सिकिस्त पृथ्वी र हाम्रो दायित्व

  प्रकाशित मिति
२२ जेष्ठ २०७९, आईतवार ०७:२६


हरेक साल अर्थात सखुवाको जङ्गलको तल्लो भेगमा सिमसार क्षेत्र देखिन्छ । यो सिमसारलाई प्रकृतिको मिर्गौला भनिदो रहेछ । जसरी मिर्गौलाले शरीरवाट खराव तत्वको निष्कासन गर्दछ सिमसारले पनि त्यस्तै काम गर्ने विज्ञहरुको भनाई रहेको पाइन्छ । सिमसारले पानीको नियमितता कायम गर्ने भएका कारण खाद्य चक्र कायम गर्न विशिष्ट भूमिका निर्वाह गर्दछ । यसका अलावा सिमसार विभिन्न प्रजातिका वन्यजन्तु, जलचर, अन्य देशवाट मौसमी वसाइसराई गर्ने चराहरुको रोजाइको क्षेत्र हुने भएकाले जैविक प्रणाली कायम राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

असंख्य तारामण्डल, ग्रहहरुका विचमा एउटै पृथ्वी भए पनि आज वातावरणीय आधारमा पृथ्वी सिकिस्त विरामी पर्ने अवस्थामा रहेको वातावरण विज्ञहरुको भनाई रहेको छ । उनीहरुका अनुसार पृथ्वीमा मानिस र प्रकृतिका लागि अनुकूलन हुन तीव्र रुपमा तापमानको वृद्धि हँुदैछ । हिमालमा हिउँहरु पग्लने देखि टापुहरु डुब्ने सम्मको अवस्था मानवले ब्यहोरेको अवस्था छ ।

नेपालमा जल तथा मौसम विभागले सन् २०१७ मा निकालेको तथ्यांकका अधारमा वार्षिक ०.०५६ डिग्री सेल्सियस तापक्रम वृद्धि दर रहेको छ । नेपालमा तराई भन्दा हिमालमा तापक्रमको प्रभाव वढी हुने कारणले हिउँ पग्लने, हिमताल विस्फोटन हुने र अनपेक्षित विपत लगायतका असले खाद्यान्न उत्पादनमा कमी आउने विज्ञहरुले औल्याएका छन् । जसका कारण समग्र जनजीविकामा नै असर पर्नेछ, पछिल्लो उदाहरण मेलाम्चीको वाढीलाई लिन सकिन्छ ।

वासस्थान विनास र अन्य प्रकारका दवावहरुका कारण १० लाख प्रकारका प्रजातिहरुको अस्तित्व संकटमा परेको छ । तिनीहरु लोपोन्मूख अवस्थामा पुगेका छन् । धान रोप्ने समयमा खेतमा पाइने माछाहरु र स्थानीय नदीहरुमा पाइने विभिन्न प्रकारका माछाहरु लोप भइसकेका छन् । हात्ती, वाघ, गैडा जस्ता ठूला वन्यजन्तुहरु वासस्थानको अभावमा ग्रामीण कृषकहरुका खेतवाली नष्ट गर्न बाध्य भएका छन्, जसका कारण मानव वन्यजन्तुको द्वन्द्व तीव्र रुपमा वढेको छ ।

हामीले श्वास लिने हावा, पानी र जमिनमा प्रदूषण निरन्तर रुपमा वढिरहेको छ । सास फेर्ने हावामा भएको प्रदूषणका कारण फोक्सोको रोगको वढोत्तरी भएको चिकित्सकहरुले वताएका छन् । ग्लोवल वर्डन अफ डिजेजको अध्ययनले देखाए अनुसार खाना, उच्च रक्तचाप, रगतमा चिनीको उच्च मात्रा र धुम्रपान पश्चात वायू प्रदूषण मृत्युको पाँचौ कारण वनेको छ । विश्वभर वायु प्रदूषणको असरले मानिसको आयु २० प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

यो धर्म संकटवाट मुक्त हुनका लागि हाम्रो अर्थतन्त्र र समुदायलाई प्रकृतिसँग वढो समावेशी र न्यायिक तवरवाट जोड्नुको विकल्प छैन । हामी अव पृथ्वीलाई ध्वस्त हैन उपचार गर्ने अवस्थामा लाग्नु आजको आवश्यकता भएको छ । यसैले विश्व वातावरण दिवशको अभियान एउटै पृथ्वी भन्ने रहेको छ । के यो एउटै पृथ्वी भन्ने नारा साकार होला त ?

नेपालले दिगो विकासका लक्ष्यको गोल १३ अनुसार जलवायू परिवर्तन र यसको असर नियन्त्रण गर्न तत्काल पहल गर्ने सम्वन्धमा सन् २०३० सम्म कार्वन उत्सर्जनलाई आधा गर्ने तथा कृषि यातायात उद्योग तथा ब्यापारिक क्षेत्रहरुवाट उत्सर्जन हुने हरितगृह ग्यासलाई पनि आधा गर्ने लक्ष्य लिएको छ । यस्तै स्थानीय तहले दिगो विकासको लक्ष्य १३ हासिल गर्न संभाब्य जोखिमका क्षेत्रहरु, वस्तीहरुको पहिचान गरी वातावरण परिवर्तन कम गर्नका लागि नीति योजना तर्जुमा गर्न सक्ने उल्लेख गरे पनि वातावरण सम्वन्धी स्थानीय तहहरु वेखवर जस्तै वनेका छन् ।

नदीजन्य वस्तुको चरम दोहनका कारण पानीका मूलहरु सर्ने तथा सुक्ने, नदी कटान तथा पहिरोहरुको प्रकोपमा आम मानिस पर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यही लक्ष्य हासिल गर्न वातावरण मैत्री स्थानीय योजनाहरु र संभाब्य प्राकृतिक प्रकोपवाट आउन सक्ने जोखिम सहन गर्न सक्ने क्षमताको सुनिश्चित गर्ने भनिए पनि स्थानीय तहहरु दिगो वातावरणीय सुधारका कार्यक्रमहरु कार्यान्वयन गर्ने भन्दा पनि पर्यटन प्रवर्धनको नाममा सिमसार र प्राकृतिक जङ्गलहरु विनास गर्ने र कृत्रिम पोखरी निर्माण गर्ने कार्यमा तीव्रता दिएका छन् ।

प्रकोप ब्यवस्थापन, जोखिमयूक्त वस्तुहरुवाट हुने प्रदूषण नियन्त्रण, प्रकोपवाट भएका हानी नोक्सानीको क्षतिपूर्तिका लागि कोषको ब्यवस्थापन, आकस्मिक कार्यको तयारी सुनिश्चित गर्ने कार्यहरु स्थानीय तह अन्तर्गत वातावरण सुधारका लागि प्राथमिकतामा पर्नुपर्नेमा हालसम्म नवनिर्वाचित प्रतिनिधिहरुले यसका लागि कार्याक्रम वनाएका छन् कि छैनन् ? यदि वनाएका छैनन् भने यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नु पहिलो काम हुनेछ ।
केही स्थानीय तहहरुले वातावरण संरक्षणका कार्यक्रमहरु दिगो विकासका लक्ष्यका आधारमा लागू गर्नुपर्नेमा वातावरणीय

प्रभावको वेवास्ता गर्नेमा आफुलाई उभ्याएका देखिएका छन् । इलामको माई नगरपालिकामा पर्यटन प्रवर्धनको नाममा हेप्पी ड्रिम्सले फनपार्कका लागि ८५ रोपनी जग्गा खरिद गरेको र सरस्वती सामुदायिक वनवाट ४५ रोपनी र अरु ऐलानी गरी ३०० रोपनीमा फनपार्क संचालन गरेको छ । गैरकानुनी रुपमा जग्गा हडपेका कारण स्थानीयहरुले अख्तियारमा उजुरी दिएको समेत समाचारमा उल्लेख छ । (सगरमाथा टेलिभिजन)

यस्तै १६० विगाहामा फैलिएको वर्जु गाउँपालिका सुनसरीको बर्जुतालको पानी सुकाउने कार्यमा स्थानीय पालिका नै रहेको पाइयो । चरा र पर्यावरण विज्ञका अनुसार पर्यावरण चरा र जलचरसँग जोडिएको यस वर्जुतालमा रुसको साइवेरियावाट समेत चराहरु माइग्रेटेट (अल्पकालीन बसाइसराइ) हुने र २ सय प्रजातिका चरा र अनेकौं सरिसृपहरुको क्रिडास्थल रहेकोमा हाल तालमा रहेको पानी सुकाइएको, पिकनिक स्पोट वनाई चर्का आवाजका गीतहरु वज्ने गरेको कारण चराहरु आउन छोडेको समाचारमा उल्लेख छ । यही तालको अवलोकन गर्न भनेर ७ करोडको लागतमा ९ तले भ्यू टावर समेत निर्माणाधीन रहेको समाचार छ । (नेपाल खवर जेठ १४)

मानव उपयोग भन्दा पनि नाफावादका कारण प्रकृतिको चरम उपयोग गर्ने कारणले पृथ्वीले भोगेका समस्याहरु तत्काल सम्वोधन हुन सक्ने अवस्थामा देखिदैनन् । हामीले श्वास लिने हावा र पिउने पानीको वारेमा समेत स्वयं हामी सम्वेदनशिल हुने सकेका छैनौं । मनोरञ्जनका नाममा हामीले वनाएका संरचनाहरु प्रकृतिमैत्री नहुने भएका कारण भोलिका दिनहरु कठिन हुने सम्भावनालाई हामी वेवास्ता गरेका छौं । खेत वालीमा आउने झार उखेल्ने र घाँसको रुपमा प्रयोग गर्नुपर्नेमा खतरनाक विषादी (राउन्ड अफ) प्रयोग गर्नमा नै हामी इच्छुक छौं । धानको विउ राख्ने समयमा भएको पानीको अभाव कसरी भएको हो यसको वारेमा विचार मन्थन गर्नु भन्दा भूमिगत जलभण्डारको पानी निकाल्नका लागि हामी उद्धत रहेका छौं ।

वातावरणीय विनासको कारण मानव नै भएकाले यसको संरक्षण पनि मानवद्वारा नै हुन्छ भन्ने सोच कहिले आउने होला । यसै भन्न कठिन भए पनि हरेकले एउटा प्रतिवद्धता गर्नै पर्छ कि पृथ्वी हाम्रो नभएर भावी पुस्ताको नासो हो । यसलाई अझ राम्रो वनाउन सके हामी धन्य हुनेछौं, नसेको खण्डमा पनि हामीले जस्तो रुपमा पाएका छौं भावी पुस्तालाई पनि त्यस्तै हस्तान्तरण गर्नु नै हाम्रो दायित्व रहन्छ भन्ने हेक्का राखौं ।

(मेचीनगर–४, झापा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: