सुख थोरै घडी संघर्ष जीवनभरि

  प्रकाशित मिति
९ आश्विन २०७३, आईतवार १०:२७


kiran-timsina2गरामनी । भागवत गीतामा भनिएको छ – ‘जीवनको उद्धारका लागि केबल सहयोगी मित्रको प्रेम र परिवार चाहिन्छ ।’ तर, हाम्रो समाजमा धेरै बालबालिका अभिभावकविहीन छन्, परिवारको माया कस्तो हुन्छ भन्ने कहिल्यै महसुस गर्न पाएका छैनन् । तीमध्ये कति त रोगले थलिएर जीवन र मरणको दोसाँधमा पुगेका हुन्छन् । कत्तिको अकालमा जीवनको गति रोकिन पुग्छ । तर, हाम्रो समाजमा एकाध मानिस पनि छन्, जसले अरुका छोराछोरीलाई पनि आफैले जन्माएसरह लालनपालन गर्छन् । र, गम्भीर किसिमका रोगको उपचार गर्न दिनरात नभनी खट्ने गर्छन् ।

झापाको गरामनी–३ हर्चनाकी ५९ वर्षीया किरण तिम्सिनाले पनि यसरी नै सामाजिक सेवाको बाटोमा आफूलाई समर्पित गरेकी छिन् । कयौं मुटु रोगी बालबालिकाले उनलाई जीवनमा दोस्रो पटक जन्माउने अथवा जीवनदान दिने आमा मान्छन् । उनी अहोरात्र मानवीय सेवामा खटिइरहेकी हुन्छन् । हर्चना चोकबाट आधा किलोमिटर दक्षिणमा रहेको तिम्सिना गाउँमा पुग्दा प्रायः उनको घरको मुल ढोकामा ताला झुण्डिएकै हुन्छ । ‘कहाँ जानु भयो त ?’ छरछिमेकीको सदाबहार उत्तर हुन्छ – ‘साँहिली भाउजु त बिरामी लिएर घोपा जानु भएको छ । अथवा कसैको मुटुको अप्रेसन गर्नु पर्ने रे, सहयोग सङ्कलन गर्न जानु भएको छ ।’ कसैलाई मुटुको सामान्यदेखि जटिल किसिमको सङ्क्रमण भए गरामनीसँगै झापाका धेरै गाउँ र मेची अञ्चलका पहाडी जिल्लाका नागरिककी भरोषा ‘साहिली भाउजु’ अर्थात किरण तिम्सिना नै हुन् ।

किरणको कर्मकथा
जीवनको रहरलाग्दो उमेरमा श्रीमान् गुमाएको चोट र शोकलाई शक्तिमा बदल्न सक्ने सामाजिक कार्यकर्ता किरण तिम्सिनाको संघर्ष ज्यादै प्रेरणादायी छ । ताप्लेजुङको फुङलिङ–३ निबासी आमा जानुका र बुवा शेषराज पौडेलकी जेठी सुपुत्री किरणको विवाह वि.सं. २०३२ सालमा पाँचथर थर्पु–३ का गणेश तिम्सिनासँग भयो । सिनाम माविमा कक्षा–१० मा पढ्दापढ्दै वैवाहिक जिम्मेवारीले उनलाई छोप्यो । ‘सेन्टअप परीक्षा पास भएँ, तर विवाह भएपछि पढाई अगाडि बढाउन पाइँन’, तिम्सिनाले लोकतन्त्र पोस्टसँग भनिन् – ‘विवाहपछि अझै ठूलो संघर्ष शुरु भयो ।’

आठ वर्षको उमेरमा आमाको निधन भयो । बुबा पनि परदेश लागेपछि जेठी छोरी किरणको काँधमा स–साना २ वटी बहिनी हुर्काउने जिम्मेवारी आयो । काकाकाकीको साथ सहयोग र भरोषाले उनमा केही गर्नुपर्छ भन्ने साहस र हौसला जागेको थियो । परिवार शिक्षित भएकैले आफूले पढ्न पाएको बताउने उनको पढाई अब्बल दर्जाको थियो । प्रावि तह देउलिङ्गे प्राविबाट सकेकी उनी नजिकै मावि तहको स्कूल नभएकाले सिनाम पुगेकी थिइन् ।

विवाह भएकै वर्षमा श्रीमान गणेश तिम्सिनाका साथ सुनौला सपना बोकेर किरण पनि झापा आइन् । २०३२ सालमा झापा आएका उनीहरु करिब ९ वर्ष मात्रै साथसाथै रहन पाए । सरकारी स्वामित्वमा रहेको साझा सहकारीका लेखापाल गणेश र स्वयम् सेविका भएर सामाजिक कार्यमा खटिने किरणको खुसी कठोर नियतीले देखिसहेन । र, वि.सं. २०४१ साल मङ्सिर १२ गते गणेशले सदाका लागि बिदा लिए । फेरि एक पटक किरणमाथि बज्रपात आइपर्यो । सहिनसक्नु पीडाले उनी स्तब्ध भइन् । तर, ६ वर्षे, ४ वर्षे र अढाई वर्षे छोरी तथा भर्खरै एक वर्ष पुगेको छोरालाई भरणपोषण र शिक्षादिक्षा दिने दायित्व किरणमाथि थपियो । २३ वर्षको उमेरमै श्रीमानको वियोगमा परेकी उनी घरपरिवार समेट्ने कार्यसँगै सामाजिक दायित्व पनि सम्हाल्दै गइन् । ‘आफूले सङ्घर्ष गरेको सम्झिएर पनि अरुलाई सहयोग गर्नु पर्छ भन्ने लाग्छ’, उनले थपिन् – ‘महिला स्वयम् सेविका भएकाले कसैलाई गाह्रो अप्ठ्यारो परे आउने र जटिल रोग लागेकाहरुलाई पैसा उठाएरै भएपनि उपचारमा लान थालेँ, यही शिलशिला अहिलेसम्म चलिरहेको छ ।’

संयुक्त परिवारमा बसेपछि ठूलाले सानालाई काममा सदाउनु पर्छ, दासझै पेलाउनु पर्छ भन्ने दरिद्र मानसिकता अहिले पनि नेपाली समाजमा छ । ३०–३५ वर्ष अघि त त्यो कुसंस्कार अझै व्याप्त थियो । किरण पनि त्यस्तो पारिवारिक दलनमा परिन् । अनि वि.सं. २०५० मा कलिला ३ छोरी र छोरो लिएर उनी अलग भइन् । अलग्गै बस्न थालेपछि उनीमाथि पारिवारिक दायित्व र चुनौती अझै थपियो । स–साना आवाजले पनि उनी तर्सिन पुग्थिन् । चोरको बिगबिगी थियो । साँझैपिच्छे ढोका ढक्ढक्याउने र घर बाहिरका सामान उठाएर लाने गिरोहले आजित पारेको थियो । बेलुका ११ बजेदेखि २ बजेसम्म छोरी र छोरीलाई काखी च्यापेर बस्ने गरेको उनी अहिले पनि झल्झली सम्झिन्छिन् । ‘२ बजेपछि गाउँका अरु मान्छे उठ्ने बेला हुन्थ्यो’, उनी भन्छिन् – ‘अनि चोर भाग्छ भनेर सुत्ने गथ्र्यौं ।’ ऋण खोजेर छोराछोरी पढाएपनि उनले कसैसँग हात पसारिनन् । छोराछोरीलाई पनि मेहनतमै विश्वास गर्न सिकाइन् । ‘मैले हिम्मत हारिन, छोराछोरीलाई उच्च शिक्षा दिन दृढ भएर लागे, निष्ठाका साथ समाज सेवामा पनि लागिरहेँ’ – उनले भनिन् । तिम्सिनाका चार सन्तानमध्ये जेठी अञ्जुले ऐच्छिक गणितमा, माइली मञ्जुले व्यवस्थापन सङ्काय र समाजशास्त्रमा, कान्छी सञ्जुले व्यवस्थापन र छोरा मनोजले ऐच्छिक अङ्ग्रेजी विषयमा स्नातकोत्तर उतीर्ण गरिसकेका छन् । सबै आ–आफ्नो क्षेत्रमा अब्बल छन् ।

सेवामै समर्पण
मेची अञ्चल अस्पतालदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसम्मका अधिकांश चिकित्सालयमा पुगेकी छिन् किरण । विभिन्न किसिमका रोगबाट ग्रस्त कयौं बिरामीलाई लिएर उनी घोपाका कुना–कुना पुगेकी छिन् । ‘शुरुमा कसैलाई चिनेको थिएन, डाक्टरहरुबाट सरसहयोग पाइँन’, उनी भन्छिन् – ‘तर, अपाङ्ग सरोकार सङ्घका प्रमुख तथा सामाजिक अगुवा सुनिल खड्कालाई भेटेपछि सर्वसाधारणको उपचारमा धेरै सहयोग मिल्यो ।’

वि.सं. २०५८ सालमा किरण आफै पनि मुटुको समस्या झेल्न बाध्य भइन् । अनि मुटु रोगीको सेवामा खट्ने चाहना जागेको उनले बताइन् । ‘कहिलेकाही त महिनामै ३–४ जना बिरामी लिएर घोपा जानु पथ्र्यो’, उनी भन्छिन् – ‘मेचीका ४ वटै जिल्लाका बिरामी लिएर जान थालेपछि चाहिँ डाक्टरले पनि चिन्न थाले, अनि काम गर्न उत्साह जाग्यो ।’ उनले कतिपय आर्थिक स्थिति कमजोर भएका बिरामीलाई आफ्नै खर्चमा उपचार गराएकी छिन् । १८ वर्षभन्दा कम उमेरका बालबालिकाको उपचारमा सहयोग गर्ने अपाङ्ग सरोकार सङ्घसँग समन्वय गरेर सयौंलाई नयाँ जीवन दिएकी किरण विभिन्न सामाजिक सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निभाउँदै आएकी छिन् । अधिकारका लागि महिला एकल महिला समूह झापाकी कोषाध्यक्ष, जेष्ठ नागरिक समाज गरामनीकी कोषाध्यक्ष, नारी सचेतना र विकास केन्द्रकी सचिव तथा अन्य विभिन्न सङ्घ–संस्थामा उनी सक्रिय छिन् । ‘देखेको कुरा मात्रै जीवन होइन रहेछ, परिवारविहीन हुन् वा अरु कुनै समुदायका बालबालिका उनीहरुको उपचारमा सहयोग गरिरहन्छु’, उनी भन्छिन् – ‘सुख थोरै घडी सङ्घर्ष जीवन भरि ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: