सुखानी सहिद पार्कमै बन्यो व्यायमशाला

  प्रकाशित मिति
२४ पुष २०७६, बिहीबार १४:३५



राजकुमार ओली
विर्तामोड २४ पुस (रासस) ः कछुवा संरक्षण केन्द्र, सहिद पार्क र पोखरीमा नौका विहार गर्न आउने पर्यटकीयस्थल सुखानी स्मृति उद्यान पार्कमा व्यायमशाला निर्माणसँगै आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

झापाको अर्जुनधारा नगरपालिका– ९ मा रहेको पार्कमा संघीय तथा प्रदेश सरकारको संयुक्त लगानीमा व्यायमशाला निर्माण गरिएको हो । पर्यापर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि संघ र प्रदेशले पार्कमा गत आर्थिक बर्षमा रु. दुई करोड बजेट विनियोजन गरेको थियो ।

सोही बजेटमध्ये रु. सात लाखको लगानीमा व्यायमशाला निर्माण गरिएको सुखानी स्मृति पार्कका व्यवस्थापक पुष्प तिवारीले बताए । प्रायः पार्क घुम्न र पिकनिक खानका लागि दिउँसो मात्र पर्यटक आउने पार्कमा यतिबेला व्यायमशालामा शारीरिक व्यायम गर्नका लागि विहानैदेखि भिड लाग्न थालेको उनको भनाई छ ।

शान्त र फराकिलो ठाउँ भएका कारण एक महिना अघि मात्र स्थापना भएको व्यायमशालामा दैनिक ३० देखि ४० जना आउने गरेका छन् । व्यायम गर्न आउनेमा युवादेखि ज्येष्ठ नागरिकसम्म रहेको स्थानीय लवकुश गौतमले बताए ।

नमुना सामुदायिक बन भित्र रहेको २४.४ हेक्टरमा रहेको पार्कमा व्यायमशालासँगै संघ र प्रदेशको बजेटबाट पार्कभित्र बाल उद्यान, विश्रामस्थल, बनक्षेत्र वरिपरि काँडेतारको घेरावारा, कछुवाको प्रतिमा, पोखरीमा ढुङ्गे पर्खाल, चमेना गृहलगायतका भौतिक संरचना निर्माण गरिएको सुखानी शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले बताए ।

वि.सं. २०५८ सालदेखि प्रतिष्ठान निर्माणमा दु्रतगतिमा लागेको उद्यानमा हालसम्ममा रु. ५ करोडभन्दा धेरै लगानी भइसकेको उनले बताए । पूर्व पश्चिम राजमार्गको चारआली चोकबाट दुई किलोमिटर र अर्जुनधारा नगरपालिकाबाट सोही दुरीमा रहेको पार्ककमा दैनिक तीन सय बढीले अवलोकन गर्दै आएका छन् ।

संघीय सांसद पवित्रा निरौला खरेल, प्रदेश सभासद विर्ख प्रधान, एकराज कार्कीदेखि पुर्व सांसदहरु सिपी मैनाली विश्वश्वरा दाहाल, प्रेम गिरीलगायतको सांसद विकास कोषको बजेटबाट पार्कलाई उत्कृष्ट गन्तव्य स्थल बनाउन लगानी गरेका छन् ।

तत्कालीन झापा विद्रोहका सहीदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजबंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठको शालिक समेत रहेको यस ऐतिहासिक स्थानलाई पूर्वको नमूना पर्यटकीय स्थल बनाउन अर्जुनधारा नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख हरि रानाले बताए । उनले भन्नुभयो, ‘अर्जुनधारा नगरमा महाभारतकालीन इतिहाससँग जोडिएको पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा धाम र तत्कालीन झापा विद्रोहसँग जोडिएको सुखानी पार्क अन्य पर्यटकीय स्थलभन्दा धेरै महत्व बोकेका छन् । यस क्षेत्रको पर्यापर्यटनमा हाम्रो विशेष भूमिका हुन्छ ।’

वि.संं. २०५६ सालमा बन विभागबाट स्विकृति लिई पर्यटकीय स्थान बनाउन लागि परेको उद्यानसम्म पुग्नका लागि पूर्वपश्चिम राजमार्गदेखि फराकिलो काला पत्रे गरेको सडक छ ।

हाल उद्यानमा भ्युटावर, स्वीमिङ पुल बनाउनका लागि योजना अघि सारिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । पार्कमा सहीद बारे र कुछुवा संरक्षण केन्द्र बारे अध्ययनका लागि नेपाल, भारत, भुटान र बंगलादेशदेखिका विद्यार्थी आउने गरेका छन् ।

खानेपानी, विजुली, शौचालयलगायतको राम्रो व्यवस्था भएको पार्कको वरिपरि ससाना पसलहरु प्रशस्त खुलेका छन् । जहाँ आउने पर्यटकले उनीहरुको रुची अनुसारको नास्ता र खाना खाने गरेको पार्कका व्यवस्थापक तिवारीले बताए ।

यहाँ आउने पर्यटकलाई सुरक्षा प्रदानका लागि प्रवेशद्वारमै प्रहरीको वीट समेत रहेको छ । नेपाल भ्रमण बर्ष २०२० सफल पार्नका लागि पार्कले पर्यटकहरुलाई आकर्षण गर्न व्यायमशाला पनि उपयोगी हुने नगरप्रमुख रानाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: