साल्दाइसँग झापामा बिताएका पलहरू

  प्रकाशित मिति
३० श्रावण २०७३, आईतवार १०:१६


JP 3
जयप्रकाश आनन्द

भूविक्रम नेम्बाङ बिमारी हुनु भा’को सानो समाचार यौटा अखवारमा पढेर सुमेरू अस्पताल खोजेँ । त्यस दिन भेट्न सकिन । तत्पश्चात साढे तीन महिना पछि काठमाडौँ गएको थिएँ । भर्खरैको साउनको २२ गते, शनिवार सुमेरू अस्पताल भेटेँ तर भूबिक्रम नेम्बाङलाई भेटिन । डिस्चार्ज भैसक्नु भएको थाहा पाए । भेट नभए पनि खुशी लाग्यो । डिस्चार्जको अर्थ राम्रो भै घर फर्किनु भयो होला, निश्चिन्त भै भेटौला भन्ठानेको थिएँ । आइतवार दिनभरि यात्रामा थिएँ, उहाँले अर्कै बाटो लिनु भयो । हाम्रो प्यारो, श्रद्धेय साइल्दाइ रहनु भएन । झापाको बाटो भै जानु भयो ।

मैले साइल्दाइलाई तपाईको जीवनी तयार पार्छु भनेको थिए । लजाउँदै भन्नु भो–जेपी कोइ माने धत् जीवनी सिवनीको के काम ? मैले पत्रकार मित्र सिताराम बरालसँग सल्लाह गरेको थिएँ । रामराजा प्रसाद सिंहको जीवनी लेखेपछि सीतारामजी भीम बहादुर तामाङको जीवनी तयार गर्ने जमर्को गर्नु भयो । अकस्मात भीम बहादुरजी बित्नु भो । यो धोको मेट्न भूविक्रम नेम्बाङको जीवनी लेखन एक सत्कार्य र भावी पुस्तामा इतिहास अध्ययनको स्थानान्तरण हुन्छ भन्ठानेर यो सल्लाह गरिएको थियो । खै अब उहाँको अनुपस्थितिमा के हुन्छ र ? क्रान्तिकारीहरूको साँचो कथा लेख्ने इच्छा रहन्छ सीताराम बरालको ।

… … …

लामो प्रवास पछि जनमत सङ्ग्रह ताकाको आममाफी पाई साल्दाई नेपाल फर्कनु भयो । जनमत सङ्ग्रहमा बहुदलको हार भयो । सर्वत्र खिन्नता थियो ।

बि.सं.२०१८ सालपछि पहिलो चोटी तामझामका साथ साल्दाई पाँचथरको सारताप जाने निधो गर्नु भो । म पनि बिराटनगरबाट गई समावेश भए पैदलको सारताप यात्रामा । डब्बल सुब्बाका साईलो छोरा भूबिक्रम, डब्बल सुब्बाका वारेमा सबैले भन्थे–यिनी झापाका शनिश्चरेबाट पाँचथरको सारताप उकालो उक्लिदाँ अरूको जग्गामा खुट्टा राख्दैथे । ईलामबाट त्यता लाग्दा सयौपटक सोध्ने गर्थे–साल्दाई यतिखेर तपाईको खुट्टा परेको यो ठाम कस्को जग्गा हो । साल्दाई हाँसीहाँसी भन्नु हुन्थ्यो–‘हैन यत्रो दुःखको लडाई उही पुरानो दिनलाई कायमै राख्नलाई गरिएको हो र ?’

jp 1
भूविक्रमसँग लेखक

इलाम बजारमा एक जना मोटो मारवाडीलाई चिनाउँदै मलाई भन्नु भो–ए जेपी ! यिनलाई हेर, यो मारवाडी मेरो बिहेमा यत्रो पहाडको ठाँउमा जन्ति गएका हुन् ।

पोहोर साल जनजातिहरूको एक कार्यक्रममा भेट भयो । घाम ताप्दै कुराकानी थाल्नु भयो । मलाई सोध्नु भो–हैन जेपी, म त महन्थजी बाहेक अरू मधेसी नेतालाई चिन्दिन । यिनीहरू कतिका इमान्दार छन् ?’ किन भनी मैले सोद्धा भन्नु भयो–‘अब त पहिचान सहितको सङ्घीयता लागू गराउने शक्ति मधेसमा मात्र छ । दोस्रो संविधानसभा पछि त जनजातिहरू कमजोर भएका छन् । अब त संविधानसभामा जनजातिलाई मधेसीको मात्र साथ भए छ । त्यसैले भनेको !’ मैले जवाफ दिए–आशा गरौँ, साल्दाई ! राम्रै होला । त्यस कार्यक्रममा उहाँले सोही आशयमा बोल्नु भयो । अब मधेसी नेताहरूले उहाँलाई परीक्षा दिनु पर्दैन । बाँकी हामीले भोग्ने त हो !

त्यसपछि म, साल्दाई चक्रजी, चक्र बाँस्तोलालाई हेर्न गयौ । चक्रजी अर्थात निरन्तरको अचेतावस्थामा रहनु भएको दुई बर्ष नाघ्दै थियो ।
चक्रजी जीवित तर निरन्तर अचेत नै हुनुहुन्छ आज पनि । तर, भूबिक्रम नेम्बाङ साल्दाई आज सारा चेतनालाई सुशुप्त, घरी चेत, घरी अचेत पार्दै जानु भयो । साल्दाई ! तपाईलाई शान्ति मिलोस् ! हार्दिक श्रद्धाञ्जलि छ !

… … …

बहुदल धेरै टाढाको गन्तव्य थियो । सत्ता त त्यसपछि डाँडा पारीको जून जस्तै । कविको कल्पना झैँ ! बिराटनगरमा एक जना शुभ चिन्तकले निःशुल्क उपलब्ध गराई दिएको जीपबाट हामी बिर्तामोड ओर्लेका थियौँ । मोटो बाक्लो कपडाको हुड भएको जीपले साउनको झरीमा रूझ्नुसम्म रूझेका थियौँ हामी । आजका सर्वशक्तिमान शेर बहादुर देउवा काम्न थाल्नु भएको थियो–तेज गतिमा हुईकेको जीप र बर्खाको झरीले निथ्रुक्कै भिजेर । दिल बहादुर घर्ति र म लगायत अरू दुई जना थियौँ, शेर बहादुर देउवासँगै । हामी, खासगरी शेर बहादुर देउवा भूबिक्रम नेम्वाङलाई भेट्न धुलावारी पुग्नेगरी बिराटनगरबाट उता लागेका थियौँ ।

संक्षेपमा, २ जना बिर्ता बजारमा रामबाबू प्रसाईकोमा राति बास बस्ने कुरा फोनमा खनुपरूदे राम बाबूलाई खबर थियो । बाँकी धुलावारीमा साइल्दाई भूबिक्रमकोमा बस्ने निधो भएको थियो । तर, मौसमको प्रतिकूलताले गर्दा हामी सबै जना रामबाबूकोमा पुगेका थियौँ ।

रामबाबू हाम्रो सानो जत्था हेरेर हतप्रभ झँै हुनु भएको थियो । सामान्य स्वागत पछि थोरै पनि दुविधा न मानेर सबैका सामु नै भन्नु भयो–यहाँ म कहाँ शेर बहादुर जी बाहेक कोई दुई जना मात्र बस्ने व्यवस्था हुन्छ । शेर बहादुर जी र अरू ढिलै भए पनि उतै धुलावारी नै जानु पर्छ ।’ ठिकै छ, उसो भए शेर बहादुर जी र थप एक जना यही बस्ने र हामी अरू बिर्तामै अन्त कतै बसौला हुन्न र ?–मेरो सुझाव थियो । स्वभावतः खनुपरूदे रामबाबूले मान्नु भएन ।

रामबाबू बडो स्पष्टवादी र लाईलपट नजान्ने खाले हो । उहाँको त्यस बेलाको नाईनास्तीमा शेर बहादुर जी र हामी कसैका प्रति अनादर वा अतिथि सत्कारको भाव नभएको एकदमै होइन । बरू उहाँले भन्नु भो–हेर्नुस् म कहाँ शेर बहादुर जी नै बस्ने खबर आएको भए उहाँको तहको, उहाँ सुहाउँदो व्यवस्था गर्ने थिए । मैले त अरूको लागि सामान्य खाले व्यवस्था मात्र गरेको हुँ । अब यस्तोमा शेर बहादुर जीलाई राख्नु पर्यो भने म तृप्त हुन सक्दिन । त्यसो त म गर्नै सक्दिन ।

शेर बहादुर जी छक्क पर्नु भएको थियो । म अचम्भित र अनपेक्षित थिइन । रामबाबू प्रसाई बडो धनी बाबूको समाजवादी र आदर्श व्यवहार अपनाएको छोरा । सिलिगुडीमा उहाँको घर थियो । घरको नाम राख्नु भएको थियो–भानेबासा, सोधीखोजी गर्नेले थाहा पाउँथे । भानेबासा भनेको भारत–नेपाल बासा हो भनेर ! नेपाली काङ्ग्रेसले सशस्त्र कारवाही चालेको बेला गिरिजा बाबूले रामबाबूलाई केही हतियार राख्न दिनु भएको थियो । रामबाबूले यौटा खाटमा मोटो डबल डसना मुन्तिर सबै हतियार ओछ्याएर राख्नु भएको थियो । गिरिजा बाबू २÷४ रात सोही ओछ्यानमा सुतेर जानु भएको थियो ।

JP 2
चक्र वाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्दै भूविक्रम

इन्दिरा गान्धीको बेलाको कुरो हो । भारतमा इमर्जेन्सी लागू थियो । पश्चिम बङ्गाल पुलिसले रामबाबूको सोही निवासमा छापा मार्यो । बङ्गाल पुलिसको सामान्य खाले खोजीनीति थियो, अलिक देखावटी खाले । एकजना अफिसरले आफू भन्दा ठूलो अफिसरको सामुन्ने कडकेर सोधे छन्–रामबाबू ल भन्नोस् हातहतियार कहाँ छ ? रामबाबू पटक्कै संकोच नमानेर गिरिजा बाबूले हतियार राख्नु भएको त्यो डसना पल्टाएर देखाउँदै भन्नु भो–लु यहाँ छ । गिरिजा बाबूले राखेर जानु भा हो । यस्तो खरो, झुठो नबोल्ने वा अरू के के खाले हो रामबाबू । मैले यी सब बुझेर कुरो टुङ्ग्याए, ल शेर बहादुर दाई र दिल बहादुर जी राति नै भए पनि भूबिक्रम नेम्वाङ साइल्दाईकोमा धुलावारी जाने । हामी दुई भाइ मात्र यहाँ बस्ने ।

बिहान हामी धुलावारी पुग्यौँ । एघार बजे राति भूबिक्रम नेम्वाङ साइल्दाईले बडो कुलीनताका साथ, भव्य परिकार अनि सुरापान सहित शेर बहादुर जीलाई खानपान गराएर आरामको व्यवस्था मिलाउनु भयो । मैले रातिको सबै कथा भूबिक्रम नेम्वाङ साइल्दाईलाई सुनाए । ठूलो, मोटो लिम्बू शरीर हाँसोले थुलथुल हसाउँदै साइल्दाईले शेर बहादुर जी तर्फ उन्मुख हँुदै भन्नु भयो–राति शेर बहादुरले बहुरङ्गी काङ्ग्रेसको एक जना नेता भेट्नु भयो !

भूबिक्रम नेम्वाङ साइल्दाई बित्नु भएको तिन दिनमा लिम्बू विधि विधान अनुसार उहाँको क्रियाकर्म सकियो होला । आधी रातमा शेर बहादुर जीलाई न्यानो आतिथ्य दिनु हुने भूबिक्रमको सम्मान र सम्झनामा नेपाली काङ्ग्रेसले एक पलाको लागि पनि चारतारे झण्डा झुकाएन । अहिलेसम्म कुनै शोक कार्यक्रम गरेको छैन । त्यो, उ बेलाको शेर बहादुर जी यस बेला नेपाली काङ्ग्रेसको केन्द्रीय सभापति हुनुहुन्छ !

(तराई मधेस राष्ट्रिय अभियानका अध्यक्ष रहेका लेखक नेपाली काङ्ग्रेसका पूर्व नेता पनि हुन् ।)

(२०७३ साउन ३० गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: