सार्वजनिक गाडी चलाउन महासंघ सहमत

  प्रकाशित मिति
३ श्रावण २०७७, शनिबार २०:५८


मेचीनगर । सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन् ।

केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो ।

यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका थिए । तर शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बोधन गरेको भन्दै यातायात व्यवसायीहरुले बताएका छन् ।

बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बाधेन भएकाले सार्वजनिक सवारी चलाउन अब सहज अवस्था बनेको महासंघका महासचिव सिटौलाले बताए

अब मौद्रिक नीतिले गरेका व्यवस्थाबारे थप स्पष्ट हुँदै थन्किएका बसहरु चलाउन तयारी पनि सँगसँगै गरिने व्यवसायीले बताएका छन् । महासचिव सिटौलाले २÷३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने बताए ।

‘यात्रुलाई हात धुने व्यवस्था कहाँ–कहाँ कसरी गराउने र यात्रुको भिड हुन नदिन बस स्टपहरुको व्यवस्थापन कसरी गर्ने भन्ने लगायतका विषयमा यातायात व्यवस्था विभागले स्पष्ट गरेपछि हामी सवारी चलाउँछौं,’ उनले भने ।

सरकारले सार्वजनिक सवारीमा एउटा पंक्तिको एउटा सिटमा एक यात्रु मात्रै बस्ने मापदण्ड तोकेको छ । सरकारले यसरी सवारी चलाउँदा घाटा हुन नदिन यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था पनि गरेको छ ।

तर अझै मापदण्डबारे थप स्पष्ट गर्न जरुरी रहेको महासचिव सिटौलाले बताए । कोरोना समुदायमा फैलिएर सार्वजनिक यातायातलाई अपजस नआउने गरी स्वास्थ्य मापदण्ड बन्नुपर्ने र सबैको जिम्मेवारी स्पष्ट गर्नुपर्ने उनले बताए ।

सहज वातावरण बने साउन ७ गतेबाट लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने व्यवसायीहरुको तर्क छ । यद्यपि सरकारले यसबारे केही भनेको छैन ।

यातायात व्यवस्था विभागले भने सार्वजनिक सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनाएर अघि बढ्ने बताएको छ । सवारी सञ्चालन गर्दा कुन जिम्मेवारी कुन निकायले लिने भन्ने स्पष्ट गरेर अघि बढ्ने विभागको योजना छ ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: