विर्तामोड । झापाको विर्तामोडमा स्थापित सूर्योदय टेलिभिजनले नियमित प्रसारण सुरु गरेको छ ।
२०७३ बैशाखमा परीक्षण सुरु गरेको सूर्योदयले गत साउन १ गतेदेखि नियमित प्रसारण थालेको हो ।
सूर्योदय झापाको दोस्रो टेलिभिजन स्टेसन हो । यस अघि दमकमा स्थापित हिमशिखर टेलिभिजनले आफ्नो प्रसारण जारी राखेको छ ।
विर्तामोड–७ मा सूर्योदयको स्टेसन रहेको छ । सूर्योदयले नियमित प्रसारण थालेयता विहान–बेलुकी समाचार र अन्य समयमा मनोरञ्जनात्मक लगायतका कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।
स्पेशलिङ्क टीभी एन्ड मिडिया प्रालिद्वारा सञ्चालित सूर्योदयमा एक करोड ५० लाख रुपैयाँ प्रारम्भिक लगानी भएको सञ्चालकहरूको भनाई छ ।
हाल मेची अञ्चलभर हेर्न सकिने सूर्योदयलाई एक वर्षभित्रै नेपालभर र आइपी कनेक्सनमार्फत विश्वको जुनसुकै कुनाबाट पनि हेर्न सकिने सूर्योदय टेलिभिजनका व्यवस्थापक याम विमली बताउँछन् ।
स्थानीय विषयवस्तुलाई प्राथमिकता दिइने टेलिभिजनको नीति रहेको जानकारी दिदै केही महिनाभित्रै प्रदेश नं. १ का सम्पूर्ण जिल्लामा प्रसारणलाई पुर्याइने विमलीले बताए । विगत २० वर्षदेखि स्पेशलिङ्क नेटवर्क मार्फत केवल नेटवर्किङ व्यवसायमा सक्रिय विर्तामोडका मनोज उप्रेतीको अवधारणामा सूर्योदय टेलिभिजन जन्मिएको हो ।
उप्रेती सूर्योदयको वत्र्तमान अध्यक्ष हुन् । प्रसारणको सुरुवातमै सकारात्मक जनप्रतिक्रिया आएकाले सञ्चालकहरूमा हौसला बढेको व्यवस्थापक विमली बताउँछन् ।
‘धेरैको सद्भाव र सुझाव हामीले पाएका छौँ’, व्यवस्थापक विमली भन्छन्–‘सूर्योदयलाई खासगरी मेची अञ्चलवासीले गौरवको रुपमा लिनु भएको छ ।’
प्रसारणको प्राविधिक तथा प्रस्तुति दुबै पाटो गुणस्तरीय हुने र प्रदेश नं. १ मा स्तरीय टेलिभिजनको खाँचो पूरा गर्ने सूर्योदय टेलिभिजनको प्रतिबद्धता रहेको उनको भनाई छ ।
नयाँ टेलिभिजन स्थापना हुनु आफैमा खुशीको विषय भएको बताउँदै मिडिया रिसर्च सेन्टर झापाका संयोजक तीर्थ सिग्देल प्रिन्ट र रेडियो माध्यमको तुलनामा टेलिभिजन माध्यम बढी चुनौतीपूर्ण हुने धारणा व्यक्त गर्छन् ।
सिग्देलले सूर्योदय टेलिभिजनले प्रसारणकैै प्रारम्भिक अवस्थामा दर्शकमाझ सकारात्मक प्रभाव पारेको जनाउँदै स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राख्नु अहिलेको आवश्यकता भएको बताए ।
सामाजिक विश्लेषक विष्णुप्रसाद रिमालले कुनै पनि आम सञ्चारमाध्यमले समुदायको विश्वास जित्न सके मात्र सफलता पाउने धारणा व्यक्त गर्दै सूर्योदय टेलिभिजनलाई स्थानीय समाचार र विचारलाई विशेष महत्व दिन सुझाव दिए ।
‘टक शोहरूमा दुई चार व्यक्तिलाई घुमाइफिराइ प्रस्तुत गरिनु राम्रो होइन’, टेलिभिजन प्रस्तुतिका बारेमा टिप्पणी गर्दै रिमाल भन्छन्–‘कुनै राजनीतिक दलको भ्रातृ सङ्गठनको कार्यकर्ता जस्तो भएर कार्यक्रम प्रस्तोताले कसैप्रति वायस हुनुहुँदैन ।’