सार्थक भयो बैसाख २९

  प्रकाशित मिति
५ जेष्ठ २०७५, शनिबार ०९:२५



२०७५ बैसाख २९ गतेको दिनलाई मैले सार्थक रुपमा व्यतित गरेको दिन ठानेको छु । यस दिन मैले लामै समयदेखिको मेरो सपना पुरा गर्ने मौका पाएँ । नेपाली साहित्यका एक नक्षत्र, महानन्द सापकोटा मेरा निमित्त एक आदर्श व्यक्तित्व हुनुहुन्छ । महानन्द सापकोटालाई भाषाशास्त्री भन्न उपयुक्त हुन्छ कि हुन्न त्यो भाषाशास्त्रीहरुले नै निरुपण गर्लान् ! आफूलाई ‘एक मात्र’ भाषाशास्त्री मानेर २०२६ सालमा ‘एक मात्र’ शीर्षकमा निबन्ध लेख्ने बालकृष्ण पोखरेल के भन्नुहुन्छ ? उहाँ नै भन्नु होला, तर उहाँले महानन्द सापकोटालाई ‘गुरु’ भनेर सम्बोधन गरेको र शब्दको व्युत्पति वारेमा उहाँहरुमा बहस भएको भने मलाई थाहा छ । ‘नेपाली निर्वचनको रुपरेखा’ लेखेर मदन पुरस्कार प्राप्त गर्ने, जनजिब्रोले बोल्ने नेपाली शब्दकोश तयार गर्ने महानन्दले आफूलाई भाषाशास्त्रीमा दरेको कुरा म भने मान्छु । महानन्द सापकोटा भाषाशास्त्री मात्र होइन, सामाजिक र राजनीतिक आन्दोलनमा पनि कम्मर कसेर लागेका अभियन्ता हुनुहुन्थ्यो ।

साहित्यिक आन्दोलनमा दार्जीलिङका धरणीधर शर्मा, हरिनारायण प्रधानलाई आदर्श व्यक्ति मान्ने उहाँ राजनीतिक आन्दोलनमा महात्मा गान्धीलाई, सामाजिक आन्दोलनमा ज्ञान दिललाई आदर्श मान्नुहुन्थ्यो ।

राजनीतिक आन्दोलनमा लागेर झापा–इलामको स्वायत्त सरकारको शिक्षामन्त्री हुनुभएको उहाँले यस क्षेत्रमा सयौं विद्यालयको स्थापनामा सव्रिmय भएर शिक्षामा फड्को मार्न ठूलो योगदान गर्नुभयो । नेपालको पूर्व क्षेत्रमा शिक्षाको क्षेत्रमा अभियान चलाउने प्रसङ्गमा कुरा गर्ने हो भने त महानन्दको तुलनामा अर्को को आउला ?

राणाशासन कालमै वि.सं.१९९४ मा धनकुटामा विद्यालय स्थापना गर्ने व्यक्ति, वि.सं.१९९६ मा धरानमा पब्लिक स्कुल जस्ता, शारदा स्कुल जस्ता स्कुल स्थापनामा अगुवाइ गर्ने व्यक्ति उहाँ अशिक्षाका विरुद्ध अथक सङ्घर्षरत व्यक्ति हुनुहुन्थ्यो । अझ वि.सं. १९९८ मा चैनपुर पनि पुगेर शिक्षा विकासमा लाग्नु भएका व्यक्तिको त्यो उत्साह कति स्तुत्य छ !
इरौंटार, देवानछापमा जन्मेको मान्छे यतायतै आसाममा बढेको, आसाम र दार्जीलिङमा गरेर दस कक्षासम्म पढेको मान्छे, नेपालका पहाड पहाड चाहार्दै शिक्षाको घण्टी बजाउँदै हिड्नु केको मात होला ! केको नसा होला ! नेपाली न ब्यूँझे, नेपाली नजागे नेपालीको उन्नति हुन्न, बिकास हुँदैन भनेर नेपालीको उन्नति र प्रगतिका लागि जहान छोराछोरी, परिवारको ख्याल नगरी लाग्नुभयो ।

राणाशासन जातीय बिभेदको कवच थियो । शिक्षालय–विद्यालयमा अछुतको प्रवेश निषेध थियो । तर उहाँ आफूले स्थापना गरेका विद्यालयमा कक्षामा राखेर कामी दमाईंका छोराछोरीलाई पढाउनु हुन्थ्यो । तत्कालीन राणा सरकारले उहाँलाई कक्षामा अछुतलाई नराख्नू भनेर निर्देशन पठाउँथे, तर उहाँ “म अछुतका घरमा बस्छु, उनीहरुले पकाएको खान्छु, उनीहरुलाई कक्षामा राखेर पढाउँछु !” भनेर जवाफ पठाउनुहुन्थ्यो ।

उहाँलाई स्कुलबाट निकालिन्थ्यो, अर्को ठाउँमा गएर विद्यालय स्थापना गर्नपट्टि लाग्नुहुन्थ्यो । यसरी राणाहरुका बर्खिलापमा ज्यूँदो भएर लाग्नु त्यस बेला कम साहसको कुरा थिएन । उहाँले पढाएका हिरालाल विश्वकर्मा, टीआर विश्वकर्मा, जवाहर रोका यस मुलुकका ठुला विद्वान तथा नेता पनि भए । उहाँको त्यति बेलाको यो जातीय बिभेद विरुद्धको सङ्घर्षका वारेमा जवाहर रोकाले, टिआर विश्वकर्माले लेखेका पनि छन् ।

वि.सं.२००३÷०४ सालतिर धरानमा हैजा फैलिएर भकाभक मान्छेहरु मर्दा मरेका लास जलाउने–गाड्ने मान्छे नै नभएर लास कुहिने स्थिति थियो । अझ निम्न जातिका मान्छेका लास त कसैले नछोएर बिजोक थियो । त्यस्ता बेलामा छविलाल पोखरेल, महानन्द सापकोटा आदि मिली स्वयंसेवक टोली बनाएर त्यस्ता अभर परेका लासहरु तह लाउने काम पनि गर्नुभयो ।

नेपालको साहित्यिक इतिहासमा २००९ सालको कर्फोकको साहित्यिक सम्मेलन ऐतिहासिक छ । त्यहीं एकेडेमी स्थापना गर्ने लक्ष्यले महानन्द सापकोटाले योजना बनाएर लाग्नु पनि भयो । ‘नेपाली भाषा प्रचारक सङ्घ’ गठन गरेर नेपालभरि भाषाको प्रचार गर्ने, पुस्तकालय खोल्ने र पुस्तकालयमा नेपाली पुस्तकहरुले भर्ने योजना गरेर त्यस आन्दोलनमा लागेर देशका बिभिन्न स्थानमा अनेक पुस्तकालय पनि खोल्नुभयो ।

यसरी हर क्षेत्रमा आफ्नो जीवनलाई यायावरी पारामा ज्यूँदो आन्दोलनकारी बनाई राख्ने महानन्दले २००७ को व्रmान्तिमा त झापा इलाममा साङ्गठनिक रुपमै काङ्ग्रेसको झण्डामुनि रहेर अहोरात्र लाग्नु भएको थियो । त्यसैको परिणाम यस क्षेत्रको स्वायत्त सरकारमा उहाँले ९ महिना शिक्षामन्त्री भएर धेरै काम गर्न भ्याउनु भयो ।

यस्ता महत्त्वपूर्ण व्यक्तित्वको जन्मथलो यही शान्तिनगरसँग जोडिएको साविक इरौंटार गाबिस, हाल रोङ गाउँपालिका वाड नं.५ देवानछापमा पुग्ने धोको, हुट्हुटी मेरा मनभित्र थियो । त्यही धोको मैले यो बैसाख २९ गते पुरा गर्न पाएर कृतकृत्य भएँ । यही बैसाखको पहिलो सप्ताहतिर हुनुपर्छ महानन्द स्मृति प्रतिष्ठानका महासचिव सोमनाथ पौडेलले मलाई फोन गरेर बैसाख २८ गतेका लागि प्रमुख अतिथिको रुपमा उपस्थित हुन आग्रह गर्नुभयो । कम्मर दुख्ने विमारले अलिक थलिएको अवस्था छ मेरो । तर ‘औषधी उपचार लाग्ला ! म सकुँला !’ भनेर मैले स्वीकार गरें । पछिबाट उहाँको फोनबाटै त्यो तिथि १ दिन अघि र फेरि १ दिनपछि सार्दै २९ गतेलाई एकिन गरियो । मेरो विमार भने जाति भएन ।

दुई–तीन वर्षअघि मलाई निमन्त्रणा हुँदा घरायसी कारणले जान सकिन र कतिपल्ट त कार्यव्रmमको जानकारी पनि प्राप्त भएन । अब व्रmमशः शारीरिक सबलता घट्तै जाने नै हो । त्यसैले जसरीतसरी घुँडोमुन्टो गरेर जानुपर्छ, भाषाशास्त्री महानन्द सापकोटाको सालिकमा शिर राखेर श्रद्धाञ्जलि व्यक्त गर्नु पर्छ, त्यो तीर्थको फल बुक्याउनै पर्छ भनेर म एकनिष्ठ रुपमा निमग्न भैरहें ।

२९ गतेको दिन आयो । मैले मेरो कम्मरलाई गज्जबको पेटी कसेर थुम्थुम्याउँदै भुट्भुटे चढें । धुलाबारीमाथि मङ्गलबारेदेखि टिमाई पारिसम्म त म मज्जैले थतर्किएँ । त्यसपछि भुट्भुटेको बेगलाई अधिनमा राख्तै मैले गढीगाउँ काटेर नयाँ पिच भेटें । त्यो पिच पनि पार गरें र महासचिव सोमनाथजीले भन्नुभए अनुसार अलिक अगाडि बढेर दोबाटो छुटिने जस्तो देखेपछि मैले त्यहाँ छिमेकीलाई बाटो वारे सोधें । त्यहाँबाट अझै अलिक माथि ‘पाउलो चोक’ भन्ने ठाउँ पुग्नु पर्ने र त्यहाँबाट बाटो दायाँतिर लाग्ने जवाफ पाएँ । मलाई त्यहीं पुग्न भनिएको थियो । त्यहाँबाट मलाई गाडीमा लैजाने कुरा थियो ।

ठुटेवर छेउको ‘पाउलो चोक’मा पुगेर छेउको भट्टराईंको पसल छेउमा मैले आफ्नो भुट्भुटेलाई थन्क्याएँ । त्यतिबेला त्यही १०.१५ बजेको थियो होला । म त्यहाँ पुगेको करिब १० मिनट जतिमा महानन्द स्मृति प्रतिष्ठानका सदस्य नारायण अधिकारी आइपुग्नु भयो । उहाँले मलाई लैजाने ऐभारा लिनु भयो । लगभग पन्ध्र–बिस मिनेटमा गाडी आइपुग्यो र हाम्रो त्यति बेलासम्म त्यहाँ जम्मा भएको टोलीलाई लिएर गाडी प्रस्थान ग¥यो । जाँदाजाँदै देवानछाप मुनि भञ्ज्याङ पुग्दादेखि म मोहित भएँ । बाफ रे ! पूर्वतिर निन्दा, मेची हुँदै जिर्मले, श्रीअन्तु देखिने, दक्षिणतिर चारआली, चन्द्रगढी देखिने, उत्तरतिर इरौंटारा, नाकखोपा, हर्कटे, पाथिभरा देखिने, पश्चिमतिर शान्तिनगर, बर्ने, बुधबारे देखिने कस्तो प्राकृतिक रुपमा उत्कृष्ट स्थानमा अवस्थित रहेछ देवानछाप ! यो स्वयं एउटा रमिते डाँडो (भ्यू–टावर) रहेछ ।

ठिक १२.३० बजेतिर कार्यव्रmम सुरु भयो । महानन्द स्मृति प्रतिष्ठानका अध्यक्ष मेरा पुराना मित्र बृहस्पति खतिवडाको अध्यक्षतामा । महासचिव सोमनाथ पौडेल र सदस्य नारायण अधिकारीले संयुक्त रुपमा सञ्चालन गर्नुभएको र सदस्य दीपक गौतमले स्वागत गर्नुभएको कार्यव्रmममा मलाई प्रमुख अतिथि पारेर बसाइयो भने विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य माननीय काजिमान कागते, पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारी, रोङ गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष युवराज राई, बुद्धशान्ति–६ का वडाअध्यक्ष शम्भु पौडेललाई आसन ग्रहण गराइयो ।

प्रतिष्ठानका पूर्व अध्यक्ष माधव खतिवडा, कविहरु मुनाराज सेर्मा, टङ्क विकल्प, मीरा काफ्ले पोखरेल, शिक्षासेवीहरु गणेश निरौला, जय भण्डारी, समाजसेवी अर्जुन कार्की, बलबहादुर भण्डारी, पुरन राई, घनश्याम थापा, विजय राई, जग्गादाताहरु कर्णबहादुर सुनुवार, लछिमा सुब्बा, विष्णुलाल गौतम, वासुदेव गौतम, रुद्रबहादुर राना लगायतलाई आसन ग्रहण गराइएको यो कार्यव्रmममा २०० भन्दा बढीको उपस्थिति रहेको थियो । प्रतियोगितात्मक नृत्य, कविता वाचन, मन्तव्य आदिसहित भव्यतापूर्वक कार्यव्रmम साढे चार बजेतिर सम्पन्न भयो ।

यदि सरकारका तर्फबाट बाटो कमसेकम राम्रो ग्राभेल गरेर त्यहाँसम्म पु¥याई दिने हो भने त्यो स्थान पर्यटकीय, वनभोजको थलो पनि बन्न सक्ने रहेछ । यो देवानछाप भाषाशास्त्रीको जन्मस्थान र साहित्यकारहरुको तीर्थस्थल भएकाले त्यहाँ एउटा महानन्द सङ्ग्रहालय र एउटा सभाकक्ष बनाएर त्यस स्थानको कदर गरिने हो भने त्यहाँका वासिन्दाको जीवन स्तर उकास्न ठूलो मद्दत पुग्ने प्रष्ट बुझिन्थ्यो ।

यस्तो महत्त्वको र प्राकृतिक सुन्दरताले भरिपूर्ण भाषाशास्त्री महानन्द सापकोटाको जन्म स्थानमा पुग्ने मेरो सपना, हुट्हुटी भएकोमा आज श्रद्धेय महानन्दकै १२२ औं जन्मजयन्तीको दिन प्रमुख अतिथिको रुपमा पुगेर मनाउन पाउँदा मैले आजको दिनलाई सार्थक भएको र गौरव प्राप्त भएको बोध गरेको छु । यो स्थानको महत्त्व बढ्दै जाओस्, छिटो विकासको गति बढोस् भन्ने कामना गर्दछु ! म आजको दिनलाई सायदै कहिल्यै भुल्छु होला । कार्यव्रmमका आयोजकज्यूहरुलाई हार्दिक आभार व्यक्त गर्छु र आगामी कार्यव्रmम थाहा मात्र पाएँ भने पनि श्रद्धेय महानन्दको सालिकमा फूल चढाउन आउने छु । ती बिभूति महानन्द सापकोटामा अझै एकपल्ट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।

मेरो त यो बैसाख २९ गते सार्थक रुपमा समापन भएको छ तर देशको दिन भने छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको भ्रमण गरेर भारत फर्किंदा धेरै प्रश्नहरु असरल्ल बिस्कुन लगाइ दिएर फर्केका छन् । त्यसैले यो २९ गते जति सार्थक मेरो निमित्त रह्यो देशका निमित्त भने त्यति सार्थक पक्कै रहेन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: