सुपर जोनका कारण किसान लाभान्वित

  प्रकाशित मिति
७ जेष्ठ २०७५, सोमबार १६:४७


कचनकवल । झापाको दक्षिणी क्षेत्रमा धान सुपर जोन कार्यक्रम लागु भएपछि स्थानीय किसानहरु लाभान्वित भएका छन् । झापाको कचनकवल गाउँपालिकाको बनियानीमा कार्यालय रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपरजोन कार्यान्वयन इकाइले त्यस क्षेत्रका किसानलाई धान बाली सम्बन्धी प्राविधिक र आधुनिक कृषि प्रविधिमा सहयोग गरिरहेको कार्यालयका प्रमुख मेघनाथ तिमल्सिनाले बताए । उनका अनुसार सुपरजोनको कार्यालय स्थापना भएसँगै किसानहरुलाई प्रत्यक्ष फाइदा पुगेको छ ।

सुपरजोन कार्यालय स्थापनापछि स्थानीय किसानहरुले धान खेतीमा आधुनिक मेसिनरीको प्रयोग गरी उत्पादन लागत घटाउन सफल भएका छन् । आधुनिक मेसिनरीको प्रयोगले धानबालीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादन लागत घटाउन सकिएको उनले जानकारी दिए ।

त्यसैगरी, धान सुपरजोन कार्यक्रम लागु भएको कचनकवल गाउँपालिका क्षेत्रको माटोमा अम्लियपन बढी भएका कारण उत्पादनमा समस्या आएको थियो । सुपरजोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा त्यस क्षेत्रमा २ सय मेटिूक टन कृषि चुन प्रयोग गरी उत्पादनमा बृद्धि गरिएको छ ।

सौर्य उर्जामार्फत चल्ने एक सयवटा मोटर र साना सिँचाइबाट १६० वटा मोटर जडान गरी ३४० बिगा क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको स्थानीय किसान कनैयालाल गणेशले बताए ।

किसानहरुले लामो समयदेखि लगाउँदै आएको रञ्जीत र सरना जातका भारतीय धानहरुले माटोको उर्वरा शक्ति घटाउँदै लगेको अनुसन्धानबाट पुष्टि भइसकेकाले ती जातका धानलाई विस्थापित गर्दै नेपालमै अनुसन्धान भएको र त्यस क्षेत्रको माटो सुहाउँदो स्वर्ण सववान, गरीमा, साम्बा मन्सुली सब वान, चैते ५, हर्दिनाथ ३, खुमल ११ र चाइनुङ २४२ जात नयाँ जातका धानहरु लगाउन सुपरजोन इकाइ कार्यालयले सहयोग गरिरहेको किसानहरु बताउँछन् ।

सुपरजोनको प्राविधिक सहयोगमा किसानहरुले गड्यौले मल उत्पादन गरी प्रयोग गर्न समेत थालेका छन् भने स्थानीय दुई वटा सहकारी संस्थामार्फत ४ सय मेटिूक टन धान भण्डारण गर्न सकिने पोस्ट हार्भेस्ट केन्द्रको निर्माण समेत गरिएको छ । पोस्ट हार्भेस्ट निर्माणका लागि सुपरजोन कार्यक्रमबाट ८५ प्रतिशत अनुदान सहयोग भएको किसान तथा सुपरजोन कार्यक्रम व्यवस्थापन समितिका सहसचिव कनैयालाल गणेशले बताए ।

त्यस्तै, सुपरजोन कार्यालयको प्राविधिक सहयोगमा खेतका गरा सुधार गर्ने कार्य समेत सुरु भएको छ । मेसिनको प्रयोग गरी खेती गर्न सानासाना गराहरु असहज हुने भएकाले त्यसलाई ठुलाठुला गरा बनाउने कार्य थालनी भएको कार्यालय प्रमुख तिमल्सिनाले जानकारी दिए ।

सुपरजोन कार्यालयमा रहेका आधुनिक मेसिन समेत स्थानीय किसानले सस्तो दरमा प्रयोग गर्न पाएकाले पनि किसानहरु उत्साहित भएको उनको भनाइ छ । कार्यालयमा भएका मेसिनहरु कस्टम हायरिङ सेन्टरमार्फत २० प्रतिशत छुटमा प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।

धानमा विभिन्न हानिकारक रोग र किराको सङ्क्रमण समेत हुने भएकाले त्यसलाई समेत प्राकृतिक रुपमा नै व्यवस्थापनका लागि समेत सुपरजोन कार्यक्रमले प्राविधिक परामर्श सेवा प्रदान गरिरहेकाले पनि धानबालीमा अनावश्यक विषादीको प्रयोग गर्नु नपरेको शिक्षक समेत रहेका स्थानीय किसान पञ्चाननसिंह राजबंशीले बताए ।
सुपरजोन कार्यक्रमका कारण किसानले धान उत्पादनमा बृद्धि गरेपनि बजारीकरणको राम्रो व्यवस्थापन नहुँदा समस्या आइपरेको राजबंशीले बताए । उन्नत जातका धानको मुल बीउ सहज उपलब्ध हुने हो भने उत्पादन अझै बृद्धि हुने किसानहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: