सुबिधाभोगी नबन

  प्रकाशित मिति
१० श्रावण २०७४, मंगलवार ११:२७


lok logo
सम्पादकीय

डेढ दशकको अन्तरालपछि आएका जनप्रतिनिधिसँग आम नागरिकका धेरै अपेक्षा छन् । चुनावमा मतदाताहरुले तिनलाई नै रोजेका छन्, जसबाट जनहितमा राम्रा राम्रा काम हुने आशा गरिएको छ । तर भद्रपुरका नगर प्रमुख (मेयर) जीवनकुमार श्रेष्ठले निर्वाचित भएर आए लगत्तै व्यक्तिगत प्रयोगमा समेत आउने महङ्गो मोवाइल सरकारी कोषबाट खरिद गरेका छन् । बाइस÷तेइस हजार रुपैयाँ करोडौँ बजेट भएको नगरपालिकाका लागि सानो रकम होला । तर हाम्रा गाउँ देहातमा सय रुपैयाँ साथमा नभएर अस्पताल धाउन असमर्थ कयौ विपन्न नागरिकहरु रोग लुकाएर वा सहेर बसिरहेका छन् । मेयर श्रेष्ठले स्मार्ट फोन खरिदमा खर्च गरेको रकमले पाँच जना सन्थाल वा दलित समुदायका गरीव छात्राहरुलाई स्कुल वा कलेज धाउनका लागि सानो साइकल किन्न पुग्छ । त्यसैले मेयरले ती विपन्न ५ जना छात्राहरुलाई साइकल किनेर दिदा राम्रो कि आफुले चलाइरहेको स्मार्ट फोन घरमा थन्काएर सरकारी कोषबाट नयाँ स्मार्ट फोन किन्नु राम्रो हो ? निश्चय नै तिनै विपन्न समुदायको भोटबाट जितेका मेयरले आफ्नो प्राथमिकता सही ढङ्गले ठम्याउन सकेनन् ।

हरेक जनप्रतिनिधि समय सुहाउँदो प्रविधि र ज्ञानले युक्त हुनु पर्छ । उसँग स्मार्ट फोन र राम्रो ल्यापट पनि हुनु पर्छ । तर ल्यापटपको प्रयोग सरकारी कामकाजमा जति धेरै मात्रामा प्रयोग हुन सक्छ, मोवाइल निजी काममा बढी प्रयोग हुन्छ नै । मेयर श्रेष्ठ एउटा स्मार्ट फोन निजी खर्चमा खरिद गर्न सक्ने सामथ्र्य नभएका व्यक्ति पनि होइनन् । अबको जमानामा जनप्रतिनिधिले कस्तो काम र व्यवहार गर्छन् भनेर राज्यको चौथो अङ्गले मात्र नियालिरहेको हुन्छ भन्ने छैन, नागरिक आफै पनि खबरदारीका लागि सक्षम भइसकेका छन् । नागरिक सशक्तिकरणको अनुभूति सम्भवतः मेयर श्रेष्ठले गरिसकेको हुनुपर्छ । किनकि, नयाँ मोवाइल किनेको खबर उनले फेसबुकमा अपलोड गरेको छिनभरमै त्यहाँ आम नागरिकका आलोचनात्मक प्रतिक्रियाको ओइरो लागेको थियो । भद्रपुरको सडकहरु यति जीर्ण छन् कि त्यो नगर हो कि गाउँ छुट्याउन गाह्रो छ । जनप्रतिनिधिले नगरको विकास निर्माणको प्राथमिकता निर्धारण गरेर जनहितकारी कदमहरु अघि बढाउने तर्फ अग्रसर हुन जरुरी छ । न कि निजी सुविधा थप्नेतिर ।

(लोकतन्त्र पोस्ट दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: