सुशासन कहाँबाट सुरु हुन्छ ?

  प्रकाशित मिति
१ भाद्र २०७९, बुधबार १९:२३


‘अवैध धनको लोभ जहाँबाट सुरु हुन्छ, सुशासनको आधार त्यहीबाट भत्कन सुरु हुन्छ । शक्ति र सम्मानको लोभ जहाँबाट सुरु हुन्छ कुशासन पनि त्यहीबाट सुरु हुन्छ ।’

देश किन बनेन ? यसबारेमा केही समय पहिले केही राष्ट्रिय स्तरका पत्रिकामा बहस भएको थियो । त्यो किन सेलायो थाहा भएन । देश बन्नु भनेको अहिलेको अर्थमा देशमा विकास हुनु हो । आममानिसको जीवनमा समृद्धिको उज्यालो भेटिनु हो ।

विकास हुनका लागि पहिलो शर्त सुशासन कायम हुनु हो । सुशासन भनेको कानुनको शासन र सबै कामकुरा नीतिनियम अनुसार हुनु हो । जुन देश, समाज वा संस्थामा सुशासन कमजोर हुन्छ, नाम मात्रको हुन्छ, देखाउनका लागि मात्र बनाइन्छ, सबैका लागि समानरुपमा प्रयोग गरिदैँन त्यो देश, समाज, संस्थाको विकास कमजोर हुन्छ । यस्तो समाजमा केही धुर्त, ठालु, अधिकार सम्पन्न मानिसले कानून र सुशासनको खिल्ली उडाउछन् । कसैले देखादेखि र कसैले लुकेर वा घुमाउरो पाराले ।

यस्ता मानिस समाजमा सम्मानित हुनु एकदमै खतरनाक हुन्छ । जब यस्ता मानिस सम्मानित हुने र कारवाहीबाट मुक्त हुने अवस्था बन्छ तब पुरै देश, समाज, संस्था भ्रष्टिकरणको बाटोमा हिड्न सुरु गर्छ । हाम्रो देश, समाज, संस्थाहरु अहिले यही बाटोमा हिँडेको भान हुन थालेको छ ।

सुशासन नभएको र भ्रष्टचार बढेको आवाज जताततैबाट उठेको छ तर पनि भ्रष्टचारमा कमि नहुनु र सुशासन कायम हुन नसक्नु को मुख्य कारण भनेको दण्डहिनताको अवस्था झन्झन् बलियो हुदै जानु हो । जसले जतिसुकै गलत काम गरे पनि कानुनि कार्वाही नहुनु, सजाय नहुनु अहिलेको समस्या हो । यो कसरी सम्भव हुँदै गयो त भन्दा कार्वाही गर्नुपर्ने निकाय, व्यक्ति जो हो उ आफै भ्रष्टचारमा कतै न कतैबाट जोडिएको छ । लोभमा फसेको छ ।

गजव त के छ भने हरेकजसो मानिस अरुसँग वा अरुका काममा गुनासो गर्ने गर्छन् तर आफुले गर्नु पर्ने काम ठिकसँग गर्दैनन् । मौका पाउनासाथ व्यक्तिगत फाइदाका लागि सबै मुल्य, मान्यता र कानूनी दायरा नाघेर आफै भ्रष्टाचारमा लिप्त हुन्छन् ।

व्यक्ति विशेषले लुकेर, अरुले थाहा नपाउने गरि यस्ता कर्म गर्नुलाई धेरै अस्वभाविक मान्न नसकिएला किनकी यस्ता कर्म गर्नेहरु दण्डित हुन सक्छन् । तर यो समस्या त यति विकराल बन्यो कि समाजले नै यसलाई सामान्य मान्ने, सामाजीकीकरण गर्ने, संस्थागत गर्ने काम गर्न थाल्यो । पैसा नकवली कहिँकतै कुनै काम हुँदैन । कसैले पैसा नलिइकन गर्नुपर्ने काम गरिदियो भने यो नक्कली हो कि, राम्रो काम त गरेन होला, राम्रो सेवा त लिएन होला, यसले हुन्छ के भन्ने पर्न थालेको छ ।

केही समय पहिलेको कुरा हो एक जना साधारण मानिस जिल्ला प्रशासन कार्यालयमा श्रीमतीको नागरिकता बनाउन गएछन् । उनको काम उनले सोचेभन्दा सजिलो तरिकाले भएछ । हातमा नागरिकता परेपछि कति पैसा दिउँ भनेर सोधेछन् । कर्मचारी ज्ञानी परेछन् तपाईले पैसा दिनु पर्दैन अब घर जादा हुन्छ भनेछन् । उनको मनमा यो नागरिकता सक्कली होइन कि भन्ने परेर अन्कनाउँदै बाहिर निस्केर दश जना जतिलाई यो नागरिकता सक्कली हो कि नक्कली हो भनेर सोधेछन् ।

सर्वसाधारण मानिसमा यो स्तरको अवधारणा कसरी बन्यो ? यसका दोषी हामी को को हौँ ? हामीं कसरी र किन यति भ्रष्ट भयौँ ? हामीले आर्जन गरेको सम्पत्ति र सम्मान के सधैका लागि हो ? विस वर्ष पहिलेको शक्तिशाली मानिस आज उही रुपमा छैन, विस वर्ष पहिलेका गरिव अहिले गरिव छैनन् र धनी कहलिएकाहरु उस्तै धनी पनि नहुन सक्छन् । धेरै सम्पत्ति हुँदैमा सुखी, शान्त र खुसी हुइन्छ नै भन्ने छैन । आफैले जन्माएका र हुर्काएका छोराछोरी नै आफ्ना हुन्छन् कि हुँदैनन् भन्न सकिदैन तर दुनियालाई आफ्नो बनाउछु भनेर धन र पदको जोहो गर्दै फूर्ती लगाउछौँ ।

समाजमा पहुँच भएका मानिसमा धन प्राप्तिको सोख वा लोभ आवश्यकभन्दा अति नै धेरै भएको पाइन्छ । जसका कारण मानिस धन प्राप्तिका लागि जीवनका, पदका, मानसम्मान र मर्यादाका सबै सीमाना नाघेर धन थप्तै जान्छन्, धन थुपार्र्दै जान्छन् । यसले ती मानिसलाई क्षणिक सुख दिन्छ तर त्योभन्दा धेरै अहम् र त्रास अर्थात भय दिईरहेको हुन्छ । बिना परिश्रमको धनले मानिसको व्यक्तिगत जीवन मात्रै होइन पारिवारिक जीवनमा पनि गलत संस्कार भित्रिन मद्दत गरिरहेको हुन्छ । यतातिर ध्यान गएको देखिदैँन ।

हाम्रो समाज सभ्य समाज बन्ने क्रममा छ । असभ्य समाजमा व्यक्तिको परिवारको धन हेरेर सम्मान गरिन्छ तर त्यसको श्रोत के हो खोजिदैन । त्यसैले यस्ता मानिस समाजमा केही समयका लागि सम्मानित पनि बन्लान् । तर समाज सभ्यताको सिडी चढदै जादा समाजले यस्तो धनको श्रोतका बारेमा सधै आँखा चिम्लिएर बस्दैन ।

बहुदलिय व्यवस्थाको यो समाजमा हामीले हरेक क्षेत्रमा प्रत्येक विषयलाई अति नै राजनीतिकरण गर्यौँ । राम्रोलाई हाम्रो भन्न र खरावलाई खराव भन्न नै नसक्ने भयौँ । यो अवस्था पनि सधै कायम रहन सक्दैन । त्यसैले असन्तुष्टिका फिलिङ्गाहरु देखिन थालेका छन् । समाजमा देखिएका यिनै असन्तुष्टिलाई पुँजी बनाएर आफ्नो दुनो सोझ्याउने कोशिस खुव हुँदैछ । यसमा आन्तरिक असन्तुष्टिको दुरुपयोग गरेर देशमा बाह्यशक्तिले खेल्ने जमर्को भइरहेको छ ।

समाजमा आफै प्रति घृणाको बिउ रोपेर, अराजकता र कुशासनको जगमा उभिएर प्राप्त गरेको धनले मानिसलाई कति शान्ति र सुख देला । के त्यसले आफ्नो पुस्ताभरिको शान्ति कायम गर्न सक्छ ? होइन भने आफ्नै पुस्तालाई नपुग्ने, आफैलाई नपुग्ने शान्ति र सुखसँग साँटेर भावी पुस्ताका लागि किन धन जोहो गर्न मरिमेटेका होलान् ?

मेरा एकजना आफन्तले एक दिन कुरैकुरामा भन्नुभयो–‘हामी मध्यमवर्गीय मान्छेले आपूmसँग भएको सम्पत्तिको दश प्रतिशत पनि खर्च गर्न सक्ने रहेनछौँ किन मरिमेटेर, अरुलाई अन्यायमा पारेर धन कमाउनु र । पैसा हुँदा र खर्च गर्छुभन्दा पनि खर्च गर्ने ठाउँ हुने रहेनछ । जुवा खेल्न जाने कुरा भएन, घर हुँदाहुँदै होटलमा गएर बस्ने कुरा भएन, बिना काममा प्लेन चडेर उडने, गाडी लिएर गुड्ने मन पनि हुँदो रहेनछ । छोराछोरीलाई सकेको पढाई दिएकै छ । आफ्नो बाटो लागि सके । खान लाउन त धेरै पैसा चाहिँदैन रहेछ । उही बिरामी पर्दा उपचार गर्ने पैसा चाहिन्छ भन्ने मात्रै हो । धेरै पैसा हुने मानिस मर्दैनन् भन्ने पनि होइन ।’ एकजना साधारण मानिसको यो भनाईले मेरो मन छोयो ।

केही मानिसलाई लाग्छ धेरै धन भएपछि समाजको हेर्ने नजर नै फरक हुन्छ । समाजले आफन्तले सम्मानको नजरले हेर्छन् । इज्जत गर्छन् । भनेको र चाहेको काम गर्न सकिन्छ भन्ने पनि लागेको हुन्छ । तर तिनै धनी बाबुआमाका सन्तानमा हस्तान्तरण भएर आएको त्यो ‘अवैध’ धनको प्रभाव कस्तो पर्छ भनेर कहिल्यै सोच्ने गरेका छौँ ? यस्तो ‘इजी मनी’ पाउनेहरुको जीवन सहज र सरलसँग बगेको पाइदैन । बरु अधिकांशको जीवनमा अनेक उतारचढाव हुने र पछिल्लो कालमा अभाव र तनावमा परेको नै पाइन्छ । समाजले इज्जत गरेको पनि पाइदैन ।

इज्जत गर्ने भनेको त्यो धनको उपभोग गर्न पाउने उत्तराधिकारीले मात्रै हो । त्यो पनि सबैलाई जुर्दैन । जीवन सफल हुनु भनेको जीवनमा तनाव मुक्त भएर सुखी, खुसी र सम्मानित जीवन विताउन पाउनु हो । यसका लागि धन, धन र धन नै सबै कुरा हो र यसले यो सबै कुरा दिन्छ भन्नु एउटा भ्रम बाहेक केही होइन । यस्ता थुप्रै धनी मानिसहरु आज समाजको घृणाको पात्र भएर जीवनको उत्तरार्धमा चिन्ताग्रस्त जीवन विताएको देखेका छौँ ।

अबैध धनको लोभ जहाँबाट सुरु हुन्छ, सुशासनको आधार त्यहीबाट भत्कन सुरु हुन्छ । शक्ति र सम्मानको लोभ जहाँबाट सुरु हुन्छ कुशासन पनि त्यहीबाट सुरु हुन्छ । सुशासनको आधार भत्काएर कुशासनको महल खडागर्न मरिमेट्ने समाजका अगुवा मानिस हुइञ्जेल देश, समाज र संस्था कहिल्यै बन्दैन । मतदाता पैसा लिएर मत दिने र नेता खर्च गरेर, पैसा बाँडेर चुनाव जित्ने वर्तमान अवस्थालाई परिवर्तन गर्न अनिवार्य छ । गलत गर्दिन, गलत गर्नेलाई नेता बनाउदिन, नेता मान्दिन । सोच बदलौँ समाज बदलिन्छ । कर्म बदलौँ देश बदलिन्छ । सुशासनको सुरुवात आफैबाट गरौँ, देश बन्छ ।

लेखक : रामचन्द्र उप्रेती

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: