विर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था विर्तामोडले आइतबार नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’का लागि पच्चीस हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सहकारीले आयोजना गरेको सदस्य शिक्षा सहकारी तालिम कार्यक्रममा सो रकम गृहकी अध्यक्ष अम्बिका भण्डारीलाई हस्तान्तरण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का सांसद झलकसिंह दर्लामी, संस्थाका अध्यक्ष कमल बस्नेत र शिक्षा तालिमका संयोजक सुवास भट्टराईले संयुक्त रुपमा भण्डारीलाई नगद हस्तान्तरण गरेका हुन् ।
सञ्चार गृहले झापाका विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नका लागि सो अक्षयकोषको स्थापना गरेको हो ।
कार्यक्रममा सहकारीले गृहले राखेको उद्देश्य र लक्ष्यप्राप्तिका लागि आर्थिक सहयोग प्रदान गरेकोमा संस्थाकी अध्यक्ष भण्डारीले आभारसहित धन्यवाद व्यक्त गरेकी थिइन् । कार्यक्रममा संस्थाकी सहसचिव स्वस्तिका आचार्यको समेत उपस्थिति रहेको थियो ।