सुरुङ्गामा र्‍यालीको चहलपहल, चारैतिर चारतारे झण्डा

  प्रकाशित मिति
२९ मंसिर २०७७, सोमबार ११:३१


प्रतिकात्मक तस्वीर ।

सुरुङ्गा, २९ मंसिर । सुरुङ्गामा विहानैदेखि नेपाली कांग्रेसका कार्यकर्ताहरु चोक बजारतिर निस्किएका छन् । र्‍यालीमा सहभागी हुन मोटरसाइलमा कार्यकर्ता आउने क्रम सुरु भइसकेको छ । बजारमा माइकिङको आवाज सुनिएको छ ।

आज नेपाली कांग्रेसले झापामा गर्ने मोटरसाइकल र्‍यालीको चहलपहल विहानैदेखि सुरु भइसकेको छ । पार्टीका पूर्व उपसभापति देउमान थेबेलगायतका नेता सुरुंगामा उपस्थित भइसकेका छन् । र्याली कसरी व्यवस्थित गर्ने भनेर उनीहरु स्थलगत अवलोकनमा व्यस्त छन् ।

कनकाई नगरपालिकाको सुन्दर नगरी सुरुङ्गाबाट र्‍याली दिउँसो १२ बजे सुरु हुने कार्यक्रम छ । र्‍याली विर्तामोडमा समापन हुने बताइएको छ ।

विद्युतका पोल र राजमार्गको रेलिङहरुमा चारतारे झण्डा फहराइएका छन् । मोटरसाइकलमा पार्टीको झण्डा भाटाले बाँधेको देख्न सकिन्छ ।

युवा नेता लीला चिमरियाले कांग्रेसका कार्यकर्तामा उत्साह बढेको बताए ।

सरकारविरुद्ध आक्रामक बनेको नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । सोही क्रममा झापामा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ ।

नेकपाको दुई तिहाई बहुमतसहितको सरकार गठन भएयता नरम विपक्षीको भूमिका रहेको कांग्रेस पहिलोपल्ट कडा रुपमा सडकमा प्रस्तुत हुँदैछ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेपछि यो प्रदर्शनको निधो गरिएको हो ।

केपी ओलीको नेतृत्वमा गठित नेकपा सरकार सर्वसत्ताबादतर्फ उन्मुख भएको, भ्रष्टाचार बढेको, कोरोना महामारी नियन्त्रणमा उदासिन रहेको, महिला हिंसा र बलात्कारका घटना बढेको लगायतका विभिन्न आरोप कांग्रेसले लगाएको छ ।

फोटो : मनोज बस्नेत / लोकतन्त्रपोस्ट

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: