‘सिटौलालाई जित्ने धोको अब पूरा हुने भयो’

  प्रकाशित मिति
१३ कार्तिक २०७४, सोमबार ११:४९


lingden 2
‘राजनीतिका अनेक उतारचढाव सहेको यो राजेन्द्र लिङ्देन आफ्नो क्षेत्र छाडेर अन्त कतै जाला भनेर कसैले कल्पना पनि नगरुन्, यसमा म प्रतिज्ञा गर्दछु ।’

मेचीनगर ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आफु झापा क्षेत्र नं. ३ बाट कुनै हालतमा पनि प्रत्यक्ष उम्मेद्वार बन्ने दृढता व्यक्त गर्दै मेची अञ्चलमा अर्को चुनावी गठबन्धन बन्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।

नेपाली काङ्ग्रेससँग देशव्यापी चुनावी गठबन्धनमा रहेको राप्रपाले झापा क्षेत्र नं. ३ मा महामन्त्री लिङ्देनलाई साझा उम्मेद्वार बनाउने सम्झौता गरेको थियो ।

तर सो क्षेत्रमा विगतदेखि नै चुनाव लड्दै आएका नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन क्षेत्रमा राप्रपालाई छाड्न अस्वीकार गर्दै आफै उम्मेद्वार बन्ने भएपछि गठबन्धनमा गडबडी उत्पन्न भएको छ ।

सिटौलालाई काङ्ग्रेसले समानुपातिक उम्मेद्वारको सूचीमा पहिलो नम्बरमा राखेर मनाउने प्रयास गरे पनि अन्ततः सिटौला नमाने पछि आइतवार पार्टीले सिटौलाको नाम समानुपातिकबाट फिर्ता लिने र उनलाई प्रत्यक्षकै उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

सिटौलालाई नै उम्मेद्वार बनाउने काङ्ग्रेसको निर्णय आएपछि सोमवार विहान लोकतन्त्र पोस्टले प्रतिक्रिया लिन लाग्दा लिङ्देन झापा क्षेत्र नं. ३ कै मतदातासमक्ष भलाकुसारीमा व्यस्त भेटिए ।

राप्रपा लिङ्ददेनले झापा क्षेत्र नं. ३ कुनै पनि हालतमा आफुले नछाड्ने बताउँदै काङ्ग्रेसले आफैले हस्ताक्षर गरेको गठबन्धनको सम्झौता आफै च्यातेको प्रतिक्रिया दिएका छन् ।

‘झापा क्षेत्र नं. ३ यो राजेन्द्र लिङ्देनले छाडिदिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ’, उनले लोकतन्त्र पोस्टसँग भने–‘कृष्ण सिटौलासँगै चुनावमा उठेर जित्ने मेरो धोको थियो, अब पूरा हुने भयो ।’

झापा क्षेत्र नं. ३ मा राप्रपालाई छाडिदिने सहमति लत्याउनु काङ्ग्रेसको ठूलो भूल भएको उल्लेख गर्दै राप्रपाका महामन्त्री लिङ्देनले चुनावमा सिटौलालाई जितेर काङ्ग्रेसलाई सबक सिकाइदिने दावी समेत गरे ।

काङ्ग्रेसकै कारण उसँगको गठबन्धन भत्किन सुरु भइसकेको जनाउँदै उनले झापा क्षेत्र नं. ३ मा अब नयाँ गठबन्धनका लागि राप्रपा खुला भएको बताए ।

‘ काङ्ग्रेस बाहेक जोसँग पनि गठबन्धनका लागि राप्रपा अब खुला भएको छ’, पूर्व सहमति तोडिएकोमा काङ्ग्रेसप्रति निकै आक्रोशित भएका नेता लिङ्देनले भने–‘यति चाहिँ भनिराखौ, मेची अञ्चलमै अब नयाँ गठबन्धन हुन सक्छ ।’

झापा क्षेत्र नं. ३ बाट व्याक भएर अरु कुनै क्षेत्रमा लैजाने भनी काङ्ग्रेस र विभिन्न पक्षबाट हल्ला चलाउन थालिएको समेत आफुलाई जानकारी भएको बताउँदै नेता लिङ्देनले लोकतन्त्र पोस्टसँग भने–‘राजनीतिका अनेक उतारचढाव सहेको यो राजेन्द्र लिङ्देन आफ्नो क्षेत्र छाडेर अन्त कतै जाला भनेर कसैले कल्पना पनि नगरुन्, यसमा म प्रतिज्ञा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: