सीमामा अझै सुँघेरै जाँचिन्छ माछा

  प्रकाशित मिति
१६ फाल्गुन २०७४, बुधबार १५:५०


 काँकरभिट्टा । व्यापारीले पोकाबाट एउटा बल्ड्याङ्ग्रे माछा निकालेर थमाउँदै भन्छ–‘जाँचिदिनुस् हजुर, यही हो मैले इन्डियाबाट ल्याएको ।’

एनिमल क्वारेन्टाइन चेक पोस्टको प्राविधिकले माछालाई ओल्टाई पल्टाई हेर्छ, घरि कोट्याउँछ, घरि नाक दलेर सुँघ्छ र सोध्छ–‘सडेको माछा ल्याएको हो कि क्या हो ?’

‘होइन हजुर, हातले पनि छाम्नुस् न, थाहा पाइहाल्नु हुन्छ नि ताजा माल हो, गन्हाइहालेको छैन’–व्यापारीले एनिमल क्वारेन्टाइनको प्राविधिकलाई जाँच्न सिकाउँदै भन्छ ।

त्यसपछि ‘भैगो भैगो’ भन्दै प्राविधिकले एउटा लेटर प्याडमा ‘फ्रेस माछा’ लेखेर प्रमाणपत्र दिन्छ ।
उल्लेखित दृश्य काँकरभिट्टामा भारतबाट आयातीत माछा जाँचको हो ।

अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकरभिट्टामा भने स्थापनाकालदेखि नै प्राविधिकहरुले ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका छन् ।

‘भारतबाट आएका मरेका माछा तपाइँहरु कसरी जाँच्नु हुन्छ ?’–मङ्गलवार दिउँसो काँकरभिट्टास्थित एनिमल क्वारेन्टाइन चेक पोस्टका प्राविधिक रामसेवक यादवलाई प्रश्न सोधिएको थियो ।

‘पहिला छाम्छौँ, कत्ला–भुत्ला हेर्छौँ’, उनले सहजै भने–‘सडेको, गन्हाएको छ कि भनेर सुँघ्छौँ ।’

मेचीनगरका नगरप्रमुख विमल आचार्यले ‘कुनै पनि खाद्य वस्तुको विषादी चेक नगरी भित्रिन नदिनु’ भनेर उर्दी जारी गरेकै भोलिपल्ट नाकाको चेकजाँचको स्थिति बुझ्न जाँदा माछा जाँच्ने पुरानै पाराको निरन्तरता भेटिएको हो ।

काँकरभिट्टाबाट आयात हुने भारतीय माछा झापाको राजमार्ग छेउछाउ र मेची अञ्चलका पहाडी जिल्लाका अधिकांश बजारमा सप्लाई हुने गरेको छ ।

तर ती माछा छाम्छुम् र सँुघसाँघ बाहेक कुनै जाँच हुने गरेका छैनन् । यसबाट आयातीय माछामा मिसाइने हानिकारक फर्मालिन जस्तो विषाक्त रसायनको जोखिम धेरै छ ।

लाशलाई प्रयोगशालामा जाँच्नु पर्दा धेरै दिनसम्म नसडोस् भनेर फर्मालिन लगायतका विषाक्त रसायन प्रयोग गर्ने चलन छ । तर यो रसायन अचेल मरेका माछालाई धेरै लामो समय अवधिसम्म टिकाउन प्रयोग गर्न थालिएको चर्चा छ ।
फर्मालिन प्रयोग भएको माछा हेर्दा फ्रेस र राम्रो देखिने गर्छ । तर यस्तो रसायन मिसिएको माछा खाँदा मानिसलाई क्यान्सर लगायतका रोग लाग्ने सम्भावना हुने विभिन्न अनुसन्धानले बताउँदै आएका छन् ।

मेचीनगर माछा भित्रिने पूर्वका मुख्य नाका भएकाले फर्मालिन प्रयोग भएको र सडेको माछा भित्रिन नदिन काँकरभिट्टामा प्रयोगशाला स्थापना गर्न जरुरी देखिन्छ ।

काँकरभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०७३÷०७४ मा एक हजार ६ सय ७५ मेट्रिन टन माछा र ८३ मेट्रिन टन सिद्रा नेपाल भित्रिएको क्वारेन्टाइन चेक पोस्टले जनाएको छ ।

भारतबाट आउने माछाको मात्रा केही वर्ष घट्दै गएको भए पनि नेपाल यसमा आत्मनिर्भर भने हुन सकेको छैन ।
‘सँुघेर र छामेर जाँच्ने हाम्रो रहर होइन’, क्वारेन्टाइनका जाँचकी प्राविधिक रामसेवक यादव आफ्नो बाध्यता सुनाउँदै भन्छन्–‘एउटा राम्रो ल्याव भइदिएको भए यस्तो गर्नु पर्ने थिएन ।’

वर्षेनी १६ सय मेट्रिन भन्दा बढी आयात हुने माछा जाँच गर्ने क्रममा काँकरभिट्टाको एनिमल क्वारेन्टाइन कार्यालयले एकपटक पनि गुणस्तरहीन भनेर रोकेको घटना छैन ।

‘व्यापारको माल हो, रोक्नु पनि भएन’, क्वारेन्टाइनका अर्का एक कर्मचारी सुनाउँछन्–‘खराब भन्ने आधार केलाई मान्नु ? ल्याव भए पो प्रमाणित गर्नु !’

फर्मालिन जाँच्नका लागि हाल विराटनगर वा काठमाडौँस्थित क्वारेन्टाइनकै प्रयोगशालामा नमुना पठाउनु पर्ने विकल्प भएको कर्मचारीहरु बताउँछन् ।

तर जाँच्नका लागि एउटा सेम्पलको ९ सय रुपैयाँ तिर्नु पर्ने र पठाउन झन्झटिलो भएका कारण हाल छामेको र सुँघेकै भरमा स्वस्थताको प्रमाणपत्र जारी हुँदै आएको बताइन्छ ।

क्वारेन्टाइनका एक सहयोगी कर्मचारीले कार्यालयमा भएको फर्मालिनको बोतल र त्यसलाई जाँच्ने तिन वटा किटको नमुना पनि देखाए । तर कुनै जमानामा ल्याइएका ति किट प्रयोगका लागि नभएर देखाउनका लागि मात्र राखिएको रहेछ ।

मेचीनगरका नगरप्रमुख आचार्यले नाकामा विषादी मिसाइएका माछा लगायतका खाद्य वस्तुको आयात रोक्न दिएको निर्देशन पूर्ण पालना गर्न जनशक्ति थप्नु पर्ने र उच्च प्रविधिको प्रयोगशाला स्थापना गर्नु पर्ने बताउँछन् कर्मचारीहरु ।

हाल चेकपोस्टमा एक अधिकृत र दुई प्राविधिकसहित ३ जनाको दरबन्दी छ । भन्सार कार्यालय भवनको माथ्लो तलामा इन्टरमोडलले भाडामा लगाएको कोठामा एनिमल क्वारेन्टाइनको चेकपोस्ट रहेको छ ।

मेचीनगरका नगरप्रमुख आचार्यले फर्मालिन मिसाइएको माछा भित्रिन नदिने बताउँदै आएका छन् ।

नगरप्रमुख आचार्यले सोमवार आफ्नै कार्यकक्षमा एनिमल क्वारेन्टाइन, खाद्य क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन र भन्सार कार्यालयका प्रमुखहरुलाई छलफलमा बोलाएर नाकाबाट अखाद्य, गुणस्तरहीन र प्रतिबन्धित बस्तुको आयात रोक्न कडा निर्देशन दिएका थिए ।

नगर प्रमुखको निर्देशन र सोच राम्रो भए पनि काँकरभिट्टामा विषादी जाँच्ने प्रयोगशाला स्थापना नगरिएसम्म उनले दिएको निर्देशन परिणाममुखी हुने कुरामा शङ्कै छ ।
…………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: