ ।

आन्तरिक पर्यटनले धानेको अत्यन्तै रमणीय स्थल हो, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र । यो जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको सङ्रक्षणमा रहेको छ । वार्षिक २ लाख ६७ हजार पर्यटकले अवलोकन गर्ने जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सुरुङ्गाबासीको गहना हो । अनि आम्दानीको गतिलो आधार पनि हो । समूहका अध्यक्ष पर्शुराम गिरीका अनुसार जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रबाट वार्षिक ८ करोड रुपैयाँभन्दा धेरै समूहले आम्दानी गर्दै आएको छ ।
प्रसिद्ध पर्यटकीयस्थल धनुषकोटी धाम दोमुखाभन्दा पूर्वतर्फ रहेको छ । किरातेश्वर शिवालयको मन्दिर रहेको उक्त स्थानमा पर्यटकहरुको भीड लाग्ने गरेको पर्यटकीय स्थल व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर पौडेलले जनाए ।

domukha1-1

कनकाई नगरको सुरुङ्गामा अरु धार्मिक तथा ऐतिहासिकस्थल पनि छन् । कोटिहोम मन्दिर, राधाकृष्ण मन्दिर, श्रीकृष्ण प्रणामी आश्रम, कविर मन्दिर, गायत्री मन्दिर, श्रीसत्य साई भजन समूह, आर्य समाज, दुर्गादेवी मन्दिर, सर्वेश्वर महादेव मन्दिर, गोकर्णेश्वर शिव पाञ्चायन आदि सुरुङ्गाका चिनारी हुन् ।

सुरुङ्गामै उच्च शिक्षा
केही वर्ष अघिसम्म ‘डिग्री पढ्न काठमाडौं वा बिर्तामोड जाने’ भन्ने मानसिकतामा कनकाई नगरका आम विद्यार्थी हुन्थे । तर, अहिले सर्वसुलभ मूल्यमै शिक्षा आर्जन गर्ने अवसर सुरुङ्गामै उपलब्ध छ । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा स्नातकोत्तरसम्मको अध्ययन अध्यापन हुन थालेपछि आमनागरिकले आफ्ना छोराछोरीलाई महङ्गो मूल्य तिरेर अध्ययनका लागि अन्यत्र लानु पर्ने बाध्यताबाट मुक्त भएका छन् ।

कनकाई बहुमुखी क्याम्पसका प्रमुख टङ्कबहादुर कार्कीले व्यवस्थित ढङ्गले पठनपाठन हुने भएकाले अब सुरुङ्गा तथा आसपासका नागरिकको व्ययभार कम भएको बताए । ‘गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि प्रयत्न भइरहेको छ’, क्याम्पस प्रमुख कार्कीले भने – ‘ईलाइब्रेरी तथा कम्प्युटर कक्षा सञ्चालन गरी विद्यार्थीलाई दक्ष बनाउने हाम्रो अभियान हो ।’ कनकाई बहुमुखी क्याम्पसलाई आर्थिक रुपमा विपन्न नागरिकहरुको क्याम्पस बनाउन प्रयत्नरत रहेको उनले बताए । खेलकुद तथा अतिरिक्त कृयाकलापमा पनि क्याम्पस अब्बल छ ।

कनकाई उच्च माविकी प्राचार्य आशा शर्मा शिवाकोटीका अनुसार यस शैक्षिक सत्रबाट प्रवेश परिक्षा लिएर मात्रै विद्यार्थी भर्ना गरिएको जनाइन् । कनकाई उच्च माविमा सुस्तश्रवणका लागि विशेष कक्षा सञ्चालन गरिएको उनले बताइन् । सुरुङ्गामा अन्य शैक्षिक संस्था पनि अब्बल छन् । भृकुटी उच्च मावि, आदर्श उच्च मावि, चम्पापुर उच्च मावि, हरिकुल नमूना उच्च मावि, ब्राइटर फ्युचर स्कूल, सरस्वती स्कूल, फक्ताङ्लुङ स्कूल, पशुपति स्कूल, प्यारागन एकाडेमी आदि शैक्षिक संस्थाले शिक्षाको ज्योति फैलाउने कार्य गरिरहेका छन् ।

स्वास्थ्य संस्था र खेलकुद

footbal
कनकाई नगरमा स्वास्थ्य केन्द्र थपिने क्रम पनि बढेको छ । सरकारी स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी सञ्चालित छन् । त्यसैगरी, निजी क्षेत्रका मेरी गोल्ड हस्पिटल, प्रधान मेडिसियन सेन्टरलगायतका स्वास्थ्य संस्था सञ्चालित छन् ।

खेलकुदको क्षेत्रमा पनि सुरुङ्गा उदाउँदै गएको सहर हो । सर्वाधिक पुरस्कार राशीको सहारा सुरुङ्गा फुटबल प्रतियोगितामा नेपालमा उत्कृष्ट टिमको सहभागिता रहेको छ । ‘यो प्रतियोगिताले झापाका युवा खेलाडीलाई अझ सशक्त बन्न सहयोग पुर्याइरहेको छ’, आयोजक संस्था सुरुङ्गा जेसीजकी अध्यक्ष सरला दाहाल पोखरेल भन्छिन् – ‘हाम्रो उद्देश्य पनि यही हो, सुरुङ्गाले खेलकुद क्षेत्रमा फड्को मार्नेमा हामी आशावादी छौँ ।’

यसैगरी, महिला सशक्तिकरणमा पनि सुरुङ्गा अगाडि बढ्दै छ । कनकाई महिला उद्यमी व्यवसायी उपसङ्घकी अध्यक्ष कबिता बस्नेतका अनुसार उक्त क्षेत्रमा २ सय जनाभन्दा धेरै महिला व्यापार व्यवसायमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: