सीमामा अलपत्रको तत्कालै उद्धार गरिने, सङ्ख्या २० हजारसम्म पुग्न सक्ने

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार १७:५१


कोरोना त्रास फैलिन सुरु भएका बेला काँकरभिट्टा नाकाबाट नेपाल भित्रिरहेका नेपाली । (फाइल फोटो)

भद्रपुर, ३ जेठ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा नेपाली नागरिकहरुलाई उद्धार गरेर ल्याउनु सरकारको दायित्व भएको बताउँदै तत्कालै उद्धार कार्य थालिने जनाएका छन् ।

झापा जिल्लाको काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा र कचनकबल नाका नजिक आएर अलपत्र रहेका २० हजारसम्म नेपालीलाई उद्धार गरेर सुरक्षित रुपमा ल्याउन प्रदेश सरकारले प्रक्रिया थालिसकेको मन्त्री कार्कीले बताए । उनका अनुसार हाल एक हजार मात्र सीमा नजिक भारतीय क्षेत्रमा रहेका छन् ।

झापा जिल्ला कोरोना रोकथाम समितिले शनिवार भद्रपुरमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै मन्त्री कार्कीले उक्त जानकारी दिएका हुन् । यसका लागि होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई मन्त्रीले निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले भारतबाट ल्याइने नेपालीहरुलाई राख्न काँकरभिट्टा माध्यमिक विद्यालय र मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर निर्माण गरिएको जानकारी दिए ।

उद्धार गरिएका नेपालीहरुलाई १ नं. प्रदेशको भए जिल्ला सदरमुकामसम्म र अन्य प्रदेशको भए प्रदेश राजधानीसम्म पुर्याइने पोर्तेलले बताए ।

भारतमा रेल यातायात सञ्चालनमा आएपछि अलपत्र नेपालीहरु सीमा नजिक आइपुगेका हुन् । झापाको विभिन्न सीमानाका नजिक शनिवारसम्म आइपुगेका ८ सय ५३ जनाको विवरण सङ्कलन भइसकेको जनाउँदै प्रजिअ रानाले यो सङ्ख्या दिनानुदिन बढिरहेको बताए । सङ्कलित नाममध्ये ३२३ जना कर्णाली प्रदेशका, एक जना झापाका र बाँकी अरु जिल्लाका रहेका छन् ।

भारतबाट ल्याइने नेपालीहरुलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरिने र कोरोना नभएको निश्चित गरेर मात्र उनीहरुको घर पठाइने भएको छ ।

बैठकमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश सांसदहरु र झापाका १५ तहकै स्थानीय सरकारका प्रमुखहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: