सीमावर्ती बजारमा अझै सङ्कट

  प्रकाशित मिति
९ मंसिर २०७३, बिहीबार १०:४७


काँकरभिट्टा । भारत सरकारले ५ सय र १ हजार रुपैयाँ दरका नोट प्रतिबन्ध गरेपछि नेपालमा पनि ठूलै समस्या सिर्जना भएको छ । भारतीय बजारमा किनमेलका लागि जाने गृहिणीदेखि सर्वसाधारण र व्यापार–व्यवसायीसम्म पनि भारतीय रुपैयाँको प्रतिबन्धबाट प्रताडित भएका छन् ।

नेपाली कृषि उत्पादनले थेग्न छाडेपछि सर्वसाधारणले भारतीय बजारमा गएर सामग्री खरिद गर्दै आएका छन् । तर, भारु प्रतिबन्धपछि नेपाली नागरिकसँग भएको जगेडा मुद्रा साट्नै समस्या भएको छ । नागरिकको मात्रै होइन, नेपाल सरकारको ढिकुटीमा रहेको लाखौँ रकम के हुने भन्ने विषयमा चिन्ता सिर्जना भएको छ । गोर्खाली फौज अन्तरगत भारतका विभिन्न ठाउँमा कार्यरत नेपाली युवाले घरमा रहेकी बिरामी आमाको उपचार, बृद्ध बुवाको स्याहार अनि छोराछोरी र श्रीमतीको आहार र घर व्यवहारका लागि ल्याएको भारतीय रुपैयाँ कागजको खोष्टो हुने स्थिति सिर्जना भएको छ । त्यसैले नेपाल सरकारले यस विषयमा गम्भीर ढङ्गले भारत सरकारसँग सम्वाद गर्नु पर्छ ।

मुलुकमा रहेको भारतीय रुपैयाँ नसाटिए आर्थिक स्थिति अझै डामाडोल हुने निश्चित छ । किनभने कृषिमाथिको परनिर्भरता बढेको छ । भारतीय बजारकै भरमा नेपाली चुल्हो बल्ने गरेको छ । त्यसैले भारतीय मुद्राका विषयमा देखिएको समस्या तत्काल समाधान गर्न उद्योग वाणिज्य क्षेत्रका अगुवाहरुले नेपाल सरकारसँग माग गरेका छन् ।
rambahadur-tamangरामबहादुर तामाङ, सचिव
क्षेत्रीय होटल व्यवसायी सङ्घ मेचीनगर
भारतीय रुपैयाँका ५ सय र १ हजार दरका नोट प्रतिबन्ध गर्ने निर्णय स्वयम् भारत सरकारकै हो । यसमा केही भन्नु छैन । तर, भारुमाथि प्रतिबन्धपछि सिर्जित सङ्कट ज्यादै भयावह छ । नेपाली सीमावर्ती बजार भारतको भरमा र भारततर्फका सीमावर्ती बजार नेपालको भरमा छन् । यी बजार एक अर्काका परिपुरक पनि हुन् ।

भारतीय रुपैयाँको प्रतिबन्धले होटल र पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । अहिले भारतीय पर्यटकको संख्यामा भारी गिरावट आएको छ । व्यापार–व्यवसाय ठप्प छ । बंगलादेशबाट आउने पर्यटक पनि घटेका छन् । ग्रुपिङ भिषा मात्रै दिइएपछि बंगलादेशी पर्यटक आउने क्रम घटेको हो । भारतीय रुपैयाँमाथि प्रतिबन्धपछि अर्थतन्त्र अस्तव्यस्त छ । हामीले आन्तरिक उत्पादन बढाउन सकेको भए सायद भारु प्रतिबन्ध हुँदा पनि यस्ता सङ्कट आउने थिएन ।

नेपालका धेरै पर्यटकीयमा आउने भारतीय पर्यटकले भारतीय मुद्रा नै दिन्छन् । तर, उनीहरुले दिएको ५ सय र १ हजारका नोट साट्नै नपाउनु दुखद् छ । नेपाल सरकारले कुटनीतिक पहलबाटै यसको निकास निकाल्नु पर्छ ।

bijay-dalmiya

विजय डालमिया, निवर्तमान अध्यक्ष
मेची उद्योग वाणिज्य सङ्घ
पूर्वी नाका काँकरभिट्टा झापाकै सबैभन्दा धेरै भिडभाड हुने ठाउँ हो । विदेशी पर्यटक भित्रिने नाका हो काँकरभिट्टा । त्यही नाकाबाट ठूलो व्यापारिक कारोबार हुन्छ । किनमेल गर्न भारतीय बजारमा जाने नेपालीले भारतीय मुद्रा प्रयोग गर्छन् । नेपालमा रोजगारीका लागि आउने भारतीय नागरिकलाई पनि भारु नै दिनु पर्छ । तर, भारत सरकारले ५ सय र १ हजार दरका मुद्रामा गरेको प्रतिबन्धले आमनेपालीलाई पनि समस्या परेको छ ।

भारतीय रुपैयाँको बढ्दो सङ्कटले व्यापारी व्यवसायीलाई समस्यामा पारेको छ । पहिले १ लाख भारु साट्न ४–५ हजार रुपैयाँ लाग्थ्यो । तर, अहिले २५ हजारसम्म तिर्नु परिरहेको छ । पूर्वी नाकाबाट भित्रिने मालबाहक साधन ट्रक कन्टेनर आदिको भुक्तानी गर्न अत्यन्तै समस्या परिरहेको छ । हामीले आयात गर्ने सामग्रीको भुक्तानी गर्नै नसक्ने स्थिति आएपछि व्यापार व्यवसाय सङ्कटोत्पन्न स्थितिमा पुग्ने निश्चित छ ।

काँकरभिट्टामा सञ्चालित क्यासिनो विदेशी पर्यटकका लागि हो । जहाँ भारतीय पर्यटकको राम्रो उपस्थिति हुने गथ्र्यो । तर, भारु प्रतिबन्धपछि कारोबार भारी मात्रामा घटेको छ । राज्यले ठोस पहल गरी भारुको सङ्कट निवारण गर्नु पर्छ ।

bina-tamang

बिना तामाङ, वरिष्ठ उपाध्यक्ष
नेपाल उद्यमशील महिला महासङ्घ
भारत सरकारले कालो धन जफत गर्न मुद्रामाथि प्रतिबन्ध गर्यो । सङ्कट हामीलाई पर्यो । नेपालको पूर्व, दक्षिण र पश्चिम सीमा भारतसँग जोडिएको छ । आफ्ना उत्पादन बेच्न र हरेक दिन चाहिने सामग्री किन्नका लागि तमाम उपभोक्ता भारतीय बजारै पुग्छन् । भारतीय बजार नै सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ताको किनमेलको मुख्य थलो हो । अर्कोतर्फ सीमावर्ती क्षेत्रसँगै भ्रमणका लागि आउने भारतीय पर्यटकले पनि भारु नै लिएर आउछन् । त्यसैले नेपाली बजारमा भारतीय मुद्रा पाउनु स्वाभाविक हो ।

किनमेलका लागि भारतीय बजारमा जाने महिला तथा आमउपभोक्ता अहिले सास्ती पाइरहेका छन् । नेपाली १ हजार रुपैयाँ दिँदा ५ सय भारुको सामग्री दिएर ठगी गरिरहेका भारतीय व्यापारीहरुले । यसलाई रोक्न भारुको चर्किदो अभाव र नेपालीसँग रहेको रकम साट्ने पहल राज्यले गर्नु पर्छ । कुटनीतिक पहलबाट मात्रै यो समस्याको समाधान हुन सक्छ । सरकारले नेपाली नागरिकको ठूलो सम्पती गुमिरहेको स्थितिको मूल्याङ्कन गरी समस्या समाधानका लागि पहल गर्नु पर्छ ।

shankar-bhattarai

शंकर भट्टराई, अध्यक्ष
ट्राभल्स एशोसिएसन अफ झापा
एउटा मुलुकले आफ्नो मौद्रिक नीति आवश्यकता अनुसार परिवर्तन गर्छ । मुद्रा पनि फेर्न सक्छ, यो स्वाभाविक हो । तर, भारतले गरेको नोटबन्दीले नेपालमा समस्या पर्नु हँुदैन । २५ हजार रुपैयाँसम्म भारतीय मुद्रा एक जना नेपालीले राख्न सक्छ । यो नेपाल सरकारको निर्णय र प्रावधान अनुसार नै हो । भारतमा अध्ययन एवम् रोजगारीमा गएका नेपालीसँग भारतीय रुपैयाँ हुन्छ । व्यापार, व्यवसाय र स्वास्थ्योपचार गर्न जानका लागि जगेडा गरेर राखेका भारतीय ५ सय र १ हजार रुपैयाँका नोट अब कसरी साट्ने ?पशुपति नाथ मन्दिर, लुम्बिनी तथा अन्य पर्यटकीय स्थल भ्रमण गर्न आउने भारतीय पर्यटकले पनि भारु नै बोकेर आउँछन् । भारततर्फ आश्रित हुँदै गएको नेपाली सीमावर्ती क्षेत्रका नागरिकसँग पर्याप्त भारतीय नोट छन् । त्यो साट्ने वातावरण सरकारले बनाउनु पर्छ । यो राष्ट्रव्यापी समस्याको निकास चाहिन्छ, निकाल्नु पर्छ । भारु प्रतिबन्धपछि पर्यटन क्षेत्रमा कारोबार ७० प्रतिशतले गिरावट आएको छ । अब भारु सटहीका लागि राज्यले पहल गरेर नागरिकलाई राहत दिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: