सुगन्धित बन्दै ‘दलित’ शब्द

  प्रकाशित मिति
२१ श्रावण २०७४, शनिबार १२:२५


naresh-khati1-225x300

गैरदलित र केही दलित समुदायका लागि ‘दलित’ भन्ने शब्द मन पर्नै छाडेको छ । उनीहरुले बुझ्ने गरेको दलित शब्दको अर्थ खराब भन्ने लाग्छ । दलित भन्ने बित्तिकै नेपाली समाजमा खराब, अशिक्षित, फोहोरी र गरिब हुन् भन्ने बुझाई छ । दलका नेतादेखि केही बौद्धिक वर्ग समेतको यस्तै किसिमको बुझाईमा एकरुपता छ । उनीहरु खुलेआम भन्ने गर्छन् यदि बाहुन पनि गरिब भए दलित हो । शिक्षित बाठो दलित भए बाहुन, क्षेत्री जस्तै अनि बाहुन, क्षेत्रीको बानी व्यहोरा खराब भए कामी, दमाई जस्तै भनी तुलना गरेको हामी प्रसस्तै सुन्न पाउँछाँै । समाजमा असल खराबको तुलना गर्ने मानक यसरी जातका आधारमा बनेको छ ।

नेपाली समाजमा जात व्यवस्थामा आधारित सौन्दर्य बोधको निर्माण भएको कयाँै वर्ष भएको छ । नेपालका बुझक्कड हँु भन्ने केही दलितहरु अरुको लहैलहैमा लागेर दलित शब्द हटाएर दलितको ठाउँमा नयाँ शब्द राख्न तानातान गरिरहँदा छिमेकी देश भारतले भने दलित समुदायबाट दोस्रो राष्ट्रपति चयन गर्न सफल भएको छ । स्वच्छ छवि भएका रामनाथ कोविन्द भारतको १४ औँ राष्ट्रपति निर्वाचित भएका छन् । २० जुलाइमा राष्ट्रपतिका लागि भएको निर्वाचनमा कोविन्दले झन्डै दुई तिहाई बहुमत प्राप्त गरे । कोविन्दले ७ लाख २० हजार ४४ मत पाए भने उनका प्रत्यासी काङ्ग्रेस गठबन्धनका उम्मेद्वार मीरा कुमारले ३ लाख ६७ हजार १४ मत पाएकी थिइन् ।

भारतमा दलित समुदायबाट राष्ट्रपति बन्ने कोविन्द दोस्रो व्यक्ति हुन् । यसअघि केआर नारायणन दलित समुदायबाट भारतमा पहिलो राष्ट्रपति बनेका थिए । उनले सन् १९९७ देखि २००२ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । भारतमा १४ औँ राष्ट्रपति पदका लागि भाजपाले ७१ वर्षे रामनाथ कोविन्दको उम्मेद्वारी दिएपछि एकाएक हलचल मच्चिएको थियो । दलित र अति गरिब समुदायमा जन्मिएका व्यक्ति राष्ट्रपति पदका लागि उम्मेद्वार भाजपाले अगाडि सारेपछि प्रत्यासी काङ्ग्रेस गठबन्धनले दलित समुदायबाटै मीरा कुमारलाई राष्ट्रपतिको उम्मेद्वारको रुपमा अगाडि सारेको थियो । मीरा कुमार भारतको लोकसभाकी पूर्व अध्यक्ष हुन् । उनीहरु बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि ६५ प्रतिसतभन्दा बढी मत निर्वाचित राष्ट्रपति रामनाथ कोविन्दले पाएका थिए ।

भारतको राष्ट्रपतिलाई आलङ्कारिक मानिन्छ । कुनैपनि कार्यकारी निर्णय गर्ने अधिकार राष्ट्रपतिलाई नभए पनि देशका सर्वोच्च पद भएकाले यसको गरिमा भने छ । यस कार्यले भारतमा रहेका करिब १७ करोड ५० लाख दलितको शीर उचो बनाएको छ । सिङ्गो एसियामा रहेका करिब २० करोड दलितका लागि उर्जाको विषय बनेको छ । भारतमा दलित नेतालाई जुनसुकै स्वार्थले राष्ट्रपति चयन गरे पनि छिमेकी देशमा यसको प्रभाव पर्छ । नेपालमा हुने निर्णयले भारतमा प्रभाव पर्छ भने भारतमा हुने निर्णयले नेपालमा प्रभाव पर्छ नै । खासगरी नेपाल, भुटान लगायतका मुलुकमा यसको प्रत्यक्ष प्रभाव पर्छ । नेपालको संविधानमा महिलालाई तेत्तीस प्रतिसत राज्यका निकायमा सहभागी गराउने व्यवस्था हुँदा भारतमा खैलाबैला मच्चिएको थियो । नेपालको संविधानमा महिलाका लागि भएको व्यवस्थाले भारतको महिला आन्दोलनमा सकारात्मक प्रभाव पर्यो ।

पूर्व–पश्चिम र दक्षिणमा भारतको सीमा जोडिएको, नेपाल–भारत यस्तो ठाउँमा छन् जहाँ राजनीतिक, सांस्कृतिक रुपमा मिल्दोजुल्दो अवस्था छ । जहाँ जे भएपनि त्यसको प्रभाव एक अर्कामा पर्छ । भारतमा अङ्ग्रेज विरुद्धको आन्दोलन हुँदा नेपालमा राणाविरोधी आन्दोलन भयो । भारतमा अम्बेडकरले दलित आन्दोलन चलाइरहँदा नेपालमा त्यसको प्रभावले दलित आन्दोलनको ऊर्जा मिलेको थियो । नेपाल र भारतका जनताका कतिपय साझा समस्या छन् । त्यसको समाधानको उपाय पनि एकै किसिमको हुन सक्छ ।

नेपालमा भर्खरै दुई चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ (प्रदेश न.२ देखि बाहेक) । देशभरका प्रत्येक वडाहरुमा एकजना दलित महिला र दलित वा अल्पसङ्ख्यक मध्येबाट हुने निर्वाचनमा कम्तीमा गाउँ कार्यपालिकामा एकजना र नगर कार्यपालिकामा २ जना दलित पुगेका छन् । नगर सभाबाट निर्वाचित हुने पाँचजना र गाउँसभाका महिलाहरु मध्येबाट निर्वाचित हुने चारजनामा कम्तीमा एक÷एकजना दलित महिला गाउँ कार्यपालिका र नगर कार्यपालिकामा पुगिसकेका छन् । नेपालका दलितका लागि यो सम्पूर्ण रुपमा उपलब्धी नभए पनि आंशिक उपलब्धी भने मान्न सकिन्छ ।

स्थानीय तहकै पहिलो निर्वाचनमा दुईजना नगर प्रमुख र सातजना महिला उपप्रमुख निर्वाचित भएका छन् । प्रमुखले नगरको कार्य पाँच वर्षसम्म सञ्चालन गर्छन् भने स्थानीय तहमा हुने झैझगडा÷मुद्दा मामिलो कम्तीमा सात स्थानमा मिलाउने अधिकार दलित महिलाले पाएका छन् । अब दलित महिलाहरु स्थानीय तहमा न्यायाधीश भएका छन् ।
नेपालको संविधानमा दलितका लागि आंशिक अधिकार र स्थानीय तहको दलित उपस्थितिले दलित समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ । हिजो दलित भनेर हेप्ने मान्छेले आज तिनै दलित दिदी बहिनीलाई विकास निर्माणका लागि गुहार्नु पर्छ । दलितलाई मन्त्री बनाउन कन्जुस गर्ने नेपालका राजनीतिक दललाई भारतले पटक–पटक दलित राष्ट्रपति बनाएकोमा पक्कै झस्का हानेको छ । नेपालका सुस्ताएका दलित समुदाय पनि जागेका छन् । यसले लामो समयदेखि हीनताबोध ग्रस्त भएका दलित समुदायलाई फेरि नयाँ जोश एवम् जाँगर मिलेको छ । दलितलाई हेपाहा दृष्टिकोण राख्ने गैरदलितलाई पुरानो मानसिकता त्याग्न बाध्य पार्नेछ । हिजो दलित शब्दभित्र दुर्गन्ध आउँथ्यो भने अब सुगन्ध चल्न सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: