सीमा छिचोलेर पर्यटन करिडर बनाउने प्रस्ताव

  प्रकाशित मिति
२५ असार २०७५, सोमबार १९:४९


मोहन काजी

मिरिक (भारत) । झापा–इलाम र भारतको दार्जीलिङ क्षेत्रको पहाडी भूभागलाई समेटेर अन्तरदेशीय पर्यटन करिडर बनाउनु पर्ने दुबै मुलुकका विज्ञहरुको धारणा आएको छ ।

समान भौगोलिक तथा वातावरणीय अवस्था भएको यस क्षेत्रमा दुबै देश मिलेर पर्यटन प्रवर्धनका लागि योजनाबद्ध कार्य गर्न सके यसले दुबै देशलाई फाइदा पुर्याउने उनीहरुको भनाई छ ।

दार्जीलिङको मिरिकमा दुई साता अघि आयोजना भएको ‘थर्ड इन्डो–नेपाल फ्रेन्डशिप मिट’मा भारतका पर्यटन अभियन्ता राज बसु र नेपालका अभियन्ता अर्जुनकुमार कार्कीले नेपालको बाहुनडाँगीदेखि इलाम हुँदै भारतको मिरिक र दार्जीलिङलाई करिडरमा समेट्न सकिने प्रस्ताव गरेका छन् ।

‘हामी दुबै देशको बोर्डरमा बस्दै आएका बासिन्दालाई ग्रामीण पर्यटनको एउटै मालामा गाँस्न चाहिरहेका छौँ’–झापाको ग्रीन जेनेरेसनका अध्यक्ष समेत रहेको पर्यटन अभियन्ता अर्जुनकुमार कार्कीले कार्यपत्र प्रस्तुत गर्दै भने ।

राज बसु र अर्जुनकुमार कार्की

सीमा क्षेत्रमा ग्रामीण पर्यटन फस्टाउने प्रशस्त सम्भावना भए पनि अहिलेसम्म कतैबाट प्रयास नभएको जनाउँदै पर्यटन क्षेत्रका भारतीय विज्ञ राज बसुले अहिले समस्या ठानिएको जङ्गली हात्ती र दुर्गम वस्तीहरु नै ग्रामीण पर्यटनको आधार हुने बताए ।

बसुले नेपाल र भारत दुबै देशका सरोकारवालाहरुलाई पर्यटन करिडरको प्रवर्धनका लागि व्युँझिन आह्वान समेत गरेका छन् ।

कोलकातास्थित नेपाली महावाणिज्य दूत एकनारायण अर्यालले प्रमुख अतिथिको आसनबाट कार्यक्रममा बोल्दै बसु र कार्कीको ग्रामीण पर्यटनसम्बन्धी अवधारणाको समर्थन गर्दै नेपाली पक्ष यस विषयमा भारतसँग सहकार्य गर्न तयार रहेको बताए ।

‘पर्यटनको कुनै सीमा हुँदैन’, महावाणिज्य दूत अर्यालको धारणा छ–‘प्रदेश नं. १ र पश्चिम बङ्गालको प्रादेशिक सरकारविच साझा पर्यटकीय सम्भावनाका विषयमा विशेष अग्रसरता हुनु जरुरी छ ।’

सीमाका दुबै क्षेत्रमा नेपालीभाषीको वाहुल्य भएको र त्यहाँका वासिन्दाको रहनसहन र संस्कृति समेत मिल्दोजुल्दो भएकाले पर्यटन करिडर निर्माणमा जनस्तरबाट सहयोग मिल्ने अर्यालले आशा व्यक्त गरेका छन् ।

३ महिनापछि काठमाडौँबाट कोलकातासम्म बुद्ध एयरले सीधा हवाई उडान गर्ने र प्रदेश नं. १ सरकारले समेत विराटनगर विमानस्थतलबाट अन्तर्राष्ट्रिय उडानको पहल गरिरहेको जनाउँदै अर्याल नेपालको समृद्धिको एउटा आधार पर्यटन नै भएको बताउँछन् ।

मिरिकको होटल जगजितमा भएको इन्डो–नेपाल फ्रेन्डशिप मिटको तेस्रो संस्करणमा दुईदेशीय पर्यटन करिडर निर्माणका लागि महत्वपूर्ण आधार बनोस् भन्दै दुबै देशका पर्यटन क्षेत्रका सरोकारवालाहरुले कामना गरेका थिए ।

कार्यक्रममा झापाका प्रजिअ जनकराज दाहाल, इलामका प्रजिअ श्रवणकुमार तिम्सिना, झापाका डीएफओ बोधराज सुबेदी, इलामका डीएफओ भरतबाबु श्रेष्ठ लगायतको महत्वपूर्ण उपस्थिति थियो ।

कार्यक्रममा अतिथिको रुपमा सहभागी मेचीनगरका नगरप्रमुख विमल आचार्यले मेची भ्याली पर्यटकीय सम्भावनाले भरिएको चर्चा गर्दै हात्ती टुरिज्मको विकासका लागि दुबै देश मिलेर अघि बढ्नु पर्ने धारणा राखेका थिए ।

नगरप्रमुख आचार्यले मेचीनगर, रोङ र बु्द्धशान्ति मिलेर ग्रामीण पर्यटनको प्रवर्धन गर्न संयुक्त गतिविधि सुरु गरिएको समेत जानकारी दिएका थिए ।

झापाका डीएफओ बोधराज सुबेदी ग्रामीण पर्यटनलाई अघि बढाउन सके हात्ती–मानव द्वन्द्व समेत न्यूनीकरण भएर जाने बताउँछन् ।

पर्यटकीय स्थल बहुबनको बेशीशहर

नेपालको जलथलदेखि बाहुनडाँगीसम्म हाल प्रस्तावित हात्ती करिडरमा सरकारले ६ करोड लगानी गर्न लागेको उनी बताउँछन् ।

संसारभरि वाल्डलाइफ टुरिज्म फस्टाइरहेको बेला नेपाल र भारतको सीमामा यस्तै अवधारणा आउनु स्वागतयोग्य भएको पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख अभयकुमार गुप्ता बताउँछन् ।

गुप्ताले फ्रेन्डशिप मिटमा नेपालको प्रदेश नं. १ का पर्यटकीय स्थलहरुको बारेमा विशेष प्रस्तुति दिएका थिए ।

नेपाल–भारत सीमा क्षेत्रको पर्यटन करिडरका एक जना प्रस्तावक अर्जुनकुमार कार्की काँकरभिट्टाबाट श्रीअन्तु हुँदै मिरिकसम्मको पदमार्गको पहिचान भइसकेको बताउँछन् ।

पदमार्ग, होमस्टे र जङ्गल सफारी जस्ता विषयमा लगानी बढाएर ग्रामीण पर्यटनमा सरकार र नागरिक स्तरबाट कार्यक्रमहरु ल्याइनु पर्ने भन्दै मिरिक घोषणा पत्र समेत जारी भइसकेको छ ।

मेची नदीको वारि र पारिलाई समेटिने यस पर्यटकीय विकासको अवधारणा कार्यान्वयनमा दुबै मुलुकका सरकार अग्रसर हुन सके बोर्डर क्षेत्रका बासिन्दाको जीवनस्तरमा ठूलो परिवर्तन आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: