सामुदायिक पुस्तकालय र चुनौती

  प्रकाशित मिति
१५ भाद्र २०७५, शुक्रबार ०९:४९


पुस्तकालय शब्द पुस्तक र आलय (घर) दुई पद मिलेर बनेको शब्द हो, जसको सामान्य अर्थ पुस्तकहरु सङ्ग्रह गरी राखिएको घर भन्ने हुन्छ । पुस्तकालयले सूचनाको पहुँच, शैक्षिक सामग्रीहरुको उपलब्धता, विज्ञान र प्रविधिको सर्वव्यापकतालाई सबैको पहुँचसम्म पु¥याउन उल्लेख्य भूमिका निर्वाह गर्छ । साँच्चै भन्ने हो भने पुस्तकालय शिक्षा आर्जन गर्ने अनौपचारिक स्रोतकेन्द्र हो अनि विज्ञान र प्रविधिको पवित्र थलो । अक्सफोर्ड डिक्सनेरी अनुसार पुस्तकालय भन्नाले एक घर जहाँ पुस्तकहरु, सिडीहरु, पत्रपत्रिकाहरु आदि सङ्ग्रह गरी राखिएको हुन्छ, जसलाई मानिसहरुले पढ्न, अध्ययन वा लिएर जान सक्छन् ।

ऊर्जाशील व्यक्ति ज्ञानको भोको हुन्छ । मानिसमा ज्ञानआर्जन गर्ने मात्र नभई खोजमूलक अनुसन्धान गर्ने प्रवृत्ति मानिसमा रहेको हुन्छ । त्यस्ता अनुसन्धान खोजमूलक जिज्ञासालाई पुस्तकालयले पुरा गर्दछ । पुस्तकालयमा राखिएका पुस्तक अध्ययनशील व्यक्तिका लागि असल मित्र पनि हो । जसरी असल साथीले गाह्रो अप्ठ्यारो परेको समयमा खुल्ला हृदय सहित चोखो र पवित्र साथ दिन्छ । त्यस्तै पुस्तकालयले अनुसन्धानका लागि असल मित्रको भूमिका पुस्तकले निर्वाह गर्दछ । ज्ञानको महासागरमा पु‍¥याउन सहयोग गर्दछ । पाठकलाई सफल बाटोमा अघि बढ्न समेत मार्ग निर्देश गर्छ । सधैँ आत्मबल बढाउन सहयोग पु¥याउँछ । हरेक अध्ययनशील मानिसलाई सशक्त बनाउने माध्यम भनेको नै पुस्तक अनि पुस्तकालय हुन् ।

पुस्तकालयलाई जति व्यवस्थित रुपमा प्रयोग गर्न सक्यो त्यति नै विद्या आर्जन गर्न मद्दत पुग्छ । पुस्तकाललाई शैक्षिक अध्ययनको प्रयोगशालाको रुपमा लिन सक्छौँ । जहाँ उपलब्ध हुने पुस्तक, पत्रपत्रिका, श्रव्यदृश्य आदि सूचनाका आदि ज्ञानको भण्डार मार्फत आफ्नो ज्ञान र सीपको क्षेत्रलाई बढाउन तथा खोज अनुसन्धान गर्न सकिन्छ । साथै, आफ्नो ज्ञान, धारण, दृष्टिकोणको परीक्षण र त्यसलाई परिमार्जन गर्ने उचित थलोको रुपमा पनि यसलाई प्रयोग गर्न सकिने भएकोले ज्ञान आर्जनको प्रयोगशालाको रुपमा यसको महत्व रहेको छ । आफ्नो रुचि र आवश्यकता अनुसार जति पनि ज्ञान र सीप आर्जन गर्न सकिने भएकाले पनि यसको महत्व दिनानुदिन बढिरहेको छ । शोधकर्ता तथा खोजकर्ताको लागि पुस्तकालय उपयुक्त विकल्प हो । जहाँ उपलब्ध हुने पुस्तक भण्डार, इन्टरनेट आदिको माध्यमले आफ्नो शोध र खोजलाई पूर्णता दिन सक्दछन् ।

पुस्तकालयहरुमा ऐतिहासिक, समय सान्दर्भिक पुस्तक, पत्र–पत्रिकाहरुलाई वैज्ञानिक पद्धति अनुसार उचित व्यवस्थापन गरिएको हुन्छ । जसले गर्दा प्रयोग गर्न सरल र सजिलो हुन्छ । त्यसका साथै पुस्तकालय भित्रको वातावरण पनि सफा र शान्त हुने भएकाले एकाग्र भएर अध्ययन र खोज गर्न सकिन्छ । पुस्तकालयमा उपलब्ध हुने पुस्तक, इन्टनेट सुविधा, शान्त वातावरण आदिले मनोरञ्जन लिने र विश्राम गर्ने अवसर प्रदान गर्दछ । पुस्तकालयको प्रयोगकर्ता विभिन्न उमेर समूह, समुदाय, धर्म आदिका हुन्छन् । साथै, पुस्तकालय सार्वजनिक हुने भएकाले एकै समयमा धेरैले सहभागिता जनाउन सक्ने हुनाले एक आपसमा अन्तर सम्बन्ध विकास गर्न र सामाजिक वातावरण तयार गर्न मद्दत पुग्दछ । त्यस्तै, विभिन्न जाति, समुदाय र धर्मका मानिसहरु बीच अन्तरसम्बन्ध विकास भई साँस्कृतिक आदान–प्रदान हुन्छ । जसले गर्दा पुस्तकालयमा सामाजिक तथा साँस्कृतिक वातावरण निर्माण हुन्छ । यसबाट पुस्तकमा लेखिएका वा नलेखिएका विभिन्न विषयहरुको अनुभव र अनुभूतिका आधारमा ज्ञान आर्जन गर्न सकिने भएकाले पनि पुस्तकालयको महत्वलाई दर्साउँछ ।

पुस्तकालय मानिसको जीवनको क्षितिजलाई ज्ञान र किरणको माध्यमबाट आलोकित गर्ने एक सशक्त माध्यम हो । पुस्तकलाई धनभन्दा बढी महत्व दिइन्छ । पुस्तक एक यस्तो साबुन हो जसले मनमा रहेका अज्ञानरुपी मैलोलाई हटाइ ज्ञानरुपी किरणको माध्यमबाट सांसरिक धरातलमा प्रतिष्ठित गराउँछ र स्वयम्लाई समाज र राष्ट्रको प्रगति र उत्थानको लागि समर्पित गराउँछ । पुस्तक अनुरागीहरुका लागि पुस्तकालय एक स्वर्णीम र आन्दमयी स्वर्ग हो । जहाँ अथाह स्वर्णीम सुचनाहरु हुन्छन् । सायद हाम्रा पुर्खाले यही सत्यको महसुस गरेर नै पुस्तकालय, विद्यालय, विश्वविद्यालय तथा सामाजिक, साँस्कृतिक तथा धार्मिक संस्थाहरुको स्थापना गरेका हुन् ।

संसारमा किताबको इतिहास सँगैसँगै पुस्तकालयको पनि विकास भएको मानिन्छ । इपू ५०० वर्षदेखि संसारमा पुस्तकालयको प्रारम्भ भएको मानिन्छ । त्यसबेलाको समयमा सुमेरियन र मेसोपोटामियनहरुले गिलो माटोका खवटाहरुमा आफ्ना विचारहरुलाई चित्रात्मक लिपीको माध्यमबाट लेखेर घाममा सुकाएर राख्ने गर्थे । पछि उनीहरुले क्युनिफर्म लिपीको विकास गरेर त्यही लिपीको सहयोगमा माटाका खवटाहरुमा लेखेर सङ्ग्रह गर्न थाले । कालान्तरमा तिनै खवटे पुस्तक र तिनै सङ्ग्रहहरु पुस्तकालयका रुपमा विकास भए । यिनै पुस्तकालय आजका आधुनिक पुस्तकालयका प्राचीन रुप हुन् । पुस्तकालय त्यो ठाउँ हो, जहाँ विविध प्रकारका ज्ञान, सूचना, स्रोत, सेवा आदिका सङ्ग्रह भएका हुन्छन् ।

आधुनिक सार्वजनिक पुस्तकालयको विकासमा प्रजातन्त्रको महान देन रहेको छ । शिक्षाको प्रसारण एवम् जनमानसलाई सु–शिक्षित गर्ने प्रत्येक राष्ट्रको पहिलो कर्तव्यको सन्दर्भमा जुन मानिसहरु स्कुल वा कलेजमा गएर अध्ययन गर्न असमर्थ हुन्थे । सामान्य लेख पढ गर्न सक्थे । पुस्तकहरु खरिद गर्न सक्दैन्थ्ये । तर पनि साहित्यप्रतिको चाहनालाई पूर्ति गर्ने उद्देश्यले नै विश्वमा सार्वजनिक पुस्तकालयको अवधारणा विकास भएको पाइन्छ । यस्ता पुस्तकालयले आम जनमानसको मागलाई पुरा गर्न सक्षम भएका थिए ।

पुस्तकालयले देशमा चेतनाको विस्तार र समुन्नत समाज विकासमा एक स्थान ओगटेको छ । यदि समाजमा कुनै समस्या पर्यो भने हामी पुस्तकालयमा समस्याको निवारण खोज्न सक्छाँै । अझै गाउँहरुमा पुस्तकालयको धेरै नै कमी छ र अविकसित ठाउँ भनेको गाउँ नै हो । त्यसैले हामीले गाउँलै सहरमा परिवर्तन गर्नु छ भने पुस्तकालय स्थापना गर्नुपर्छ । पुस्तकालय हाम्रो जीवनलाई उज्यालो तर्फ लाने साँचो हो । पुस्तकालयले हाम्रो जीवनलाई अर्थ दिने गर्छ । यो हाम्रो राष्ट्रको विकासको अनुपम धरोहर पनि हो ।

विद्यालय पछिको ज्ञान प्रदान गर्ने र चेतनाको किरण फैलाउने कुञ्ज पुस्तकालय नै हो । समाजका सबै तह र तप्काका मानिसहरुका लागि प्रगतिका लागि आवश्यक खुराक प्रदान गर्ने र समाज र राष्ट्र परिवर्तन र संरक्षणका लागि लेखिएका विचारहरुको लिखित दस्तावेज सङ्ग्रह गर्ने थलो पुस्तकालय नै हो । राज्यले तयार पारेको साक्षरता अभियानमा प्रमुख सारथीको भूमिका निर्वाह गर्न सक्ने एक सशक्त संस्था पुस्तकालय हो । यति महत्वपूर्ण भूमिका बोकेको पुस्तकालय तर्फ राज्यले गहन चिन्तन र मनन गरेको पाइँदैन ।

पुस्तकालयका चुनौतीहरु पनि उत्तिकै छन् । आर्थिक साथै भौतिक व्यवस्थापन र उपयुक्त नीति नियमको अभाव, आधुनिक प्रविधिलाई स्थानान्तरण गर्न नसक्नु, अनुसन्धान तथा पुस्तक वा पत्रपत्रिकामा लगानी गर्नुपर्छ भन्ने सोचको अभाव, जनमानसका इच्छा र चाहना बमोजिमका सामग्रीहरु सङ्ग्रह गर्न र पुस्तकहरुलाई व्यवस्थित व्यवस्थापन गर्न नसक्नु, युवा पुस्ताहरुलाई पुस्तकालयको महत्वको बारेमा बुझाउन नसक्नु आदि पुस्तकालयको चुनौतीको रुपमा देखापरेका पाइन्छन् ।

यी चुनौतीहरुलाई चिर्नका लागि सबैभन्दा पहिले पुस्तकालयप्रति राज्यको सोचमा परिवर्तन गर्न, आर्थिक तथा व्यवस्थापन पक्षलाई सम्पूर्ण सरोकारवाला मिलेर अगाडि बढ्नु नै आजको आवश्यकता देखिएको छ । त्यसैले पुस्तकालयको प्रयोग अनिवार्य गर्नुपर्छ । प्रत्येक स्थानीय तह र प्रत्येक टोलमा पुस्तकालय स्थापनामा राज्यले जोड दिनुपर्छ । समाजका सबै जातजाति भाषा–भाषीहरुको प्रतिनिधित्व हुने किसिमका सामग्रीको व्यवस्थापन गर्नु आवश्यक छ ।

नेपालमा पुस्तकालयको इतिहास हेर्दा राणा शासनकालमा बीर पुस्तकालय खोल्ने कार्य भएपनि जनस्तरबाट पुस्तकालय खोल्ने कार्यलाई गैर कानुनी मानिन्थ्यो । वि.सं. १९८७ मा पुस्तकालय खोल्नुपर्छ भनी केही बुद्धिजीविहरु कस्सिएका थिए । उनीहरुको योजना सफल हुन दिइएन । भीम शमशेरको पालामा काठमाडौँमा पुस्तकालय खोल्ने प्रयास गर्दा लक्ष्मीप्रसाद देवकोटा, चित्तधर हृदय, धर्मराज थपलिया, बैकुण्ठप्रसाद लाकौल, तुलसीमेहर श्रेष्ठ, जितेन्द्रबहादुर शाह, शङ्करदेव पन्त, प्रेमबहादुर कंशाकार, हर्षदास तुलाधर लगायतका युवाहरुलाई राज्य विरुद्धको मुद्दा लगाएर प्रतिव्यक्ति सय रुपैयाँ जरिमाना गरी छाडिएको समेत इतिहास छ ।

यस वर्ष पनि अघिल्ला वर्ष जस्तै गरेर नेपालमा ‘समृद्ध पुस्तकालय सुदृढ समाज’ को नाराका साथ ११ औँ पुस्तकालय दिवस मनाइँदै छ । नेपालमा वि.सं. २०६५ देखि भदौ १५ लाई ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरिएको हो । अहिले आएर ‘पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका’ जारी भएको छ । योसँगै राज्यले ‘एक विद्यालय, एक पुस्तकालय’ को नीति अघि सारेको छ । काठमाडौँस्थित बसन्तपुर दरबारमा पृथ्वीनारायण शाहले सङ्ग्रह गरी राखेका विविध हस्तलिखित ग्रन्थ सामग्रीहरूलाई व्यवस्थित गर्न वि.सं. १८६९ मा गीर्वाणयुद्ध विक्रम शाहले ‘पुस्तक चिताई तहबील’ नामाकरण गरी लालमोहर जारी गरेको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै मनाउन सुरु गरिएको पुस्तकालय दिवस अहिले आएर दिवसमा मात्र सीमित हुन थालेको छ ।

एकातिर सकेजति गाउँ–गाउँमा पुस्तकाय स्थापना गर्न जरुरी छ भने अर्कोतिर भएका पुस्तकालयलाई सही व्यवस्थापन गर्दै स्तर वृद्धितर्फ पनि सोच्र्नुपर्छ । नभएका ठाउँमा पुस्तकालय स्थापना गर्नु त छदैछ, भएका पुस्तकालय पनि व्यवस्थित छैनन् । भएका पुस्तकालय व्यवस्थित गर्न नसक्नु पनि चुनौती हो । तालिमप्राप्त दक्ष जनशक्ति र नयाँ–नयाँ पुस्तकको अभावमा भएका पुस्तकालयहरुले पाठकलाई आकर्षण गर्न सकिरहेका छैनन् । सँगसँगै अब पुस्तकालयहरुको स्तरबृद्धि पनि जरुरी छ ।

पुस्तकालयको स्तरवृद्धि भनेको पुस्तक मात्र राखिएका पुस्तकालयहरुलाई सूचना प्रविधिसहितका विद्युतीय पुस्तकालय अर्थात ई–लाइब्रेरीमा रुपान्तरण गर्नु हो । सूचना प्रविधिले यति धेरै छलाङ मारिसकेको छ कि अहिले चाहेको जुनसुकै सामग्री पनि इन्टरनेटमा पढ्न पाइन्छ । तर, हाम्रा पुस्तकालयहरुमा त्यस्तो सुविधा खासै छैन । पुस्तकका साथै इन्टरनेटको पनि व्यवस्था गर्न सकेमा र यो सामग्री यसमा पाइन्छ भन्ने जानकारी पाठकलाई दिन सकेमा नयाँ–नयाँ सामग्री अध्ययनका लागि पाठकहरुलाई सजिलो हुनेछ र पुस्तकालयप्रति आकर्षण पनि बढ्ने छ । तर, अहिले जीवनपर्यन्त शिक्षासँग जोडिएको औपचारिक एवम् अनौपचारिक माध्यमहरुलाई पुनःजीवित तुल्याउनुपर्ने अनिवार्यता हाम्रासामु चुनौती र अवसरका पहाड बनेर उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: