झापा, ३० चैत । नइ प्रकाशनले आआफ्ना क्षेत्रमा समर्पित भई ख्याति आर्जन गरेका देश विदेशका नौ महानुभावलाई २०७२ सालका विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
पुरस्कृत हुनेमा झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी समेत रहेका छन् ।
पाँच दशकदेखि निरन्तर कलम चलाइरहेका काजीलाई नइ भाजप पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशी ५० हजार रुपैयाँको छ ।
सो अनुसार नइ भूपालदुर्गा पुरस्कार संस्कृतिविद् प्रा डा प्रेम खत्री, नइ चन्द्रधन पुरस्कार भारत, काशी ललिताघाट क्षेत्रका प्रमुख स्वामी ओमकारानन्द गिरी, नइ कीर्तिनिधि पुरस्कार चिन्तक यज्ञप्रसाद आचार्य, नइ ईश्वर बराल पुरस्कार समालोचक प्रा राजेन्द्र सुवेदी र नइ रेखा पुरस्कार साहित्यकार प्रा डा गार्गी शर्माले पाउनुहुने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले बताउनुभयो ।
प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको प्रकाशनको पूर्ण बैठकले नइ गणेशदुर्गा पुरस्कार सिक्किम विश्वविद्यालयका प्रा डा पुष्प शर्मा, नइ कोइलीदेवी पुरस्कार गायिका ज्ञानु राणा र नइ रामलक्ष्मी पुरस्कार तेस्रोलिङ्गी सुमन महर्जनलाई प्रदान गरिने निर्णय पनि गरेको छ ।
जनही रु पचास हजारका ती पुरस्कार वैशाख ३० गते समर्पण गरिने कार्यक्रम छ । सोही दिन प्रकाशनले शताब्दी पुरूष सत्यमोहन जोशीको ९६ औंँ जन्मोत्सव पनि मनाउने निर्णय गरेको जनाइएको छ ।