सुगन्ध र कारागारको कथा

  प्रकाशित मिति
६ कार्तिक २०७३, शनिबार १२:४७


 

जनताकाsugandha-book-cover गायक, कवि, नेता, पत्रकार जस्ता बहुमुखी प्रतिभाका धनी चन्द्र भण्डारीको प्रधान सम्पादकत्वमा सुगन्ध प्रकाशनले यही २०७३ असोज २० गतेका दिन भव्य कार्यव्रmमका बिच ‘सुगन्ध’को पाचौं अङ्क लोकार्पण ग¥यो । यस प्रकाशनलाई ‘कारावास विशेष’का रुपमा प्रकाशन गरेर नेपाली साहित्यको भण्डारमा जेलसाहित्यको अमूल्य कोसेली अर्पण गर्न सुगन्ध प्रकाशन सफल भएको छ । यस्तो अमूल्य, महत्वपूर्ण, पठनीय हाम्रो समाजको नयाँ सन्ततीलाई अग्रजहरुबाट राष्ट्र र देशका लागि गरेका संघर्षहरुको त्याग र बलिदानका गाथाबारे जानकारी गराउने पुस्तक प्रकाशन गरेकोमा आफ्नो तर्फबाट धेरै धेरै साधुवाद प्रकट गर्दछु ।

पुस्तकलाई मैले आद्योपान्त पढें । पढिसकेपछि प्रतिव्रिmया लेख्न मनलाग्यो । पुस्तकमा गद्य र पद्य भाग गरी ८६ जना सर्जकहरुका लेखलाई दुई भागमा समेटिएको छ । कारावास विशेष रहेकाले मलाई गद्य भागको एउटा लेख दामोदर ढुङ्गेलको र पद्यभागका कोमलप्रसाद पोखरेलको बाहेक अरु सब रचनाहरु यसमा नराखिएको भए अझ सारपूर्ण हुन्थ्यो भन्ने लाग्यो । ‘नराखिएको भए’ भन्नुको तात्पर्य ती लेख तथा कविताहरु स्तरहीन भएर होइन, बरु ती ‘कारावास’सँग सम्बन्धित नरहेकाले मात्र भन्न खोजिएको हो । यो कुरा लेख्तै गर्दा मलाई मेरो एउटा कृति ‘घुमीफिरी रुम्जैटार’को टिप्पणी गर्दैगर्दा समालोचक चूडामणि वशिष्ठजीले गर्नुभएको एउटा टिप्पणी सारै स्मरणीय लाग्छ । उहाँले भन्नुभएको थियो – ‘राम्ररी छाँटेर मुठामुठा पारेको मुठेपरालको राम्रो भारी बनाएकोमा अलिकति धुस्ने पराल पनि थपेर बाँधेको जस्तो लाग्यो ।’

जहाँसम्म गद्य भागका रचनाहरुको कुरा छ, ४७ जना स्रष्टाहरुका सृजनाहरु समेटिएको यस पुस्तकले झापा मात्र होइन, झापा बाहिरको नेपाल र नेपाल बाहिरको पूर्वी भारत पनि समेटेको छ । पूर्वी भारत भन्नाले सिक्किम, दार्जिलिङ, आसाम, मणिपुर, भुटान अझ बर्मासम्मका सर्जकहरुसँग यस ग्रन्थका सम्पादक हिमखिम राख्छन् । त्यसैले त्यताका स्रष्टाहरुका कारागार विशेष सृजना यसमा समेट्न भ्याएका छन् ।

यस पुस्तकमा जेलमा परेकाहरुका मध्ये कसैका राम्रा, रोचक र रौं नै जुरुरु उठाउने संस्मरणात्मक लेखहरु छन् भने, कसैका जेल वारे, जेल परेकाका सृजना वारे तथा जेललाई सुधार गृह बनाउने वारे उपयोगी लेखहरु छन् । कति जना जेल नै नपरेका व्यक्तिले जेल पर्नेहरु वारे त्यस्तै ऐतिहासिक र रोचक लेखहरु पस्किएका छन् । जेल संस्मरण या जेल डायरी आदि वारेका समीक्षात्मक र राम्रा लेखहरु पनि समेटिएर यो पुस्तक पठनीय र ज्ञानबर्धक बनेको छ ।

झापा जिल्ला नेपालको राजनीतिक आन्दोलनको एउटा महत्वपूर्ण पाटो वाम आन्दोलनको इतिहासमा अत्यन्त चर्चित ‘झापा सङ्घर्ष’को भूमि हो । निरङ्कुश पञ्चायती शासनताका सामन्ती शोषणको निर्मम अतिचारका विरुद्ध सामन्त वर्गका अगुवाहरुको सफाया गर्दै, पञ्चायती शासनविरुद्ध जनविद्रोहको विकास गर्ने घोषित सङ्घर्ष भएको जिल्लामा हजारौं जना सहभागी भए, सैकडौं जेल परे र दर्जनौंले सहादत प्राप्त गरे । बिसको दशकका अन्तिम वर्षहरु र तिसको दशकका सुरुका वर्ष यस सङ्घर्षले देश नै थर्कमान भयो । यस ग्रन्थमा त्यस सङ्घर्षको छाप सबैभन्दा टड्कारो रुपमा देखा परेको छ । धेरै स्रष्टाका संस्मरणहरु त्यही सङ्घर्षका स्मरणका रुपमा आएका छन् । राधाकृष्ण मैनालीको लेखलाई यस वर्गका लेखहरुको प्रतिनिधि लेखको रुपमा लिन सकिन्छ । नरेश खरेलको लेखले त्यही संघर्षका अतिरिक्त नक्खु जेलविद्रोहलाई समेट्छ । डा. नारद भारद्वाज, भीम कुँवर, माधव खतिवडाका लेखहरु यही सेरोफेरोमा घुमेका छन् ।
पिनाकीप्रसाद कोइराला, कल्पना ओली, लीलाप्रसाद सापकोटाले आ–आफ्ना बुबाहरु कसरी अन्याय, असमानता र निरङ्कुशताका विरुद्धमा संघर्षमा उत्रिएका थिए र उनीहरुको संघर्ष र जेलवासले कस्तो प्रभाव पा¥यो भन्ने वारे प्रष्ट्याएका छन् ।

पर्वत पोर्तेलले जेलका वारे केही धारणा व्यक्ताउँदै झापाको मेचीनगरबाट जेल परेका नेपाली काङ्ग्रेस, एमाले तथा माओवादी गरी १८ जना व्यक्तिको छोटो टिप्पणी लेखेका छन् भने जय भण्डारीले इलामका जेल परेका केही नेकाका व्यक्तिहरुको चर्चासहित नर बहादुर थापाको पव्रmाउ, यातना, जेलगमन र उनकी आमाले जेलमा भेट्न आउँदा अभिव्यक्त गरेका जोशिला र प्रेरणादायी कुराको चर्चा गरेका छन् । यस्तै लक्ष्मी गौतमले ‘पाँचथरका योद्धा’ शीर्षक दिएर लोकतन्त्र प्राप्तिका लागि जेलनेल बेहोर्ने बिद्रोही वारे लेखेका छन् । रुद्रबाबु भण्डारीले झापाको कश्मिर मानिने शान्तिनगरका योद्धाहरुको जानकारी गराएका छन् ।

सुकराज दियालीले सिलगढीका प्रशिद्ध समाजसेवी दिलिप तिवारीलाई चिनाउँदै उनीसँगको महत्वपूर्ण अन्तर्वार्ता दिएका छन् भने सन्तोष आचार्यले १७ वर्ष जेलजीवन विताएर अहिले दुःखपूर्ण जीवन बाँचिरहेका सानो दुर्गा अधिकारीलाई चिनाएका छन् । यस्तै गरी बिपि भट्टराईले स्वतन्त्रता सेनानी कृष्णबहादुर कार्की वारे लेखेका छन् । आसामकी भारती भण्डारीले आफ्नी एक मित्र कमलाको दुःख र अभरको विषयमा लेख्तै कमलाका श्रीमान निर्दोष र इमान्दार भए पनि जेल बस्नु परेको सम्वेदना व्यक्ताएकी छन् । गोबिन्द पोखरेलले पनि भैरव रिसालजीले ‘एशियाली मापदण्ड– मन्त्रीमण्डलको ठगी खाने भाँडो’ शीर्षकको खरो लेख लेख्ता पञ्चायती कोपभाजनमा परेका रिसालसँग नक्खु जेलमा भेट भएको भनेर लेखेका छन् ।

यस पुस्तकको गहना हुने लेख छ डा. सुरेन्द्र केसीको । ‘जेल साहित्यको मूल्यवत्ता– एक मिमांसा’ भन्ने शीर्षकलाई सार्थक बनाउने विश्वका बिभिन्न जेल परेका मनिषिहरुको चर्चा, तिनका कृतिको चर्चा, जेलका सृजनाहरुको चर्चा आदि गरिएको यो लेख साँच्चै गहन, महत्त्वपूर्ण र मननीय छ । जेल परेका र महत्वपूर्ण कृति दिने जवाहरलाल नेहरु, विपि कोइराला, मोदनाथ प्रश्रित, टेकनाथ रिजाल, खड्गमान सिंह, श्यामप्रसाद शर्मा, मेरी टायलर, अनिल विरही, जितमान बस्नेत, शान्ता श्रेष्ठ, कृष्ण केसी आदिको प्रसङ्ग र परिचर्चाले लेख असाध्यै राम्रो र उच्चकोटीको बनेको छ । डा. केसीलाई धन्यवाद दिन मन लाग्छ ।

चूडामणि वशिष्ठ, कृष्ण धरावासी, रामचन्द्र उप्रेती, मुनाराज शेर्मा, शिवकुमार पौडेल आदिका लेखहरु जेलका वारे, जेलको इतिहास वारे, जेलको उपयोगिता वारे वा जेललाई सुधार गृह बनाइनु पर्ने वारे बुझाउने खालका छन् । हास्यव्यङ्ग्य निबन्धकार बशिष्ठ भने – ‘लोकतान्त्रिक गणतन्त्र’ नामको तर जनताका दृष्टिमा विद्रुपतापूर्ण वर्तमान स्थितिको चित्रण गर्दै ठुलठुला आदर्श र अवर्णनीय व्रmान्तिका नायकहरु अब त स्खलित भएर जनताका नजरमा चर्को घाममा राखिएको नौनी घिऊ जस्ता देखिन लागेकाले ‘जेलसाहित्य’ होइन ‘झेलसाहित्य’ भन्न रुचाउन लागेको’ व्यक्ताउँछन् ।

मणिपुरका भवानी अधिकारीको लेख र यहाँका यज्ञराज प्रसाईंको लेख पढ्दा भारतीय शिक्षकहरुको जीवन र नेपाली शिक्षकहरुको जीवनको सामिप्यता र संघर्ष देखाउँछ ।

आचार्य लक्ष्मीप्रसाद खतिवडा, धर्म गौतम, ज्ञानेन्द्र खतिवडा, भवानी अधिकारी आदिले भारतमा बन्दी बनाइँदाको चित्रण गरी लेख लेखेका छन् भने आचार्य लक्ष्मी प्रसादको लेखमा भारतका कारागारमा हुने विभेदपूर्ण र पशुवत व्यवहारको राम्रो उदाहरण प्रस्तुत छ । धर्म गौतमले विपिको ‘मेलमिलाप’ नीतिको प्रसङ्गमा केबि गुरुङ, वासु कोइरालाका साथ पटनाबाट काठमाडौं विमानमा प्रवेश गरेपछि पव्रmाउ परेर झापा लगिई जनमत सङ्ग्रहको समयमा छुट्ताको चित्रण गरेका छन् । ज्ञानेन्द्र खतिवडाले भुटानी शरणार्थीहरु पैदल मार्च गरी स्वदेश प्रत्यागमन गर्ने न्यायपूर्ण आन्दोलनलाई समर्थन र सहयोग गरेवापत छोटो समय बन्दी भएको कुरा लेखेका छन् ।

दीपेन्द्र पौडेलको लेख कञ्चन्जङ्घा एफएमले सञ्चालन गरेको कार्यव्रmम ‘कारावासका सम्झनाहरु’का महत्ता र यसमा यो सुगन्ध–५ प्रकाशनसम्म सहभागी व्यक्तिहरु सम्मको छोटकरी समीक्षा छ । ‘कारावासका सम्झनाहरु’मा सहभागी व्यक्तिहरुको नामावली दिएर राम्रो भएको छ ।

प्रेमप्रसाद सापकोटाको लेख छुट्टै विशेषताको छ । ‘जेलः एक परिचर्चा’ शीर्षकको लेखमा लेखकले जेलको तात्पर्य बताउँदै छिमेकी देश भारतमा र नेपालमा मुक्ति आन्दोलनमा जेल पर्ने नेपालीहरुको उल्लेख गर्दै सहादत प्राप्त गर्नेहरुको नाम दिएका छन् । लेखकले प्रजातान्त्रिक खेमा, वामपन्थी खेमा, माओवादी तथा शिक्षक आन्दोलनलाई अलग अलग चर्चा गरी आन्दोलनमा जेल पर्नेहरु निकै जनाको नाम दिएका छन् । अझ राधाकृष्ण मैनाली, नरेश खरेल, मनकुमार गौतम, चन्द्र भण्डारी, छत्रबहादुर तिम्सिनाको जेल बसाइको सम्झना र प्रतिव्रिmया दिएका छन् ।

नौ वर्षभन्दा बढी समय नेपालका अनेक जेल बसेका चन्द्र भण्डारीले संस्मरण लेख्ता असमेल हुने ठानेर होला बिभिन्न समय र बिभिन्न जेलमा हुँदाका रोचक र घोचक सम्झनाहरु टुव्रmा टुव्रmा गरेर दिएका छन् । टुव्रmाहरु महत्त्वपूर्ण र नोट गर्न लायक छन् ।

‘भारतीय जेलमा ५ वर्ष’ नामक अङ्ग्रेज महिला मेरी टायलरको संस्मरणात्मक कृतिको समीक्षालाई खगेन्द्र निरौलाले अनुवाद गरी यस ग्रन्थमा छापिएर सुगन्धका पाठकले अमूल्य पाठ पढ्न पाएका छन् । भारतीय समाज, त्यहाँको वर्ग व्यवस्था, महिलामाथिको दोहोरो शोषण, तिनीहरुमाथि निर्मम र असह्य अत्याचारको ऐना प्रस्तुत गर्न सफल छ यो लेख । महिला कारागारमा महिला चौकीदार, महिला नाइकेले गरेको अत्याचार पनि ऐना जस्तै गरी देख्न पाइन्छ ।
शिरो सान्दाइ, रामचन्द्र पराजुली, तेराख, पुण्यप्रसाद खरेल, त्रिलोचन मैनाली, रविन तिम्सिना, ‘कोर्काली’, इच्छाराम कट्टेल, कृष्णप्रसाद खतिवडा आदिका अन्यायपूर्ण रुपमा जेलमा थुनिएका कथाहरु, जेलभित्र बन्दीले पाउनु पर्ने सुविधाका लागि गरिएका संघर्षहरुका संस्मरणहरु छन् ।

मोदनाथ प्रश्रितले जेलभित्रको संक्षिप्त संस्मरण, जेल साहित्य वारे चर्चा र जेलभित्रका आफ्ना सृजना वारे परिचय प्रस्तुत गरेका छन् । प्राडा सर्वराज आचार्य र राजेन्द्र ढकालले भानुभक्त आचार्य र उनी कुमारीचोकमा थुनिएको विषयमा केन्द्रित भई लेख लेखेका छन् भने प्राडा भीम खतिवडाले प्रश्रितको जेल कविता ‘गोलघरको सन्देश’को गम्भीर समीक्षा गरेका छन् र गोलघरको सन्देशको महत्ता प्रष्ट पारेका छन् । यस्तैगरी राजेन्द्र प्रसाईंले राधाकृष्ण मैनालीको जेल डायरी ‘वन्दी रहर’को समीक्षा गर्दै त्यस बेलाको राधाकृष्णको मनको उहापोह, झापा संघर्षकालबाट अब शान्तिपूर्ण संघर्षमा पदार्पण गर्ने हतार र मनको अन्तर अन्तरकुन्तरमा बसेका बाल्यकालका सम्झना र चाडबाडका कुराले बिथोलेको मनलाई प्रष्ट्याएका छन् । प्रश्रितको गोलघरको सन्देश र बन्दी रहरको समीक्षा पढ्दा तत्कालीन मालेका नेताहरुको सोचको दुई ध्रुव बुझ्न सकिन्छ । कोमलप्रसाद पोखरेलका दुई वटा कविताले पनि जेल, जेलवासी र हामीले प्राप्त गरेको हाम्रो सामाजिक स्थितिको व्यङ्ग्यात्मक रुप प्रष्ट रुपमा चित्रित भए्को छ ।

चार दर्जनजति लेखकका गम्भीर अनुभवका अक्षरहरु समेटिएको यो ग्रन्थ सुगन्ध–५ वडो मूल्यवान र पठनीय रुपमा हामीले पाएका छौं । सुगन्ध प्रकाशनले अब प्रत्येक वर्ष दुई वटा ग्रन्थ पाठकहरुलाई दिने निर्णय सुनाएको छ । यो ग्रन्थको छपाइ राम्रो छ । प्रुफमा त्यति धेरै कमजोरी छैनन् । बाइन्डिङ पनि छरितो छ । पुस्तक सङ्ग्रह गर्न पनि यसको आकार एकदम ठिक छ । सम्पादक तथा प्रकाशकहरु वधाइका पात्र भएका छन् । यस्तै मूल्यवान, ऐतिहासिक र पठनीय ग्रन्थहरु हामीलाई उपलब्ध गराउँदै रहन हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: