‘सूचना नपाइएको’ गुनासो

  प्रकाशित मिति
३० जेष्ठ २०७३, आईतवार ११:२८


rti 1

विर्तामोड । झापाका सञ्चारकर्मी, राजनीतिक कार्यकर्ता र सामाजिक सङ्घ संस्थाका प्रतिनिधिले सार्वजनिक निकायहरूमा ‘सूचना नपाइएको’ आम गुनासो गर्दै सूचनाको हक सम्बन्धी कानूनको पूर्ण कार्यान्वयन हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।

२०६४ सालमा लागू भएको सूचनाको हक सम्बन्धी ऐनमा हरेक नागरिकले मागेको सूचना सार्वजनिक निकायले उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

लोकतन्त्र पोस्टको कार्यालयमा शनिवार आयोजित छलफलमा नेपालमा सूचना पाउने नागरिकको अधिकार कागजमै सीमित भएको निष्कर्ष निकालिएको छ ।
छलफलमा सहभागी अधिकांशले कानून कार्यान्वयनको बाधक सरकारी निकाय र ऐनका कतिपय अव्यावहारिक प्रावधान भएको बताए ।

सरकारी निकायमा सूचना अधिकारी औपचारिकताका लागि मात्र तोकिएको उल्लेख गर्दै नेपाल पत्रकार महासङ्घ झापाका सचिव एवम् पूर्वाञ्चल दैनिकका कार्यकारी सम्पादक एकराज गिरीले सूचनाको हक बारेर आम नागरिक सचेत नभएको र पत्रकार अभ्यस्त नरहेको टिप्पणी गरे ।

बढी सूचना लुकाउने प्रशासन असल हुन्छ भन्ने पञ्चायतकालीन मानसिकता अझसम्म नहटेका कारण सरकारी निकायबाट सूचना नदिइएको अधिकारकर्मी तथा नेकपा एमाले मेचीका अञ्चल प्रचार सचिव सोमनाथ पोर्तेलले आशङ्का गरे ।
लोकतन्त्रमा जनतालाई बढी सूचना प्रवाह गर्ने सरकारी कर्मचारी नै असल ठहरिने धारणा व्यक्त गर्दै उनले पद र पावरमा रहेकाले मात्र सूचनामा पहँुच राख्ने गरेको बताए ।

वीवीसीका सम्वाददाता उमाकान्त खनालले १५ दिनभित्र सूचना उपलब्ध गराउनु पर्ने भनी कानूनमा तोकिएको प्रावधान अव्यावहारिक भएको टिप्पणी गर्दै त्यतिञ्जेलसम्ममा सूचना लुकाउन वा छिपाउन सरकारी निकायलाई झन् सहज हुने बताए ।
उनले सूचना प्राप्त गर्न आम सञ्चारकर्मी जागरुक र सरकारी निकायका सूचना अधिकारी जिम्मेवार हुनु पर्ने बताए ।

शिक्षासेवी एवम् बोस्टन एजुकेसन फाउन्डेसनका अध्यक्ष सुमन जमरकट्टेलले भ्रष्टाचारबाट ग्रसित मानसिकताका कारण सूचना लुकाउने गरिएको धारणा व्यक्त गरे ।

हरेक गाविस तहमा समेत नोडल अधिकृत राख्नु पर्ने कानूनी प्रावधान भएको जनाउँदै प्रेस चौतारी झापाका निवर्तमान अध्यक्ष एवम् पत्रकारिताका अध्यापक गोपाल काफ्लेले सार्वजनिक निकायमा सूचना दिन खटाइएका कर्मचारीहरू गैरजिम्मेवार हुँदा सूचनाको हक खोसिने गरेको बताए ।
अग्रज पत्रकार एवम् कानितपुर सम्वाददाता लीला बरालले सूचनाको हक आम जनताले मिडियामार्फत उपभोग गर्ने भएकाले पत्रकारलाई मागेका बेला सार्वजनिक निकायबाट पर्याप्त सूचना उपलब्ध गराइनु पर्ने माग गरेका छन् ।

उनले पत्रकार र सूचना अधिकारीको वैयक्तिक स्वाभावका कारण समेत सूचना लिने र दिने विषय प्रभावित हुने गरेको टिप्पणी गरे ।

प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले सरकारी निकायमा सूचना ठाडै लुकाउने गरिएको जिकीर गर्दै जिल्ला जिल्लामा त्यसको अनुगमन गर्न सूचना आयोगको कार्यालय राख्नु पर्ने सुझाव प्रस्तुत गरेका छन् ।

सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णुमाया मैनालीले सूचना प्रवाहमा गरिने हतारोले आम नागरिकमा तथ्य र सत्य सूचना पुग्न नसकिरहेको विषय समेत उठाउँदै एउटै घटनाको तथ्य तीन मिडियामा तीन किसिमले आउने गरेको बताइन् ।

उनले सूचना प्रदान गर्नु सार्वजनिक निकायको दायित्व भएको उल्लेख गर्दै पहुँच र पदका हिसावले मात्र सूचना उपलब्ध गराउने सरकारी शैली बेठिक रहेको बताइन् ।

नेपाल कम्प्युटर एसोसिएसन महासङ्घका केन्द्रीय सदस्य तथा क्वालिटी कम्प्युटरका प्रोपाइटर दिपेश पाठकले नेपालमा पारदर्शिता नभएको र सरकारी निकायमा सूचना लुकाएर भ्रष्टाचारको ढाकछोप गर्ने प्रवृत्ति हावी रहेको बताए ।

सूचना उपलब्ध गराउने अधिकारी जिम्मेवार र जानकार हुनु पर्ने धारणा व्यक्त गर्दै खबर मञ्च अनलाइन पत्रिकाकी सम्पादक सिर्जना घिमिरेले पत्रकार पनि तटस्थ रहनु पर्ने जनाइन् ।
उक्त छलफल कार्यक्रम सूचनाको हक सम्बन्धमा विद्यावारिधि गरिरहेका काठमाडौँस्थित बज्र इन्टरनेशनल कलेजका पत्रकारिता विषयका प्राध्यापक मधुसुदन न्यौपानेले शोधका लागि आयोजना गरेका हुन् ।

कार्यक्रममा कानूनमा विद्यावारिधि गरिरहेका सोही कलेजका प्राध्यापक सुमन आचार्य, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य अम्बिका भण्डारी, लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

शोधका लागि झापामा रहेका प्राध्यापक न्यौपानेले शनिवार विहान काँकरभिट्टास्थित खानेपानी कार्यालयमा रिडर्स झापासँग अन्तरक्रिया गरेका थिए । आइतवार प्रमुख जिल्ला अधिकारी मदन भुजेल, स्थानीय विकास अधिकारी खेमराज ओझा लगायतसँग सोही विषयमा छलफल गरिने न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: