सिकाउने संस्कार

  प्रकाशित मिति
११ कार्तिक २०७५, आईतवार १०:२४


गरिबी, अशिक्षा, असमानता, भेदभाव आदि गुण वर्गीय सामाजिक चरित्रको विषेश आधारहरु हुन् । सामाजिक चरित्र र विशेषताहरुको व्यापक दार्शनिक अवधारणा रहे पनि हाम्रो सामाजिक परिवेश भित्रको मानव चेतनाको विकासको गति त्यति उन्नतशील बन्न सकिरहेको छैन ।

चेतनाको मुख्य पक्ष भाव र विचारको सङ्गम हो । जसले मानव स्वभाव वा गुणको निर्धारण गर्दछ । र, चेतना मानिसको सामाजिक जीवनसँग गाँसिएको हुनाले यसको निर्माणमा सामाजिक माध्यमहरु शिक्षा, सूचना–सञ्चार, सल्लाह–सुझावको निक्कै प्रभाव रहन्छ । अझ हाम्रो जस्तो वर्गीय सामाजिक चरित्र भित्रको चेतना पनि वर्गीय अवस्थामै रहने हुँदा अझ धेरै प्रभाव पर्न जान्छ । यसैभित्र मानव जीवनसँग जोडिएको सामाजिक पक्षको केही एउटा सानो पाटो र त्यसबाट पर्ने जाने व्यवहारिक सम्बन्धको चर्चा गर्नु यो लेखको उद्देश्य रहेको छ ।

समाज भित्रको कुनै पनि विषय र त्यसप्रतिको अन्तर वस्तुलाई दाँजेर वा बुझेर ठिक वा बेठिक छुट्याउनु सकिन्छ भने एउटा मौलिक भावनाको विकास हुन्छ । जसले मानव जीवनलाई सकारात्मक तर्फ डोर्याउन सक्छ । यदि बिना आधार सुनेको कथेको भरमा अप्रमाणित ज्ञान बाँडिन्छ भने त्यस्ता प्रयासहरु मानवका सामाजिक क्रियाकलापहरु विपरीत ठहर्छ । कानुनत पनि दण्डनीय हुनुपर्ने हुन्छ । तर, यस्ता परम्परागत मान्यताबाट अझै पनि हाम्रो समाजले छुटकारा पाउन नसक्नु हाम्रो न्युनतम वर्गीय अवस्थालाई दर्शाउँछ ।

फेरि हरेक बिषयको ज्ञान विश्वविद्यालयबाट मात्र प्राप्त गर्न सकिन्छ भन्ने होइन । ज्ञान आर्जन गर्ने अरु माध्यम पनि हुन्छ । तर, धेरै ज्ञानका ठुला भागहरु त्यस्ता विश्वविद्यालयबाटै निर्देशित र प्रमाणित हुने गरेको हुँदा कति र कस्ता ज्ञानका पक्षलाई दिने र लिने गर्न सक्छौँ वा त्यो अधिकार राख्दछौँ भन्नेमा हामी अनविज्ञ नै छौँ ।

हाम्रो समाजको धेरै मानिसको चरित्र यस्तो छ कि हामी जुनसुकै विषयमा पनि सल्लाह दिन वा लिन तयार रहन्छौँ । र, प्रायजसो सहजै रुपमा त्यस्ता ज्ञानहरु हामी जानी वा अन्जानमा स्वीकार गरिरहेका हुन्छौँ । जसले जुन विषयमा सिकाइरहेको छ सो व्यक्ति सोही बिषयको ज्ञाता हो वा होइन हामी जान्न उचित ठान्दैनौँ ।

जसले जे सिकाइरहेको छ स्वयम् आफुले सिकाएको ज्ञानप्रति ऊ न विज्ञ हो, न ऊ आफैँ नै विश्वस्त छ । तर, ऊ यस्ता कुराहरु सिकाउन हँुदैन भन्ने नै ठान्दैन । बरु आफूलाई अरु भन्दा स्मार्ट देखाउन रुचाउँछ । प्रत्यक्ष अप्रत्यक्ष यस्ता व्यवहारले समाजमा नकारात्मक असर पारिरहेकै हुन्छ । यसरी बिना सोच विचार यस्ता बिषयमा आफुले जानेको छु भन्ने गलत प्रवृत्ति हाम्रो समाजमा संस्कारको रूपमा विकास भएको पाइन्छ ।

कुनै एउटा समुहमा आफ्नो सानो वा ठूलो समस्या सुनायो भने मात्र पनि त्यहाँ सल्लाह र सुझावका वर्षा सुरु हुन्छ । उच्च रक्तचापको बारेमा होस् वा झाडावान्ता या टाउको दुखेको होस् वा पेट वा ज्वरोको होस् डाक्टरले झैँ औषधिसमेत प्रेस्किप्सन गर्न थाल्छन् । हतारमा सुनेको भरमा आफुलाई अब्बल सावित गर्न स्वास्थ्य जस्तो संवेदनशील विषयमा बिना सोचबुझ सल्लाह दिँदा समाजमा थुप्रै नकारात्मक घटना भएका उदाहरणहरु पनि छन् ।

एउटा समस्या पाँच जनाले सुने भने पाँचै प्रकारको सल्लाह र उपचार विधि सिकाइन्छ । त्यस्तै, अन्य जुनसुकै पाटोमा पनि सुझबुझ बेगर सल्लाह दिने हाम्रो बानी छ, चाहे विद्यालयबाट पास हँुदा होस् वा कुनै वस्तु खरिद बिक्री गर्दा । घर बनाउँछु मात्र भन्नु होस् तपार्इंले नमागी गजबको सल्लाह पाउनु हुन्छ । बिना स्वार्थ तपाईंलाई घर बनाउन चाहिने अन्य भौतिक तथा आर्थिक सहयोग गर्छु कसैले भन्दैन तर सल्लाह र सिकाउनेहरु चाहिने भन्दा बढी नै पाइन्छ ।

यस्ता प्रकृतिका विरोधाभाषपूर्ण सिकाइने ज्ञानले आजको युगमा मानव विकास र सभ्यता माथि प्रश्न गरेको छ, हाम्रो चेतना र सामाजिक परिवेशको उजागर गरेको छ । समृद्धिको सपनाको यात्रामा हिँडेका हामी र यस्ता विषयहरुमा राज्यको भूमिका जोडिनु पर्दछ । जुन वर्गीय अस्तित्वप्रतिको भाव विचार सामाजिक रुपान्तरणको एउटा आधार बन्न सक्छ ।

विकसित मुलुकहरूमा यस्ता आधार र तथ्यहीन ज्ञान सिकाइँदैन र सिकाउन पाइदैन । कुनै पनि विषयमा अप्रमाणित व्यक्तिले त्यसो गरेमा गैरकार्य र अपराध ठहर्छ । र, दण्डनीय हुन्छ । यसरी हामीले पनि स्वस्थ समाज निर्माण र त्यसको विकास अनि परिवर्तनमा साना साना दृष्टिकोणबाट आफ्नो भूमिकालाई जिम्मेवार बनाउनु आवश्यक छ । प्रगतिशील समृद्ध समाज निर्माणको निम्ति पुराना विद्यमान यस्ता प्रकारका मान्यता हटाउन के सकिएला त !

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: