‘सुखानीका सहिद’को सम्मान

  प्रकाशित मिति
२१ फाल्गुन २०७२, शुक्रबार ०४:१९


आजभन्दा ४३ बर्ष अघि सुखानीमा पञ्चायती शासकद्वारा हत्या गरिएका पाँच जना कम्युनिष्ट कार्यकर्तासहित नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका २२ जना योद्धालाई सरकारले ढिलै भए पनि ‘सहिद’को सम्मान दिएको छ । झापा विद्रोहको रुपमा इतिहासमा चिन्हित बहुचर्चित आन्दोलनको जगमै हालको प्रमुख बामपन्थी पार्टी नेकपा एमाले लगायत आधा दर्जन राजनीतिक दलहरू उभिएका छन् । अर्को बामपन्थी दल एकीकृत माओबादीले समेत झापा विद्रोहलाई प्रेरणाको स्रोत मान्दै आएको छ । सरकारका तर्फबाट भएको यो घोषणा स्वागतयोग्य छ ।

२०४६ सालपछि राज्यले देश र जनताको पक्षमा आन्दोलित हुँदा ज्यान अर्पिनेहरूलाई ‘सहिद’को दर्जा दिने व्रmम सुरु भयो । कसलाई सहिद घोषणा गर्ने भनेर त्यसबेला राजनीतिक समिति नै सरकारले गठन गरेको थियो । सहिद तथा पीडित परिवारलाई राज्यका तर्फबाट राहत सहयोगसमेत उपलब्ध गराउने कार्य त्यहीबेलादेखि सुरु भएको हो, जो अझसम्म अनेकरुपमा जारी छ । दश बर्षे माओबादी विद्रोह र मधेश विद्रोहपछि सहिदको परिभाषा अलि खुकुलो बन्यो । जसले कतिपय अवस्थामा विकृतिलाई समेत निम्त्यायो । तथापि जीवन उत्सर्ग गर्ने सहिदप्रति दलीय वा अन्य कुनै पनि विभेदको चश्माले हेरिनु हुँदैन । सहिद कुनै एउटा पार्टीको वा कुनै जातिको मात्र हुनु हुँदैन । तर यो मान्यता विस्तारै विटुलिदै गएको छ । राज्यले सहिद घोषणा जस्तो विषयलाई हलुका विषय ठान्नु हुन्न ।

झापा विद्रोह लगायतका थुप्रै राजनीतिक आन्दोलनमा लोकतान्त्रिक योद्धाहरूले जीवन गुमाएका छन् । प्रजातन्त्र पुनःवहालीपछि दर्जनौँ सरकार फेरिरहँदा समेत सुखानी काण्डका सहिदप्रति राज्य वेखवर जस्तै रहेको असुहाउँदो नै भएको थियो । अहिले ६ जनालाई सहिद घोषणा गरिएको छ, अरु थुप्रै बाँकी नै छन् । धनकुटाको छिन्ताङ र सिन्धुपाल्चोकको टिम्वुरबोटे काण्डका सहिदलाई राज्यले अझै सम्मान दिन सकेको छैन । सुखानीका सहिदको योगदानको एउटा ज्वलन्त नमुना स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली पनि हुन् । उनी आज जुन पदमा पुगेका छन्, त्यसमा सहिदको बलिदानको पृष्ठभूमिलाई विर्सन मिल्दैन । सुखानीका सहिदहरू स्वयम् प्रधानमन्त्रीका सहयोद्धा थिए । अब राज्यले सुखानीमा जीवन अर्पण गरेका सहिद र लामो समय जेलनेल भोगेका सानो दुर्गा अधिकारी जस्ता ओझेलमा परेका परिवारलाई राहत पुर्याउने विषयमा पनि गम्भीर भएर सोच्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: