झापा । साहित्यकार तथा पत्रकार डिल्लीराम निर्भिकको आज ७८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित स्वाभिमानी तथा देशभक्त पत्रकार निर्भिकको बिजुली बजारस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए ।
विसं १९९५ माघ २ गते शान्तिपुर इलाममा उनको जन्मभएको थियो । उनले पहिलो पटक २०१६ सालमा शानिश्चरे मावि झापा ‘उषा’ मुखपत्रबा साहित्य यात्रा सुरु भएको थियो ।
त्यस्तै, २०२२ सालदेखि पत्रकारिता सुरु भएको थियो । विसं २०३१ मा प्रहरी ज्यादती विरुद्ध समाचार लेख्दा पत्रकार निर्भिक जेल समेत जानुभएको थियो । मेचीमा सीमा अतिक्रमण विरुद्ध निकै कडा रुपमा साहित्य तथा पत्रकारितामार्फत उनले कलम चलाएका हुन् ।
प्रेस काउन्सिल नेपालका दुई कार्यकाल सदस्य, नेपाल पत्रकार महासङ्घको सदस्य, नेपाल प्रेस इन्टिच्युटलगायत थुप्रै सञ्चारसम्बन्धी सङ्घ संस्थामा आबद्ध भएर काम गरे । राष्ट्रिय समाचार समिति, गोरखापत्र दैनिकको प्रतिनिधि भएर समेत उनले झापाबाट काम गरेका थिए ।
पत्रकार निर्भिकले २०२९ सालमा सिद्धार्थ नामक अर्ध साप्ताहिक, २०३९ हिजोआज साप्ताहिक झापाबाट प्रकाशन गर्दै आएका थिए ।
पत्रकारिताको सिलसिलामा उनले अमेरिका, बेलायत, फ्रान्स, क्यानाडा, भारत, चीनलगायत थुप्रै देशका भ्रमण समेत गरे ।
उनका श्रीमती पार्वती कर्माचार्य, छोराहरु अर्पण शर्मा र डा अञ्जन शर्मा छन् । उनको बुधबारै पशुपति आर्यघाटनमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको साहित्कार लेकालीले जानकारी दिए ।