सुनुवाईमार्फत नगरबासीले सुनाए गुनासा

  प्रकाशित मिति
३१ जेष्ठ २०७६, शुक्रबार १०:२९


इटाभट्टा । मेचीनगर नगरपालिकाको सेवा, सुविधा र विकास निर्माणका विषयमा बासिन्दाले सार्वजनिक सुनुवाईमार्फत प्रशस्त गुनासा प्रकट गरेका छन् ।

नगरपालिकाकै आयोजनामा विहीवार भएको सुनुवाई कार्यक्रममा जनगुनासा सुनेपछि नगरका प्रमुख र उपप्रमुखले जनताको खबरदारीले आफुहरुको कमी कमजोरी सच्याउँदै जनहितमा अघि बढ्न सघाउ पुग्ने बताए ।

नगरपालिकाको सभाहलमा सामुदायिक विकास मञ्चको संयोजनमा भएको सो कार्यक्रममा विभिन्न टोल विकास समितिका अध्यक्ष, वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बुद्धिजीवी र पत्रकाहरुको सहभागिता रहेको थियो ।

मेचीनगर–६ का पूर्णबहादुर राईले मेयर र उपमेयरलाई भेट्न राजालाई भेट्न जस्तै गाह्रो भएको टिप्पणी गरे । मेचीनगर–१५ रघुवीर टोलका अध्यक्ष कैलाश न्यौपानेले आफ्नो टोलमा नगरको कुनै पनि विकास निर्माणको योजना नपरेको बताए ।

मेचीनगर–५ का टेकबहादुर मगरले नक्कलबन्दा सडकमा अग्ला अग्ला स्पीड ब्रेकर राख्दा मोटरसाइकल दुर्घटना बढेको हुँदा त्यस्तो अवरोध हटाउन आग्रह गरे ।

मेचीनगर–७ का कञ्चन बरालले इटाभट्टामा बढ्दो जनघनत्वका आधारमा प्रहरी बिटलाई स्तरोन्नति गरेर चौकी स्थापना गरिनु पर्ने सुझाव राखेका थिए भने मेचीनगर–१५ का देबेन मेचेले शहिद मार्गमा धुलो हटाएर पीच गर्ने योजना कहाँ पुग्यो भनेर प्रश्न गरेका थिए ।

मेचीनगर–१५ कै गङ्गा श्रेष्ठले ज्यामिरगढीमा भारतबाट भित्रिएका लेबरहरुका कारण छोरीचेली जोगाउन गाह्रो भएको जनाउँदै नयाँ फ्याक्ट्र«ीको अनुमति अब नदिन नगरपालिकालाई आग्रह गरेका छन् ।

मेचीनगर–६ का डम्बर बहादुर मगरले खानेपानीको पाइप विछ्याउन माग गर्दा खानेपानी समितिले वडासँग खाल्डो खन्ने बजेट माग्न सुझाव दिएको र वडाकहाँ जाँदा बजेट नभएको बताइएको गुनासो गरे ।

मेचीनगर–१५ की देवीमाया खवासले महिलाको शिप र आयआर्जनका लागि नगरपालिकाले बजेट नछुट्याएको गुनासो गरिन् भने मेचीनगरमा गाभिएको ज्यामिरगढीलाई नगरपालिकाले विकासमा उपेक्षा गरेको बताइन् ।

कार्यक्रममा मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्का, चन्द्र ओली, मनोजकुमार कार्की हरि ढुङ्गाना, मनिषा राई लगायतले बोलेका थिए ।

सहभागीहरुले सडक २० फिटको फराकिलो बनाउँदा पुराना घरहरु भत्किने भएकाले त्यसमा पुनर्विचार गर्न नगरपालिकालाई आग्रह गरेका थिए । नगरवासीको गुनासा सुनिसकेपछि नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती र पूर्वाधार विकास समितिका संयोजक कृष्ण कनालले जवाफ दिएका थिए ।

पूर्वाधार विकास समितिका संयोजक कनालले कम्तीमा दमकल आवागमन गर्न सहज होस् भनेर नगरले सडकको चौडाई न्यूनतम २० फिटको हुनुपर्ने र शाखा सडक १२ फिटको हुनुपर्ने नियम लगाएको बताए ।

उपप्रमुख उप्रेतीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ हजार ४ सय ४४ जनालाई नगरपालिकाले रोजगारी प्रदान गर्ने भएको, सबै आधारभूत विद्यालयका विद्यार्थीलाई खाजा खुवाउन ५० लाख बजेट छुट्याएको र विगतमा भएको सहमति अनुसार भानुटोलका आगलागी पीडितहरुलाई रकम उपलब्ध गराउने र निर्माण कार्य अघि बढाउने निर्णय भएको बताएकी छन् ।

नगरप्रमुख आचार्यले विकास निर्माणमा जनसहभागिताका लागि आह्वान गर्दै सीमित स्रोत र साधनले सबै जनचाहना एकैचोटी पूरा गर्न नसकिने बताए ।

सडक फराकिलो बनाउन र सबै वडामा सुझाव पार्टी राख्न नगरले योजना गरिरहेको जनाउँदै नगरप्रमुख आचार्यले सार्वजनिक सुनुवाईले नगरपालिकालाई झक्झक्याउने हुँदा यस्तो कार्यक्रम बर्षको ४ पटकसम्म आयोजना गरिनु पर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: