सिम्रिक सहकारीको नाफा एक करोड

  प्रकाशित मिति
२२ भाद्र २०७४, बिहीबार १२:००


28533-20170906212237_300x300

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा एक करोड १५ लाख भन्दाबढी नाफा आर्जन गरेको छ ।

बुधवार विर्तामोडमा आयोजित सातौँ वार्षिक साधारणसभाका अवसरमा सो जानकारी दिइएको हो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले चालु आर्थिक वर्षमा एक करोड ६९ लाख भन्दाबढी आम्दानी गर्ने लक्ष्य राखिएको बताए ।

यो करअघिको नाफा हो । संस्थाले आयकरपछिको मुनाफाबाट ११ दशमलव ४ प्रतिशत शेयर बोनस वितरण गर्ने निर्णय गरेको छ । सिम्रिकले विभिन्न परिस्थितिमा आफ्ना सदस्यलाई राहत उपलब्ध पनि गराएको छ । सदस्यको स्वास्थ्य उपचार र मृत्युमा संस्थाले राहत उपलब्ध गराएको हो ।
संस्थाका सचिव सुवास भट्टराईका अनुसार गत आर्थिक वर्षमा सदस्यलाई राहत सुविधा अन्तर्गत २० लाख ७२ हजार रुपैयाँ वितरण गरिएको छ ।

सिम्रिकले सातौँ वार्षिक साधारणसभाका अवसरमा सदस्य राहत कोषलाई अझै प्रभावकारी बनाउने घोषणा पनि गरेको छ । अरु र आफ्ना लागि भन्ने उद्देश्य राखेर उसले यस्तो घोषणा गरेको हो । अभियान अन्तर्गत सबै सदस्यबाट राहत कोषमा दैनिक एक रुपैयाँका दरले रकम जम्मा गरिनेछ ।
संस्थाका अध्यक्ष बस्नेतले यो अभियानमा सहभागी भएर वार्षिक तीनसय ६५ रुपैयाँ जम्मा गर्न सदस्यलाई आह्वान पनि गरे । खुद नाफाको पाँच प्रतिशतसम्म सदस्य राहत कोषमा लैजाने प्रस्ताव पनि गरिएको छ ।

सिम्रिकले गत आर्थिक वर्षमा विभिन्न सामाजिक कार्यमा सहयोग गरेको छ । रमपम झापा गोल्डकपको दोस्रो संस्करणका लागि सिम्रिकले एक लाख रुपैयाँ सहयोग गरेको थियो ।
त्यसैगरी धुर्मुस सुन्तली फाउण्डेसनको एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि पनि एकलाख रुपैयाँ प्रदान गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । सिम्रिकले नेपाल पत्रकार महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि पनि ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

साधारणसभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैँकका कार्यकारी प्रमुख कृष्णबहादुर उप्रेतीले शुभकामना मन्तव्य राख्दै संस्थाले छोटो समयमा निकै ठूलो प्रगति गरेको बताए ।

उनले नयाँ सहकारी ऐन आउन लागेको भन्दै अब ऐनअनुसार एक सहकारी एक सदस्यको व्यवस्था हुने भएकाले एउटै सहकारीमा मात्र सदस्य बन्न सहकारीकर्मीहरुलाई आग्रह गरे ।

यसैगरी, विशेष अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, वचत तथा ऋण सहकारी संघ झापा अध्यक्ष घनश्याम अधिकारी, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष हरिचरण बानियाँलगायतका सहकारी अभियन्ताहरुले अब सहकारीलाई उत्पादनसँग जोडेर व्यावसायिक बन्न आवश्यक भइसकेको बताए ।

सचिव सुवास भट्टराईले सञ्चालन र संस्थाका अधिकृत मीनबहादुर अधिकारीले स्वागत गरेको कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: