साहित्यमा झापा विद्रोह ः रगतले लेखिएको इतिहास नभुल्न खबरदारी

  प्रकाशित मिति
२० फाल्गुन २०७६, मंगलवार १७:५३


अम्बिका भण्डारी
झापा । ‘दुईदुईवटा एक्सन भइसकेको र अब एक्सन गरिने सामन्तहरुको सूचीको हल्लाले झापा जिल्ला त हल्लिएको थियो थियो, देश नै एक प्रकारले थर्कमान थियो । ‘सामन्तलाई नगिँडे सैनिकसँग नभिडे आउँदैन है जनवाद छमछम् नाचेर’ भन्दै खुकुरी बोकेर निस्कनेको पनि हविगत हुँदैथ्यो । जङ्गल मासिदै गएको बेलाको बाघको जस्तो सेल्टरहरु खुल्दैथे । यो अप्ठेरो बेलामा तालिमप्राप्त कुकुरहरुका सहायताले पुलिसहरु नक्सलाइट खोज्ने कामलाई तीब्रता दिदैँथे ।’
‘झापा विद्रोह’को ऐतिहासिक घटनामा केन्द्रित रहेर आख्यानकार पुण्यप्रसाद खरेलले आफ्नो उपन्यास ‘झापाली गर्जन’को दशौं अध्यायमा लेख्नुभएको एउटा अनुच्छेद हो यो । उनले ‘झापा विद्रोह’ र त्यसक्रममा भएका घटनालाई पात्रको नाम बदलेर पुस्तकमा दुरुस्तै उतारेका छन् । हत्या गरिएका एकजना क्रान्तिकारी योद्धाका बारेमा प्रहरीले गरेको मुचुल्कालाई कृतिकारले उपन्यासको २६ औं अध्यायमा यसरी उल्लेख गरेका छन्(‘यहाँ भोटेटारको जङ्गलमा प्रहरीले गस्ती गर्दैगर्दा खुकुरी बोकेर प्रहरीमाथि आइलागेको आतङ्ककारीको ग्याङसँग प्रहरीले प्रतिकार गरी घुँडामुनि गोली हान्दा माथि लागी प्रधान नामको आतङ्ककारी पक्राउ परेको कुरा हामीले देखीजानी लियौं ।’
झापा विद्रोहलाई विषयवस्तु बनाएर ‘झापाली गर्जन’ जस्तै एक दर्जन विभिन्न विधाका कृति प्रकाशित छन् । ती पुस्तकहरुले नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलो सशस्त्र विद्रोहको घटना ‘झापा विद्रोह’लाई साहित्यको माध्यमबाट बुझ्न मदत पुर्याएको छ । इतिहासको गर्भमा रहेका तथ्यहरुको उजागर गर्दै र घटनाको तिलस्मी चर्चा गर्दै सो विद्रोहका बारेमा साहित्य लेखिने क्रम जारी छ । केही पुस्तक प्रकाशोन्मुख रहेका छन् ।
झापाका युवा कम्युनिस्ट कार्यकर्ताले साम्यवादी सत्ता स्थापना गर्ने लक्ष्यका साथ वि.सं. २०२८ सालमा सुरु गरेको वर्गशत्रु सफाया आन्दोलनलाई नै ‘झापा विद्रोह’ भनेर चिनिन्छ । यस क्रममा २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा पञ्चायती सत्ताद्वारा सबैभन्दा ठूलो हत्या भएको थियो । जेल सार्ने निहुँमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजबंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई सुखानीमा प्रहरीले गोली हानी हत्या गरेको थियो । कृतिहरुमा सुखानी घटनालाई विशेष महत्वका साथ उठाएको पाइन्छ ।
झापाका पत्रकार तीर्थ सिग्देलले लखेको ‘पूर्वको राजनीति’ नामक पुस्तकमा २०२८ जेठदेखि २०३० साल कात्तिकसम्म चलेको झापा विद्रोहमा ७ जना माथि एक्सन भएको र तत्कालीन शासकले ११ जना योद्धाको हत्या गरेको उल्लेख छ । किताबको ‘यसरी सुरु भएको थियो झापामा विद्रोह’ नामक अध्यायको पृष्ठ ६६ मा विद्रोहको अवस्था बारे यस्तो लेखिएको छ(
‘त्यतिबेलाका क्रान्तिकारीहरुले सङ्गठनको पकड बलियो बनाएर, पहिले नै हतियार जम्मा पारेर, सैन्य तालिम लिएर वा दिएर झापा विद्रोह सुरु गरेका थिएनन् । आक्रमण अघि स्क्वायडलाई कतै पनि सैन्य तालिम दिइएको थिएन । उनीहरुको साङ्गठनिक आधार पनि त्यति बलियो थिएन । केवल १५० को हाराहारीमा सङ्गठित युवा थिए । रात बिहान सघाउने किसानहरुसहित कार्यकर्ताहरुको सङ्ख्या ३०० भन्दा बढी थिएन । नेतृत्वको हिसाबले पनि आन्दोलनको राप र अनुभवले खारिएर परिपक्व थिएनन् । सुखानीको विद्रोह अघि र धर्मप्रसाद ढकाललगायतको हत्यापछि झण्डै ५०० जना जतिलाई गिरफ्तार गरियो । तीमध्ये ९५ जनालाई मुद्दा लगाइयो भने १० जनाभन्दा बढीलाई दश बर्षभन्दा बढीको कैद सजाय सुनाइयो ।’
झापा विद्रोहमा लागेकामध्येमा पर्नुहुन्छ सरिसृप बैज्ञानिक प्राडा केआर खम्बु । मेची बहुमुखी क्याम्पसका प्राध्यापक खम्बुले हालै ‘छायाँको लस्कर’ नामक आत्मवृत्तान्त प्रकाशित गर्नुभएको छ । सो पुस्तकमा झापा आन्दोलन र त्यसका मुख्य पात्रहरुको प्रवृत्ति र आन्दोलित मनोविज्ञानलाई उजागर गरिएको पाइन्छ । सुखानीमा पाँच क्रान्तिकारीको हत्या भएको दिनबारे उहनले पुस्तकको पृष्ठ १२२ मा यसरी लेखेका छन्(
‘फागुन २१ गते । रेडियोले सामाचारको थालनीमै रामनाथ दाहाल, वीरेन राजबंशी, कृष्ण कुइँकेल, नेत्र घिमिरेहरु मारिएको खबर फुक्यो । उनीहरु धर्मप्रसाद ढकालको हत्या अभियोगमा पक्राउ परेका थिए । कान थापेर समाचार सुनें । धेरैजसो अभियुक्त रिगरफ्तार भइसकेको, केही भारततिर पलायन भएको, लुकेर बसेकाहरुलाई गिरफ्तार गर्न प्रहरी धुइँधुइँती लागेको रेडियोले भन्यो । स्तब्ध भएँ । घरबाहिर निस्कन छाडेँ । केपी ओली र सीपी मैनालीसँग मेरो चिनाजानी छ भनेर थाहा पाउनेहरु नानाथरी उपदेश दिन्थे । जेल सार्ने बहानामा इलाम र झापाको सीमावर्ती जङ्गल सुखानी पुर्याएर रामनाथहरुको हत्या गरिएको थियो । त्यसपछि गाउँगाउँमा निर्मम दमन सुरु भयो । पञ्चहरु क्रान्तिकारी पक्राउन सक्रिय भए । आतङ्क फैलियो । एकपटक गाउँ पञ्चायतका पियन मैतराज दाइ घर फर्किदा एकछिन हाम्रो घरमा निस्केका थिए । मेरो आँखा उनले बोकेको ‘सूर्योदय पत्रिका’मा पर्यो । त्यसमा ती चार क्रान्तिकारी लडाकुका नाम ठूल्ठूला अक्षरमा लेखिएको थियो । त्यसमुनि ‘झापाका आतङ्ककारी मारिएकाले अब शान्ति कायम हुँदैछ’ भन्ने उल्लेख थियो । मैले त्यो खबर पूरा पढ्न सकिन, टाउको भाउन्न भएर आयो । त्यसदिन साँझ भातै खाइन । रातभर निद्रा लागेन ।’
पञ्चायती शासकद्वारा ‘झापा विद्रोह’लाई दमन गर्न सुखानी हत्याकाण्ड रचिएको थियो । सुखानीमा हत्या गरिएकाहरुकै सहयोद्धाहरु अहिले नेपाली राजनीतिको शीर्ष स्थानमा छन् । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली झापा विद्रोहको नायक हुन् भने नेकपा मालेका महासचिव सीपी मैनालीलगायतका कयौ नेताहरु सत्तामा पुगिसक्नु भएको छ । साहित्यकारहरुले कथा, कविता र उपन्यासमार्फत विद्रोहको इतिहासमा प्रकाश पार्दै आएका छन् भने राधाकृष्ण मैनाली र केआर खम्बुले आत्मवृत्तान्त लखेका छन् । अर्का योद्धा नरेश खरेलको आत्मवृत्तान्त प्रकाशोन्मुख छ । झापा विद्रोहको विभिन्न राजनीतिक पाटो खोतल्दै युवा लेखक निरोज कट्टेलले लेखेको अनुसन्धानमूलक कृति प्रकाशोन्मुख छ ।
झापा विद्रोहपछि एक दशकभन्दा बढी जेलजीवन बिताएका मोहनचन्द्र अधिकारी, केपी ओली, नरेश खरेल, सीपी मैनाली, दुर्गा अधिकारी (सानो), दुर्गा अधिकारी (ठूलो), घनेन्द्र बस्नेत, मनकुमार गौतम लगायतको आत्मवृत्तान्त आउन बाँकी नै छ । राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’ र गौरा प्रसाईको ‘मेरो जीवनका पाना’ प्रकाशित छन् । प्रसाई झापा विद्रोहमा लागेकी प्रमुख योद्धामध्येकी हुन् । सहिद रामनाथ दाहालको बारेमा स्मृति ग्रन्थ ‘सहिद’ प्रकाशित भएको छ भने विद्रोही पक्षबाट हत्या गरिएका धर्मप्रसाद ढकालको बारेमा ‘इतिहासका पन्नामा धर्मप्रसाद ढकाल’ नाम स्मृति ग्रन्थ समेत प्रकाशित छ ।
‘छायाँका लस्कर’का लेखक प्राडा केआर खम्बु सुखानीका सहिदहरुलाई तत्कालीन पञ्चायती निरङ्कुश सरकारले निर्ममतापूर्वक हत्या गर्दाको परिवेशलाई पुस्तकमा उतारेको बताउँछन् । ‘दुई सहिदहरु रामनाथ दाहाल र वीरेन राजबंशीसँग केही महिनाअघि मात्र भेटघाट भएको र क्रान्तिकारी सहकर्मीहरु आरके मैनाली, केपी ओली, सीपी मैनाली, केपी पकुवाल, एमसी अधिकारी आदिसँगका अबिर्सनीय संस्मरणहरु कृतिमा उल्लेख गरेको छु,’ उनी भन्छन्(‘पुस्तकमा झापा सङ्घर्षको प्रारम्भिककालको जुन विश्लेषण गरेको छु, त्यो मैले सुनेको वा कसैले भनेको आधारमा होइन आफैले भोगेका अनुभवहरुलाई राखेको हुँ ।’
सुखानीका सहिदहरुले सहादत प्राप्त गरेको दिन फागुन २१ आउँदा हामी सबैलाई खबरदारी गरेजस्तो लाग्ने बताउँदै उनले सहिदको रगतले लेखिएको इतिहासलाई वत्र्तमान सरकार र नेकपाले भुल्न नहुने धारणा व्यक्त गरे ।
‘झापाली गर्जन’का उपन्यासकार पुण्यप्रसाद खरेल देश र जनताका लागि हाँसीहाँसी गोली थाप्न तयार हुने बलिदानी योद्धाहरुको पङ्ति जन्माउने ‘झापा विद्रोह’ जे उद्देश्यका लागि भएको थियो, त्यही विषयलाई प्रकाश पार्न आफुले उपन्यास रचना गरेको बताउँछन् ।
‘सतहीरुपले हेर्दा सहिदले चाहे अनुसारको परिवर्तन भएको होकि होकि जस्तो लाग्छ, उनीहरुले प्रतिक्रियाबादी सत्तालाई ध्वस्त पार्न चाहेका थिए,’ लेखक खरेल भन्छन्(‘तर, अहिले सहिदका सहयोद्धा कमरेडहरु नै सत्तामा पुग्नुभएको अवस्था छ, आफ्नो वर्गको हितमा राज्यतहबाट कामहरु नभएको देख्ता र शासनसत्तामा उही पारा देख्ता बोतल मात्रै फेरियो कि जस्तो पनि लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: