सुगन्धित बन्न नसकेको बिना

  प्रकाशित मिति
१३ आश्विन २०७४, शुक्रबार १३:०२


damodar

प्रेम कार्की, ६३, सरसँगको मेरो भेट २०६७ सालतिर हिमालयन एकाडेमी धुलाबारीमा भएको हो । पछि उहाँ मेरो भाषाविज्ञानको विद्यार्थी पनि हुनु भयो । मेरो बुबाको उमेरको उहाँ अध्ययनमा औधी रुचि राख्नु हुन्थ्यो । अन्य विद्यार्थीसँगको उहाँको व्यवहारबाट म प्रभावित थिएँ । पछि थाहा भयो उहाँ कविशिरोमणि माध्यमिक विद्यालयको शिक्षक हुनु हुँदोरहेछ । २०७२ पुस महिनामा म कवि शिरोमणि माविमा सरुवा भएर आएपछि उहाँसँग मित्रवत् सम्बन्ध गाँसियो ।

प्रेम सर ग्रेड टिचर हुनुहुन्थ्यो । कक्षामा जाँदा हार्माेनियम र मादल साथै लिएर जानुहुन्थ्यो । मलाई प्रेम सरप्रति जिज्ञासा पहिले नै थियो । अझ एउटै विद्यालय अनि बाल बालिका पढाउने उहाँको तरिकाले मलाई आकर्षण गर्यो । २०७३ सालको सुगन्धको चौथो अङ्कमा मित्र सौरभ मैनालीको मेची नगरको गीत सङ्गीतको इतिहास शीर्षकको लेखमा प्रेम कार्की सरको बारेमा पढेपछि उहाँको साङ्गीतिक जीवन मेरो लागि अध्ययनको विषय बन्यो ।

इलाम जिल्लाको इभाङमा जन्मनु भएका प्रेम सरका बुबा प्रहरीको जागिरे, कडा स्वभावका । मावली हजुरबा हार्माेनियम बजाउने, आमा पनि गीत सङ्गीतमा रुचि राख्ने । आमाको प्रेरणाले गीतसङ्गीतमा लागेका प्रेम सरले इलाम बजारबाट गितार किनेर ल्याउनु भएछ तर बुबाले घरमा बजाउन नदिने । राति खोलाका किनारतिर गएर बजाउनु पर्ने भएछ । पछि आमाले बुबालाई सम्झाएपछि घरमा बजाउन पाउनु भएछ ।

singer prem karki sir

रेडियो नेपालबाट बज्ने गीत नै आफ्नो सङ्गीत सिकाइको आधार भएको बताउनु हुन्छ उहाँ । आमाकै प्रेरणा र आफ्नै साधनाबाट गीत सङ्गीतको विद्या प्राप्त गर्नुभएका प्रेम सरले २०३५ सालमा धुलाबारी माविबाट प्रवेशिका उत्तीर्ण गर्नु भयो । बाजागाजासहित गीत गाउँदै जन सहयोग उठाएर हरि प्राथमिक विद्यालय स्थापना गरेर त्यसको प्रधानाध्यापक हुनु भयो । त्यसको एक वर्षपछि उच्च अध्ययनका लागि महेन्द्र रत्न क्याम्पस इलाम जानु भयो ।

इलाममा उहाँको भेट कोमल निरौलासँग भयो । कोमल निरौला साङ्गीतिक साधनारत हुनुहुन्थ्यो । यसले प्रेम सरलाई अझ प्रोत्साहित गर्यो । पढाइसँगै साङ्गीतिक साधना निरन्तर चल्यो । त्यति बेला गायक बन्ने एक मात्र आधार रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुपथ्र्यो । सङ्गीतमा रुचि राख्ने जो कोहीको लक्ष्य स्वर परीक्षा पास गर्नुहुन्थ्यो ।

२०३७ सालमा आफ्नै शब्द र सङ्गीतमा ‘सम्झनाको समुन्द्रमा लहर बनी बगिदेऊ, वेदनाको छटपटीमा जून बनी यहाँ आइदेऊ’ गीत गाएर प्रेम सर स्वर परीक्षामा पास हुनु भयो । उक्त क्षण जीवनको सबैभन्दा खुसीको क्षण भएको बताउनु हुन्छ । स्वर परीक्षा पास गरेर मात्र गायक बन्न उतिबेला सम्भव थिएन । रेडियो नेपालले प्रत्येक वर्ष आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा पुरस्कृत हुन आवश्यक थियो । त्यसैले कलाकारहरुलाई वैधानिकता दिन्थ्यो ।

प्रेम सरले २०३७ देखि २०५२ सम्म निरन्तर आधुनिक गीत प्रतियोगितामा प्रतिस्पर्धा गर्नुभयो तर पुरस्कृत हुनु भएन । इलामकै कुबेर राई पुरस्कृत भएर पनि नेपाली सङ्गीतको मूलधारमा आउन नसकेको देख्दा उहाँ निराश पनि हुनु भयो । नेपाली सङ्गीतमा मौलिक रचना र सिर्जनाभन्दा पनि कृपावाद हावी भएको उहाँको निष्कर्ष छ । २०४२ सालमा इटहरीमा भएको वृहत् लोकगीत सम्मेलनमा मणि त्रिखत्रीसँग उहाँले गाएको ‘बाँझो बारी के राम्रो खेत भयो, आउन बसौँ सन्जोकले भेट भयो’ लोकगीतले सान्त्वना पुरस्कार जितेको थियो ।

damodar

२०३७ सालदेखि २०५२ सालसम्म आफ्नै रचना र सङ्गीतमा आधुनिक गीत प्रतियोगितामा निरन्तर प्रतिस्पर्धा गर्नु भयो । २०५२ सालको प्रतियोगितामा उहाँले गाउने गीतको स्केल ‘ए’ थियो रे तर रेडियो नेपालका कम्पोजरले जबरजस्त ‘जी’ स्केलमा गाउन बाध्य बनाएछन् । उहाँको कुरा कम्पोजरले नसुनिदिएपछि जबरजस्त गाउनु परेको र त्यसपछि त्यहाँको वास्तविकता बुझेर निमुखाहरुको लागि होइन रहेछ रेडियो नेपाल भनेर जान छोडेको बताउनु हुन्छ । त्यति मात्र होइन लोकगीत प्रतियोगितामा पोखराका गुरुङ महिला र पुरुषले संयुक्त गाएको ‘यो बहिनीको मिरमिरे भाका, कस्तो मेरो बिगार्यो दिमाग’ लोकगीत पछि रेडियो नेपालकै गायकको स्वरमा बजेको र अहिले पनि बजिरहेको उहाँ बताउनु हुन्छ । यसरी सङ्गीतको साधना होइन चोरीबाट सर्जक बन्ने प्रवृत्तिले पनि उहाँ निराश हुनु भयो ।
शम्भु राई, बुद्धवीर लामा, लोचन भट्टराई, चन्द्र भण्डारीका हितैषी प्रेम सर धुलाबारी क्षेत्रमा ‘आमा दिदी बैनी हो’ बोलको गीत गाउँदै पञ्चायत विरुद्ध जनचेतना जगाउने काममा पनि सव्रिmय हुनु भयो । गायक तथा सङ्गीतकार चन्द्र भण्डारी भन्नुहुन्छ–‘प्रेम कार्की गीत गाउनका लागि जन्मेका हुन् । खेतका आलीमा गाउने, बाउसे गर्दा गाउने, चाडपर्वमा गाउने, सामाजिक निर्माण कार्यका लागि गाउने व्यक्ति हुन् । विभिन्न बाजा कुशलतापूर्वक बजाउने तथा सङ्गीतमा रमाउने व्यक्ति हुन् ।’
हार्माेनियम, गितार, भ्वाइलिन जस्ता बाजा कुशलतापूर्वक बजाउने प्रेम सरले धेरै जनालाई सङ्गीत सिकाउनु भयो । तर, उहाँ हाल रेडियो नेपालका उपनिर्देशक तथा वरिष्ठ सङ्गीतकार टीका भण्डारीलाई बाल्यकालमा सङ्गीत सिकाउन पाएकोमा हर्षित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘टीका भाइ साङ्गीतिक सिर्जनाका लागि जन्मेका हुन् । सानैमा पनि बादलको गीत गाउँछु, पहाडको गीत गाउँछु भन्दै हिँड्ने र गितार भ्वाइलिन बजाउन तीव्र इच्छा राख्ने भएकाले मैले टीकाको इच्छा पुरा गर्न सहयोग गरेँ ।’

सङ्गीत र शिक्षण उहाँको जीवनका सारथी हुन् । हरेक कार्यलाई जीवनमा प्राप्त भएको अवसर ठान्ने प्रेम सरले शिक्षण प्रवेशिका उत्तीर्ण भएदेखि नै गर्नु भयो । सङ्गीतको तृष्णाले गर्दा शिक्षण छोड्ने, फेरि थाल्ने जस्तो भइरह्यो । स्थायी शिक्षकको जागिर पनि साङ्गीतिक सङ्घर्षमा छोड्नु पर्यो । इलाम र झापाका विद्यालयमा शिक्षण गर्नु भएका प्रेम सरले सिक्किमको ग्यान्टोकमा पनि नेपाली भाषा र सङ्गीत शिक्षण गर्नु भयो । कमजोर आर्थिक अवस्थाका कारण निजी क्षेत्रका रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्न सम्भव नभएपछि सिर्जना गर्दै थन्क्याउनु परेको बताउनु हुन्छ । कवि शिरोमणि माध्यमिक विद्यालयमा निजी स्रोतको शिक्षकका रुपमा कार्यरत प्रेम सर आफूले बिना त चिनेको तर नातावाद र कृपावादका कारण बिना सुगन्धित बनाउने ठाउँ राज्यमा दुर्गन्धित भएको बताउनु हुन्छ । [email protected]

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: