सीडीओले सोधे ‘कुचो कहाँ लोड हुन्छ ?’

  प्रकाशित मिति
८ चैत्र २०७२, सोमबार ०७:४०


kuchhoo

भद्रपुर । सुपारी लुकाएको भेटिएपछि दुई सातादेखि अवरुद्ध प्रशोधित अम्लिसो (कुचो)को निकासी खुलाउन झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सहजीकरण गर्ने भएका छन् ।

कुचोको ट्रकमा सुपारी मिसाएर भारत पठाएको आरोपमा मेची भन्सारले अव्यावहारिक चेकजाँचको अडान राखेपछि ठप्प रहेको निकासी खुलाउने पहल गर्न आइतवार सर्वपक्षीय प्रतिनिधिमण्डलले प्रजिअ भुजेललाई आग्रह गरेको थियो ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति उद्धव थापाको नेतृत्वमा प्रजिअ कक्षमा पुगेको टोलीको साझा आग्रह थियो–‘कुचो निकासीको सहज वातावरण बनाउन तपाइँले नै पहल गरिदिनु पर्यो ।’

टोलीका सदस्यहरूले भन्सारको सट्टा प्रशोधनस्थल (गोदाम)मै चेकजाँचको व्यवस्था मिलाउन वारम्वार आग्रह गरेपछि प्रजिअ भुजेलले सोधे–‘कुचो कहाँ कहाँ लोड हुन्छ ?’

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष पङ्कजविव्रmम नेम्वाङले कुचो गोदामबाट भन्सार परिसरमा ल्याएर पुनः लोड र अनलोड गर्दा व्यापारीले प्रति क्वीन्टल १० केजीसम्म सामानमा क्षति व्यहोर्नु पर्ने र लेवर कस्ट बढ्ने समस्या अवगत गराएका थिए ।

उनले हालसम्म अधिकांश कुचो धुलावारी आसपासको मण्डीबाट लोड हुने गरेको बताए । एउटा व्यापारीले गरेको गल्तीका कारण सबै व्यवसायीले अनाहकमा सास्ती खेप्नु परेको उनको भनाइ थियो ।

कुचो लोड गरिएको एउटा ट्रकमा चेकजाँच गर्दा प्रहरीले सुपारी फेला पारेको घटना यता नेपालबाट भारततर्फ कुचो निकासी ठप्प छ । यसबाट कुचो व्यवसायी मात्र होइन, पूर्वी पहाडका अम्लिसो उत्पादक किसान र कर असुल्ने जिविस तथा नगरपालिका प्रभावित छन् ।

मेची भन्सारले अबोप्रान्त भन्सार परिसरमै कुचो लोड गर्नु पर्ने अडान राखेपछि व्यावहारिक कठिनाइका कारण व्यवसायीहरूले कुचो निर्यात गर्न सकेका छैनन् । पहाडबाट ल्याइएको कुचो गोदाममा प्रशोधन गरेर ट्रकमा लोड गरेर पहिल्यैदेखि भारत निकासी हुँदै आएको थियो ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति थापा, एनेकपा माओबादीका कार्यवाहक अध्यक्ष अग्नी, नेकपा एमालेका जिल्ला सदस्य डिल्लीराम घिमिरे, राप्रपा नेपालका क्षेत्रीय अध्यक्ष कल्याण खड्का, कुचो व्यवसायी सङ्घका केन्द्रीय सदस्य कृष्ण कनाल लगायतले कुचोको लोडिङ गोदाममै गर्नु पर्ने वाध्यता भएको उल्लेख गर्दै प्रहरी र भन्सार प्रतिनिधिले गोदाममै गएर चेकजाँच गर्ने व्यवस्था मिलाउनु नै निर्यात खुलाउने उपाय भएको बताए ।

कुचो निर्यात रोकिन नहुनेमा आफ््नो समान धारणा भएको बताउने प्रजिअ भुजेलले फेरि सहानुभूतिपूर्वक प्रतिनिधिमण्डललाई सोधे–‘यस्तो कठिनाइ छ भनेर भन्सार चिफलाई भन्नु भएन ?’

प्रजिअले समस्याको चौतर्फी जानकारी लिएकोमा टोलीका सदस्यहरू प्रसन्न भएका थिए । ‘व्यवसायीका पीरमर्का सोधी सोधी सुन्ने राम्रो बानी रहेछ’, कुचो व्यवसायी सङ्घका केन्द्रीय सदस्य कृष्ण कनालले प्रजिअलाई भेटिसकेपछि बताए–‘कुचोको निर्यात रोकिएकोमा उहाँले सहानुभूतिपूर्वक चासो राख्नु भयो ।’

प्रजिअ भुजेलले मेची भन्सार, जिल्ला प्रहरी कार्यालय र मेची उद्योग वाणिज्य सङ्घसँग कुचो निर्यात खुलाउने विषयमा छलफल चलाएर समस्याको समाधान खोज्ने प्रतिबद्धता जनाएका छन् । उनले कुचोको ट्रकमा सुपारी फेला परेको विषय समेत कोट्याउँदै अबोप्रान्त त्यस्तो गल्ती दोहोरिन नदिन व्यवसायीलाई सजग गराएका छन् ।

उद्योग वाणिज्य सङ्घ र कुचो व्यवसायीहरूले आइतवार नै जिल्ला प्रशासन कार्यालयमा समस्या समाधानका लागि पहल गरिदिन भन्दै निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: