सामाजिक विभेदबिरुद्ध जुटौँ

  प्रकाशित मिति
३० कार्तिक २०७४, बिहीबार १२:०३


संविधानको प्रस्तावनामै उल्लेख छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधता विशेषतायुक्त देश हो । यसैको फलस्वरुप आ–आफ्नो जाति विशेष, धर्म विशेष, भाषा विशेष छुट्टै मौलिक पहिचानले सिँगारिएको नेपाली समाज यसैमा गौरवान्वित महसुस हुनु यसको सकारात्मक पक्ष हो । तर यी र यस्तै विशेषताका कारण समाजमा हुने अन्धविश्वास, कुरीति, असमानता, विभेद, शोषण आदि समतामूलक समाज निर्माण र समृद्ध समाजको बाधा र चुनौतिहरु हुन् । जुन सङ्कुचित जातीयताले निम्त्याएको एक नकारात्मक असर पनि हो । जसरी धेरै जातजातिहरुको साझा पूmलबारीको उपमा पाएको नेपाली समाज उचनिच, ठूलो जात सानो जात जस्ता सङ्कुचित सोच र भावनाले व्याप्त छ । यसैको परिणाम ऐतिहासिक कालखण्ड देखि नै जातको आधारमा अन्याय, अत्याचार र शोषणको दलदलमा तिरस्कृत र कष्टकर जीवनयापन गर्दै आइरहेको समुदाय हो–‘दलित समुदाय’।

दलित शब्दबारे विवाद पनि हुने गर्छ बेलाबखत । दलित शब्द आफैमा अर्थपूर्ण छ भन्ने ठान्छु म चाहिँ । जसको सामान्य अर्थ दलन भन्ने बुझिन्छ । दलितलाई परिभाषित गर्दा हिन्दू वर्णाश्रम व्यवस्था र वि.सं. १९१० को मुलुकी ऐन बमोजिम समाजमा पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने जातजाति भनी परिभाषित गरिएको छ ।

जातीय भेदभाव एवम् समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनीति, शैक्षिक तथा धार्मिक रुपमा राज्यको मूल प्रवाहबाट पछाडि पारिएका जातिलाई दलित वर्ग भनिएको छ । वास्तविक रुपमा अविवेकी सामाजिक दृष्टिकोण र खराब मनसाय भएका मानिसहरुले विशेष क्षमता, सीप र कलाका सर्जकहरुप्रति जातीय विभेद र छुवाछुत जस्तो जघन्य आपराधिक व्रिmयाकलाप गरी समान पहुँचबाट टाढा बनाइएको र राज्यबाट समेत जबरजस्ती शोषित गरिएको समुदाय नै दलित समुदाय हो । दलित वर्गको सुरुवात र उत्पत्तिलाई नियाल्दा समाजमा एउटा वर्गले अर्काे वर्गलाई हेपीचेपी र आफ्नै स्वार्थको लागि सीपको आधारमा वर्ग छुट्याइयो, पछि गएर स्वार्थको लागि अछुत भनी दलितमा वर्गीकृत गरियो ।

तथ्यहीन र कुनै वैज्ञानिकता नभएको यो छुवाछुत प्रथा अहमता र सङ्कीर्ण सोचको उपज हो । साँघुरो मानसिकताका कारण समग्र उत्पीडित जातिहरुले भोग्नु परेका यथार्थ कठिनाई र समस्याहरु अति नै पीडादायक छ । जसरी सार्वजनिक स्थलमा गरिने प्रवेश निषेध, दलित र गैरदलित बीचको वैवाहिक सम्बन्धप्रतिको हस्तक्षेप र आलोचनात्मक व्यवहार, कोठाभाडा प्राप्त गर्न भोग्नु परेका समस्याहरु, दलित समुदायप्रतिको आलोचित दृष्टिकोण र गरिने व्यवहार आदि जस्ता थुप्रै यो समुदायले प्रत्यक्ष रुपमा भोग्नु परेका ज्वलन्त समस्याहरु हुन् । विगतदेखि नै रहेको भेदभावको सञ्जाल र दलितमाथि हुने दुव्र्यवहारका कारण उत्पीडनमा परेको दलित समुदाय सामाजिक, राजनीतिक, आर्थिक रुपमा पछाडि परेको हो र सोको कारण अशिक्षा, कुपोषण, गरिबी, बेरोजगारी, पछौटेपन जस्ता सदस्याले ग्रसित छ । जबकी ब्लड बैङ्कमा सबैको रगत चल्छ अनि कोही रगतको लागि मर्न लागेको हुन्छ त्यो समय कुन जातिको रगत हो भनिदैन । जसको कला र मेहनतले कृषि औजार प्रयोग गरी आफू बाँचिरहेका छन् । जसको सीपले तयार भएका पोशाक लगाई आफ्नो इज्जत राखेका छन्, जसको कलाकृतिको उपज गरगहनाले सजिन्छन्, सुन्दरताको फुर्ती लगाउँछन् अनि उसैमाथि अपमान यो कतिको मानवता र व्यवहारिकता ?

हुन त कागजी रुपमा जातिय विभेदको अन्त्य भने नभएको होइन । नेपालमा कानुनी रुपमा नै वि.सं. १९१० मा जङ्गबहादुर राणाले मुलुकी ऐन मार्फत् जातिय विभेद विरुद्ध सर्वप्रथम कानुनी व्यवस्था गरेका थिए । नयाँ मुलुकी ऐन २०२० मा पनि राजा महेन्द्रले छुवाछुत गर्न नपाइने कानुन बनाएका थिए । त्यसैगरी २०४७ को संविधानले पनि सार्वजनिक स्थलमा छुवाछुत गर्न नपाइने व्यवस्था गरियो । अन्तरिम संविधानल २०६३ ले कुनै पनि प्रकारको जातीय विभेद कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा गम्भीर अपराध र सजाय ऐन जारी गरी छुवाछुत गर्नेलाई ३ वर्ष कैद वा २५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । हाल जारी नेपालको संविधान २०७२ ले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने अभियानका रुपमा पारित गर्दै नेपालमा कुनै पनि जातीय विभेद नहुने व्यवस्था गरेको छ । तर, यी सबै कानुनी व्यवस्थाहरुको कार्यान्वयन पक्षले व्यवहारिक रुपमा सफलता लिन भने नसकिरहेको अवस्था छ ।

नेपालको विभिन्न चरणको परिवर्तन र आन्दोलनमा आफ्नो निर्णायक भूमिकामा समेत प्रस्तुत भएको यो समुदाय देशको प्रमुख शक्तिमा स्थापित हुँदैछ । सीप, कला र सिर्जनाको खानी, सर्जकहरुको समुदाय हो दलित समुदाय । यसैमा हामीले गर्व गर्नुपर्छ । आफ्नो क्षमता, दक्षता, पहुँच र नेतृत्व विकासमा हामीभित्र सर्वप्रथम एकता सहकार्य हुन जरुरी छ । राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व कायम गर्न क्षमता विकासमा जोड दिन जरुरी छ । जो जातीय विभेदमा परेका उत्पीडित वर्गहरुको चेतना स्तरमा अभिवृद्धि गरी सभ्य र विभेदरहित समतामूलक समाज निर्माण गर्नु सम्पूर्ण मानव समुदायको मुख्य दायित्व हो । सम्पूर्ण मानव समाज अन्धविश्वास, कु–संस्कृति, सामाजिक विकृति विरुद्धमा गोलबद्ध बन्न आवश्यक छ । २१ औँ शताब्दीमा हामी सबै मानव समुदाय बीच सबैखाले विभेदको अन्त्य गर्न प्रण गरौँ । आ–आफ्नो धारणाबाटै, मनबाटै भेदभावको अन्त्य गरौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: