‘समानुपातिक उम्मेद्वारी’ अस्वीकार

  प्रकाशित मिति
३१ आश्विन २०७४, मंगलवार ०९:०४


20140831394958-300x0

मेचीनगर । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले समानुपातिक उम्मेद्वार बन्न अस्वीकार गरेका छन् ।

पार्टीले समानुपातिकमा नाम राखेर निर्वाचन आयोगमा आइतवार बन्द सूची बुझाएपछि असन्तुष्ट भएका सिटौलाले समानुपातिक सूचीबाट नाम हटाउन पार्टीमाथि चर्को दवाव सिर्जना गरेका छन् ।
उनले समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरेका छन् । नाम नहटाइए निर्वाचन आयोगमा आफै निवेदन दिएर नाम हटाउने उनले चेतावनी दिएको स्रोतले जनाएको छ ।

२०४८ सालदेखि झापा क्षेत्र नं. ३ बाट संसदीय चुनावमा प्रत्यक्ष उम्मेद्वार बन्दै आएका सिटौला आफ्नो निर्वाचन क्षेत्रबाटै यसपटक पनि प्रतिनिधिसभाको उम्मेद्वार बनन चाहन्छन् । तर पार्टीले राप्रपासँगको चुनावी गठबन्धनको क्रममा सो क्षेत्र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई दिने सहमति गरेपछि सिटौलाले आफुलाई निर्वाचन क्षेत्रविहीन बनाउने सहमति अस्वीकार गरेका हुन् ।

आइतबार काङ्ग्रेसले सिटौलाको नाम एक नम्बरमा राखेर पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगलाई बुझाएको थियो । सिटौला पक्षीय नेताहरले विना सल्लाह सिटौलाको नाम समानुपातिकमा राखेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाप्रति रोश प्रकट गरेका छन् ।

सिटौलाले आफू समानुपातिकमा नबस्ने र कुनै पनि हालतमा प्रत्यक्षबाटै चुनाव लड्ने कुरा सभापतिलाई अवगत गराइसकेको सिटौला निकट स्रोतको भनाई छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौलाको नाम उनलाई नसोधी आयोगमा नपठाउन सभापति देउवालाई सुझाव दिएका थिए ।

काङ्ग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनेपछि सभापति देउवाले झापा क्षेत्र नं. ३ राप्रपाको पोल्टामा राखिदिएर सिटौलालाई समानुपातिकमा राख्न चाहेका छन् ।

राप्रपाले पहिलो नम्बरमा सिटौलाको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ३ आफूले पाउनुपर्ने प्रस्ताव राखेको थियो । राप्रपा महामन्त्री राजेन्द्र लिङदेन सो बाहेकको क्षेत्रमा नजाने अडानमा छन् । यही विवादले गठबन्धन नटुटोस् भनेर सिटौलालाई समानुपातिकमा सारेर राप्रपाको रोजाइमा रहेको सो क्षेत्र दिन देउवा राजी भएका थिए ।

मुलुककै भावी प्रधानमन्त्रीको लिस्टमा रहेका सिटौलाको नाम समानुपातिकको बन्दसूचीमा राखेर निर्वाचन क्षेत्रबाट बाहिर पारेको खबर पाएका गृहजिल्लाका काङ्ग्रेस कार्यकर्ता पार्टी केन्द्रप्रति निराश देखिन्छन् । उनीहरुले सिटौलालाई प्रत्यक्ष नै उठ्न दिनु पर्ने धारणा राख्छदै आएका छन् ।

झापा क्षेत्र नं. ३ का काङ्ग्रेस क्षेत्रीय सभापति गणेश पोखरेलले एक सातामा दुई पटक विज्ञप्ति जारी गरेर नेता सिटौलाले प्रत्यक्ष उम्मेद्वार छाडेको र समानुपातिक उम्मेद्वार बनेको भन्ने समाचारको खण्डन गरेका छन् ।

स्थानीय तहको मतपरिणाम अनुसार क्षेत्र नं. ३ मा राप्रपाभन्दा काङ्ग्रेस करीव ८ हजार मतले अगाडि रहेको बताउँदै आएका उनले चार स्थानीय तह रहेको सो क्षेत्रमा काङ्ग्रेसको २१ हजार र राप्रपाको १३ हजार मात्र भोट रहेको बताउने गरेका छन् ।

सिटौलाले सो क्षेत्रमा २०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । उक्त बर्ष सिटौला एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित भएका थिए ।

कार्यकाल नसकिदै उनको निधन भएपछि २०५० मा भएको उपनिर्वाचनमा सिटौला निर्वाचित भएका थिए । ६ महिनापछि भएको मध्यावधि निर्वाचनमा सिटौला एमालेका पुष्पराज पोखरेलसँग पराजित भए ।
त्यसपछि २०५६ र २०७० मा सिटौला निर्वाचित भएका थिए । ०६४ मा माओवादीका पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए ।

काङ्ग्रेस–एमालेबीच प्रतिस्पर्धा हुँदै आएको सो क्षेत्रमा दोस्रो संविधानसभा चुनावमा आएर राप्रपा नयाँ शक्तिको रुपमा उदायो । त्यो चुनावमा राप्रपाको उम्मेद्वार लिङ्देन एमालेलाई पछि पार्दै सिटौलाका निकटतम् प्रतिस्पर्धी बनेका थिए ।

२०७० को चुनावमा पराजित भए पनि लिङदेन उक्त क्षेत्रको विकास निर्माण र सङ्गठन विस्तारमा सक्रिय रहे । फलस्वरुप स्थानीय तह चुनावमा राप्रपाले सो क्षेत्रभित्र पर्ने कचनकवल र हल्दिबारी गाउँपालिकाको नेतृत्व जित्न सफल भयो । यस कारण पनि राप्रपाले आगामी चुनावमा पनि उक्त क्षेत्र आफूले पाउनु पर्ने र जित्ने दाबी गर्दै आएको छ ।

तर, सिटौलाका समर्थकहरु जिल्लामा एमाले अध्यक्ष केपी ओलीपछि राष्ट्रिय राजनीतिमा भावी प्रधानमन्त्रीको रुपमा सिटौलालाई हेर्ने गर्छन् ।

यसै सन्दर्भमा काङ्ग्रेसका क्षेत्रीय सभापति पोखरेलले भन्ने गरेका छन्–‘राष्ट्रिय राजनीतिमा उहाँको आवश्यकता अझै प्रमुख छ । जिल्लाको विकासका निम्ति पनि उहाँले यस पटक चुनाव लड्नैपर्छ र लड्नु हुन्छ पनि ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: